शुक्रबार, २३ जनवरी २०२६

गगन प्रधानमन्त्रीका उम्मेदवार, काँग्रेसले अरु केके निर्णय गर्‍यो?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोचोटी पार्टी कार्यालयमा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्योसँगै बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने पनि निर्णय गरेको छ भने राष्ट्रियसभा निर्वाचनका लागि समन्वय र सहजीकरणको जिम्मेवारी उपसभापति पुष्पा भुषालले पाएकी छन्।

विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कार्यालयमा कार्यसमिति बैठक बसेको हो। सोही बैठकबाट पार्टी सभापति गगन थापाले ‍औपचारिकरुपमा कार्यभारसमेत सम्हालेका छन्।

कार्यभार सम्हाल्दै उनले एउटा पार्टी प्रतिवद्धतापत्रमा पनि हस्ताक्षर गरेका छन्। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ त्यसमा लेखिएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी। हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति।’


यस्ता छन् बैठकका निर्णयहरू

(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ।

(२) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन
गर्ने।

(३) नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ।

(४) २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ।

(५) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!