शुक्रबार, २७ फेब्रुअरी २०२६

बाँके–३ को समृद्ध सपना पूरा गर्ने नेता अमरसिंह पुन

कमल खत्री 

कमल खत्री 

खजुरा, बाँके
News Image
• • •

नेपाली राजनीतिमा संघर्षले खारिएका नेता हुन अमरसिंह पुन। नविन सोच र संकल्पसहित अगाडि बढिरहेको नेपाली कांग्रेसको विचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आम जनतासँग परिचित नाम हो अमरसिंह। 

नेपाली राजनीतिमा गर्विलो इतिहास बनाएका नेता अहिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट चुनावी दौडमा छन्। बाँके क्षेत्र नम्बर ३ आफैंमा तिव्र रुपमा प्रगतिको बाटोमा दौडिरहेको क्षेत्र हो। बाँके क्षेत्र नम्बर ३ शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक हिसाबले देशकै नमुना क्षेत्रका रुपमा परिचय खोज्दै गरिरहेको क्षेत्र हो। 

देशकै विकासमा योगदान गर्न सक्ने सामर्थ्य राख्ने यस क्षेत्रका आम जनताको रोजाईमा परेका छन् पुन। त्यसैले त हो जनताको मन मतिष्कमा छाइरहेका छन् उनी।

नेपाली कांग्रेसका पार्टी पूर्वसभापति एवम् नेपालका पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाका सच्चा अनुयायी पुनमा बाँके क्षेत्र नम्बर ३ को समृद्धि सपनालाई नेतृत्व गर्न सक्ने क्षमता कारण यहाँका जनतामा माझ लोकप्रिय बनिरहेका छन्।
 
क्षेत्र नम्बर ३ का समस्यालाई राष्ट्रिय एजेन्डाका रुपमा सम्बोधन गर्दै यस क्षेत्रको समग्र विकासको लागि आफुले उम्मेदवारी दिएको उनले बताए। पुन भन्छन्, ‘नेपाली जनतामा देखिएको निराशा र डरलाई चिर्दै जेनजीको मर्म अनुसार देशको समृद्धिको लागि काम गर्ने संकल्पसहित मैले उम्मेदवारी दिएको छु। नेपाली कांग्रेस अहिले आम जनता र युवाको भावनालाई बोकेर हिडिरहेको पार्टी हो। जस्तो सुकै संकटको बेला पनि हामी देशलाई माथि राखेर काम गर्ने प्रतिज्ञा गछौं।’

हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिको जिम्मेवारी निर्वाह गरिरहेका पुनको जन्म २०२७ साल अषाढ ३ गतेको दिन तत्कालीन राँक गाविस वडा नम्बर ८ हालको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोल्पामा भएको थियो। उनको पिताको नाम विरबहादुर पुन र माताको नाम नन्दु पुन हो। 

पुनको बाल्यकाल गाँउमै वितेको थियो। उनी मध्यम परिवारको सदस्य थिए प्राथमिक तहको शिक्षा उनले गाउँकै विधालयबाट पुरा गरेका थियो। काम विशेषले करिब १८ वर्षको उमेरमा उनी भारत प्रस्थान गरेका थिए। भारतमै उनले हाई स्कूल तहको अध्ययन हासिल गरेका थिए। यसरी विभिन्न उतारचढावको साथ उनको बाल्यकाल बित्यो। सानै उमेरदेखि पुन चलाख, निडर र सामाजिक काममा नेत्तृत्व गर्ने दखल राख्थे। 

राजनीतिक चेत भएको परिवारमा जन्मेकाले उनले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधिमा सहभागी हुने अवसर प्राप्त गरे। 

पुन भारतबाट २०५० सालमा नेपाल फर्केका थिए। नेपाल फर्केपछि उनी गाउँघरमा हुने सामाजिक कार्यहरूमा अग्रसर भए। पञ्चायत कालमा बहुदलीय व्यवस्था ल्याउनको लागि विभिन्न राजनीतिक अभियानमा सक्रिय बनेका पुन नेपालमा बहुदलको स्थापनापछि औपचारिक रूपमा राजनीतिमा होमिएका हुन्। तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संङ्गठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
 
नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन वि.सं. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २०५२ बाट सुरु भएको माओवादी हिंसाको मूख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि वि.सं. २०५६ सालदेखि नेपालगञ्जमा बसे। २०५८–०५९ मा त्यहाँ पनि द्धन्द्धको प्रभाव बद्ढै गयो र उनीमाथि हुनसक्ने खतराको जोखिम रोक्न प्रशासनकै सल्लाहमा काठमाडौं स्थान्तरण भए। माओवादीले उनमाथि पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो। २०६२–२०६३ को दोस्रो जनआन्दोनमा महत्वपूर्ण सहभागिता जनाएका पुन प्रहरी दमनबाट घाइते हुनुको साथै केही समय पक्राउ पनि परेका थिए। 

पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखि हालसम्म निरन्तर महासमिति सदस्य रहँदै आएका छन्। २०६२ सालमा भएको कांग्रेसको ११औं अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित भएका थिए। 

२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनबाट पुन संविधान सभा सदस्यमा निर्वाचित भए। कोईराला परिवारसँग निकट मानिने पुन तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइरालाको विशेष योजनाकारमध्येका एक थिए। उनले कोइरालाको दैनिकी कार्य सञ्चालनको लागि निकट रहेर सहयोग गरे।

उनले संसदको सार्वजनिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गरेका थिए। हिमाल हाम्रो शिर हो, पहाड हाम्रो छाती हो र तराई हाम्रो पाइला हो भन्ने भावनालाई शिरोपर गर्दै तत्कालीन प्रचन्ड नेतृत्वको सरकारबाट मन्त्री बन्नको लागि गरिएको अनुरोधलाई समेत बेवास्ता गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको कमाण्ड सम्हालेका पुन अहिले सोही आन्दोलनको जगमा निर्माण भएको प्रदेश सभापतिमा आसिन छन्। 

नेपाली कांग्रेसको २०७९ को मंसिरमा भएको १४ महाधिवेशनबाट उनी बहुमतका साथ लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भए। पुन २०७४ मा शेरबहादुर देउवा नेत्तृत्वको सरकारमा सिंचाई राज्यमन्त्री समेत बने। सधैं नेत्तृत्वको प्रतिपक्ष भूमिकामा रहने पुन नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। आवश्यकता र उपयुक्तताको आधारमा पार्टीमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने पुन पार्टीका सादगी र सरल नेताको परिचय बनाएका छन्।

शालिन र सरल नेताको छबि बनाएका पुन बाँके क्षेत्र नम्बर ३ का जनताको भरोसालाई टुट्न नदिने वाचासहित चुनावी मैदानमा छन्। बाँके क्षेत्र नम्बर ३ आम जनताले यहाँको समृद्धि, विकास अनि युवाको सकारात्मक एजेन्डा पुरा गर्ने अभिभारा आफूलाई सुम्पिने विश्वास व्यक्त गर्छन् अमरसिंह पुन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!