बुधबार, १४ जनवरी २०२६

देउवाले ‘केही भनेनन्’ महामन्त्रीहरू फर्किए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पार्टी सभापति शेरबहादुर देउवासँग ठोस सहमति हुन नसकेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवासबाट विशेष महाधिवेशनस्थल भृकुटीमण्डपतिर लागेका छन्। मंगलबार दिनभरि र राति अबेरसम्म पनि दुबै पक्षका प्रतिनिधिहरु सहमतिमा पुग्न नसकेपछि बुधबार बिहानै देउवाले दुई महामन्त्रीहरूलाई बोलाएका थिए।

यो छलफल पनि टुङ्गोमा पुगिसकेको छैन। दुई महामन्त्रीहरूले देउवालाई पार्टीमा सक्रिय नहुन भनेका थिए। तर देउवाले कुनै जवाफ दिएनन्। उनले मुन्टोमात्रै हल्लाए। वार्तामा सहभागी नेताहरूका अनुसार आगामी निर्वाचनमा उम्मेदवारहरुको टिकटमा हस्ताक्षर नगर्ने विषयमा भने देउवा सकारात्मक देखिएका छन्। तर निर्वाचना आयोगमा के गरी मिलाउने भन्नेबारेमा देउवाले चासो राखेका थिए। यसअघि बुझाइसकिएकाे समानुपातिककाे बन्दसूचीमा देउवाकै हस्ताक्षर छ। प्रत्यक्षकाे टिकटमा अर्काले हस्ताक्षर गर्दा कानुनी कुरा के हुन्छ? भनेर देउवाले चासाे राखेका थिए।

विशेष महाधिवेशन भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नतर्फ अघि बढ्ने भएको छ। संस्थापन पक्षसँग मंगलबार राति अबेरसम्म पनि सहमति हुन सकेन। नेताहरूले आज बिहान फेरि सहमतिको प्रयास गरिने त भनेका छन् तर दुबै पक्षले वार्ता र संवादलाई खासै महत्व दिइरहेका छैनन्।

आइतबार सुरु भएको नेपाली काँग्रेसको महाधिवेशनको बन्दशत्र मंगलबार साँझ समापन भएको थियो। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेशनमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बन्दशत्र समापन गरिएको हो।

महाधिवेशनले गठन गरेको नयाँ निर्वाचन समितिले हिँजैदेखि निर्वाचनका कार्यक्रमहरू सुरु गरिसकेको छ। विशेष महाधिवेशन पक्षका नेताहरू दिनभरि र राति अबेरसम्म पनि वार्तामै थिए। अरु सबैजसो कुरामा लगभग सहमति भए पनि पार्टीमा सभापति शेरबहादुर देउवाको भूमिका अन्त्य हुनुपर्ने विशेषमहाधिवेशन पक्षधरको मागमा सहमति हुन सकेको छैन।

यसबीचमा आज पनि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। उता बिहानैदेखि विशेष महाधिवेशनअन्तर्गत निर्वाचनका कार्यक्रमहरू सुरु भइसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!