मङ्गलबार, २० जनवरी २०२६

ओलीले जुनियरलाई टिकट दिएपछि ओखलढुंगा एमालेका ‘पिल्लर’ले छोडे पार्टी

News Image
• • •

ओखलढुंगाका प्रभावशाली एमाले नेता अम्बिरबाबु गुरुङले पार्टी छाडेका छन्।

अध्यक्ष केपी ओलीले जिल्लाको सिफारिस सूचीमै नरहेकी अस्मिता थापालाई उम्मेदवार बनाएपछि जिल्लामा भाँडभैलो मच्चिएको छ।

प्रभावशाली नेता गुरुङले नै पार्टी परित्याग गरेपछि एमाले संकटमा परेको छ। गुरुङ एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी कोशी प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री समेत भएका थिए।

अध्यक्ष केपी ओलीले जिल्ला कमिटीको निर्णयलाई बेवास्ता गर्दै सिफारिसमा नै नपरेकी थापालाई ‘खल्तीबाट टिकट वितरण गरेको’ जिल्ला र प्रदेशका पदाधिकारीहरूले आरोप लगाएका छन्।

जिल्ला कमिटीले सिफारिस गरेका ‘जनतासँग भिजेका, अनुभवी र ओखलढुंगाकाे राजनीतिमा याेगदान दिएका स्थापित नेता’हरूलाई पन्छाउँदै सिफारिस नै नभएकी थापालाई उम्मेदवार तोकिएको भनेर जिल्लाभर विरोध भइरहेको छ।

पुस २३ गते बसेको जिल्ला कमिटीको सातौं विस्तारित बैठकले नेता ईश्वर पोखरेलसहित पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस हुने अन्यमा गुरुङ, यज्ञराज सुनुवार, नानीबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का थिए। तर, ओलीले एमाले नेता–कार्यकर्ताहरूकाे इच्छा र पार्टीको विधि विपरित गाउँपालिका उपाध्यक्ष अस्मितालाई टिकट दिए।

सचिवालय बैठकमा यज्ञराज वा अम्बिरबाबु गुरुङमध्ये एकलाई नै टिकट दिनुपर्छ भन्ने बहुमत नेताहरूकाे मतलाई बेवास्ता गर्दै ओलीले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि याे विवादमा केन्द्रदेखि जिल्लासम्म चुलिएको छ।

नेतृत्वले सक्षम नेताहरूलाई पाखा लगाउन खोजेको स्पष्ट सन्देश दिएको जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का बताउँछन्। उनले टिकट वितरणको निर्णय सच्याउन ओलीलाई आग्रहसमेत गरेका छन्।

टिकट वितरणमा असन्तुष्ट देखिएका उनी एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्न लागेका हुन्।

उनले एमाले परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बन्ने घोषणासमेत गरेका छन्। यसअघि नेकपाबाट टिकट पाएका रामकुमार कार्कीलाई ब्याक गराएर अम्बिरबाबुलाई उठाउन लागेको नेकपा स्रोतले नेपाल प्रेसलाई बतायो।

७४ मा ओ‌खलढुंगाबाट प्रदेशसभा जितेका उनी कोशी प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री समेत भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!