आइतबार, ०४ जनवरी २०२६

भेनेजुएलाका राष्ट्रपतिलाई कहाँ लग्यो अमेरिकाले?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भेनेजुएलामाथि ठूलो सैन्य आक्रमण गर्दै अमेरिकाले त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ। आक्रमण सुरु हुँदै गर्दा मादुरोले देशमा संकटकाल घोषणा गरेका थिए। त्यहीबीचमा अमेरिकाले उनलाई नियन्त्रणमा लिएको हो।

अमेरिकी राष्ट्रपति डोँनाल्ड ट्रम्पले मादुरो र उनकी श्रीमतीलाई सुरक्षा निकायले देश बाहिर राखेको बताएका छन्। तर उनी जीवित भएको वा नभएको बारे प्रमाण दिन त्यहाँकी उपराष्ट्रपति डेलसी रोड्रिगेजले माग गरेकी छिन्।

अमेरिकी सेनाको विशेष कमाण्ड डेल्टा फोर्सले भेनेजुएलामा श्रृङ्खलावद्ध आक्रमण गरेको थियो। र राष्ट्रपतिको मादुरोको निवासमै घुसेर उनलाई नियन्त्रणमा लिएको थियो।

यो आक्रमणको विभिन्न देशहरूले निन्दा गरेका छन्।

भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्‍याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ।

सरकारले जारी गरेको विज्ञप्तिमा अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको उल्लेख गरिएको छ। भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोत, विशेष गरी तेल र खनिज कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ। 

विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिलाई साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ। बोलिभेरियन राष्ट्रिय सशस्त्र बल सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ। जबकि कूटनीतिक च्यानल संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ। 

राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय  योजना कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ। हाल राज्य र नगरपालिकामा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचना तैनाथ गरिएको बताएको छ। संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ।

 

भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको रिपोर्टको बिचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ।

घटना क्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएला विरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद बोलाउन आह्वान गरेका छन्।

भेनेजुएला एक दक्षिण अमेरिकी देश हो। जहाँ मादुरोको शासनलाई अमेरिकाले ‘अधिनायकवादी शासन’ ठान्छ। खासगरी रुस, चीन, क्युबा, र इरानजस्ता  देशहरूसँग  सम्बन्ध  बढाएको मादुरो शासनलाई अमेरिकाले पहिलादेखि नै अस्वीकार गर्दै आएको छ। २०२५ मा मादुरोले तेस्रोपटक चुनाव जितेर शासन सत्ता सम्हालेका थिए। तर अमेरिकाले त्यसलाई वैधानिक मान्यता दिएको छैन।

तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको निधनसँगै सन् २०१३ मा शासनसत्तामा उदाएका मादुरोको शासनमा भेनेजुएलाले आर्थिक संकट झेल्दै आएको छ। तेल अनि प्राकृतिक खनिजको धनी हुँदाहुँदै पनि मादुरो आफैले भेनेजुएलामा लागुऔषधको अवैध कारोबारलाई मान्यता दिएको भन्दै ट्रम्पले त्यसलाई अमेरिको आन्तरिक सुरक्षा खतरासँग जोड्दै आएका छन्। ट्रम्पले मादुरोलाई ‘ड्रग्स टेररिस्ट’ भन्दै आएका थिए।

एक महिनाअघि देखि नै ट्रम्पले भेनेजुएलामाथि आक्रमणको तयारी गर्न गुप्तचर निकाय सिआइएका अधिकारीहरूलाई त्यहाँ खटाइसकेका थिए। त्यससँगै क्यारेबियन सागरमा उनले बाक्लो सैन्य तथा हतियारहरू पनि तैनाथ गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!