बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पटक–पटक फोन गरेको खुलेको छ।
झापा–५ मा आफूविरुद्ध रास्वपा वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेर आएपछि ओलीले राप्रपासँग चुनावी तालमेलको प्रयास थालेका हुन्।
लिङ्देनलाई ओलीले पटक–पटक फोन गर्दा पनि फोन नउठाएको राप्रपा झापाका एक नेताले दाबी गरेका छन्। उनका अनुसार चुनावअघि गठबन्धन नगर्ने राप्रपाको स्पष्ट नीतिअनुरुप ओलीको कुरा बुझिसकेका लिङ्देनले त्यसतर्फ चासो नदिएका हुन्।
लिङ्देननिकट ती नेताले भने, ‘ओलीजीले २/३ पटक फोन हान्नुभएको थियो। अध्यक्षज्यूले पहिले नै कुरा बुझिसक्नुभएको हुनाले फोन उठाउनु भएन। चुनावअघि गठबन्धन नगर्ने हाम्रो स्पष्ट नीति छ। सायद इतिहासमै पहिलोपटक हुनसक्छ सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौं। हार्छौं वा जित्छौं आफ्नो ठाउँमा छ तर, चुनावअघि अपवित्र गठबन्धनको सँधै खिलाफमा छौं हामी।’
रास्वपा उम्मेदवारप्रति देखिएको जनसमर्थनले ओलीलाई झस्का दिइसकेको छ। केही दिनअघिसम्म राप्रपासँग सहकार्यबारे चासो नदिएका ओली झापाको पछिल्लो ‘ग्राउन्ड रियालिटी’ बुझ्दै जाँदा यसअघिका निर्वाचनमा जस्तै राप्रपाको सहयोग लिनुपर्ने मनस्थितिमा पुगेका एमालेकै नेताहरू बताउँछन्।
आफ्नै पार्टीका र भातृ संगठनका नेताहरू, कांग्रेसका नेताहरू धमाधम राजीनामा बुझाउँदै रास्वपामा खुल्न थालेपछि ओली गम्भीर भएर सोच्न बाध्य भएका हुन्।
गठबन्धनको प्रयासका लागि ओलीले राप्रपाबाट जितेका दमकका मेयर रामकुमार थापासँग कुराकानी गरिसकेका छन्। उनीसँगको कुराकानी सौहार्दपूर्ण रहेको एमाले नेताहरूको दाबी छ।
त्यसो त यतिबेला चुनावी प्रचारका लागि निर्वाचन क्षेत्रमै रहेका ओलीलाई मेयर थापाले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो घर अवलोकन गराएका थिए। सो क्रममा उनले ओलीसँग ‘आफ्नो घर जलाउनेहरूले नै बालेनलाई घर भाडामा लगाएको’ भन्दै दुःखेसो पोखे।
ओलीको जवाफ थियो ‘यिनीहरू एकै हुन्।’
यसबाट राप्रपा मेयरको झुकाव रास्वपाका उम्मेदवार साहभन्दा ओलीप्रति नै देखिने नेताहरूको बुझाइ छ।
एमाले नेताहरूका अनुसार ओलीसँगको कुराकानीमा मेयर थापाले आफू ओलीलाई सघाउन तयार भए पनि औपचारिक रुपमा पार्टी अध्यक्ष लिङ्देनसँग एकपटक घनिभूत छलफल गर्न सुझाव दिएका थिए। तर, लिङ्देनले यसपटक फोन नै नउठाएर ओलीलाई ‘इग्नोर’ गरेका छन्।
ओलीले यसअघि नै लिङ्देनसँग सहकार्यको प्रयास नगरेका भने होइनन्। उम्मेदवारी मनोनयन अघिसम्म पनि उनले लिङ्देनको क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार होल्ड गरेका थिए। तर, लिङ्देनसँग कुरा हुन नसकेपछि उम्मेदवार खडा गरेका नेताहरू बताउँछन्।
त्यसो त राप्रपाले पनि ओलीको क्षेत्रमा लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाइसकेको छ।
यता लिङ्देनको पनि ओलीसँग गठबन्धन गर्ने चाहना नभएको भने होइन। यसअघि पनि ओलीलाई सघाएर जित्दै आएका लिङ्देन यसपटक पनि सोही सहकार्य दोहोर्याउन चाहन्थे। तर, हिन्दूराज्य र राजसंस्थाप्रति ओलीको धारणाका कारण राप्रपा नेताहरूले यसपटक गठबन्धनमा ‘ब्रेक’ लगाइदिएका हुन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
प्रतिक्रिया