शनिबार, ०७ मार्च २०२६

तेस्रोपटक हारेपछि रविन्द्रको राजनीतिक विदाई

News Image
• • •

तेस्रोपटक लगातार आमनिर्वाचनमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले राजनीतिबाट विदा लिएका छन्। उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै ‘दलीय राजनीतिबाट तत्कालका लागि विदा’ लिएको घोषणा गरेका हुन्।

‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु। राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु’ उनले लेखेका छन् ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।’

‘निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु। 'प्रचण्डपथ'मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस्, त्यत्ति कामना गर्दछु’ मिश्रले भनेका छन् ‘विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’

यो निर्वाचनमा पनि मिश्र काठमाडौं क्षेत्र नं १ मा तेस्रो रहे। यहाँबाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छिन्। यसअघि पहिलोपटक मिश्र २०७४ सालको निर्वाचन लडेका थिए। त्यो बेला उनि नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग लगभग ८ सय मतले पराजित भए। दोस्रोपटक राप्रपामा प्रवेश गरेर २०७९ सालमा पनि चुनाव लडे र फेरि प्रकाशमान सिंहसँगै १२५ मतले पराजित भए।

यसपालि भने उनि तेस्रो स्थानमा रहे। रञ्जुले १५ हजार ४५५ मत ल्याएर विजयी भइन् भने मिश्र ३ हजार ९७२ मतमै सिमित रहे।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!