शुक्रबार, २७ फेब्रुअरी २०२६

नयाँका नारामा थप ५ वर्ष खेर नफाल्न गगनको आग्रह

News Image
• • •

नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँको नाममा थप ५ वर्ष खेर नफाल्न आग्रह गरेका छन्। 

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले नयाँ नेपालको नारामा फस्दा ०६४ सालको जस्तै परिणाम भोग्नुपर्ने हुनसक्ने चेतावनी दिएका हुन्।

उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन्।

‘०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौं भन्यो। उसको नयाँ नेपालको नारा बिक्यो। हामीले लामालामा कुरा गर्‍यौं, उसले हामी नयाँ बनाउँछौं भन्यो,’ थापाले भने, ‘नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन। अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्‍यो। देशको पाँच वर्ष खेर गयो।’

यसपटक पनि चुनावअघिको वातावरण त्यस्तै नाराबाट प्रभावित भएको उनले बताए। ‘अहिले त्यस्तै भएको छ। पुराना र नयाँको नारा लागेको छ। पुरानाले बिगारे, हामी बनाउँछौं भनेको छ,’ उनले भने, ’सडक बनेन, बाँधेर हुन्छ कि ठिगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ।’

उनले बालेनलक्षित गर्दै ठेकेदारलाई थुनेर काम नहुने सिस्टम नै सुधार गर्नुपर्ने बताए। 

‘भैरहवामा प्लेन झरेन भने कसैलाई ठिगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ,’ थापाले भने, ‘भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने जरुरी छ। कसैले भन्छ– ठेकेदारलाई थुनेर भए पनि समयमा काम गराउँछु। व्यक्तिका कारण काम रोकिएका छैनन्। सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन।’

उनले भोलि नपछुताउनका निम्ति कांग्रेसलाई भोट माग्न नेता–कार्यकर्तालाई आग्रह गरे। 

‘आजको दिनमा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण छैन। तपाईंहरू हरेक घरघरमा पुग्नुस्। एउटा उमेदवार मात्र लडेर पुग्दैन। तपाईंहरू हरेक उमेदवार बन्दिनुस्,’ उनले भने, ‘कांग्रेसलाई भोट हालेर पछुताउनु पर्दैन। कसैलाई गाली नगर्नुस्, सामाजिक सञ्जालमा लेख्नुस्। उत्साहका साथ जनताको घरदैलोमा पुग्नुहोस्। अब हामीसँग जनतालाई बुझाउन धेरै समय बाँकी छैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!