आइतबार, ११ जनवरी २०२६

गोरखामा पनि टिकेनन् प्रचण्ड, उछिट्टिएर पुगे रुकुम पूर्व

News Image
• • •

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।

शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू रुकुम पूर्वबाट लड्ने निश्चित भएको घोषणा गरेका हुन्।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला।’

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको दाबी गर्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताको दु:खसुखमा साथ रहने प्रतिवद्धता गरे।

आगामी निर्वाचनका लागि प्रचण्ड चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ, रुकुम पूर्वबाट सिफारिस भएका थिए। शनिबार रुकुम पुगेका प्रचण्डले पूर्वी रुकुमबाट उठ्ने घोषणा नै गरे।

प्रचण्डका लागि निर्वाचन क्षेत्र फर्नु कुनै नौलो विषय भने होइन। यसअघिका निर्वाचनमा पनि उनी कुनै एक क्षेत्रमा दोहोरिएर निर्वाचन जितेको रेकर्ड छैन। एकपटक काठमाडौं-१० मा दोहोरिएका प्रचण्डले हार व्योहोरेका थिए।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा-२ र काठमाडौं-१० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै ठाउँबाट उनी विजयी भए। तर, २०७० को निर्वाचनमा रोल्पा परित्याग गरि काठमाडौं-१० र सिरहा-५ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी सिरहाबाट मात्र जित्न सफल भए। त्यसयता उनी कुनै निर्वाचन क्षेत्रमा दोहोरिएर उठ्न हिचकिचाइरहेका छन्।

२०७४ मा भएको पहिलो आम निर्वाचनमा उनी गृहजिल्ला चितवन-२ जितेका थिए। तर, २०७९ मा भएको निर्वाचनमा चितवन छाडेर पूर्व माओवादी नेता बाबुराम भट्टराईको क्षेत्र गोरखा-२ मा लडेका थिए। र उनले जित निकालेका थिए।

फेरि जेनजी विद्रोहपछि घोषणा भएको आम निर्वाचनमा उनी गोर्खा छोड्दै रुकुम पूर्व पुगेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!