आइतबार, २८ डिसेम्बर २०२६

बालेनको टीमबाट रास्वपा फर्किँदै सुमना

News Image
• • •

काठमाडौं महानगरका मेयर बालेन साहको टीम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएको छ। आइतबार मेयर साह र रास्वपा सभापति रवि लामिछानेले एकता सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बालेन आगामी निर्वाचनपछि रास्वपा संसदीय दलको नेतासहित भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्। भने लामिछाने रास्वपा सभापति यथावत रहनेछन्।

नेतृत्वमाथि अनेक लाञ्छना लगाउँदै रास्वपा छोडेकी सुमना श्रेष्ठ बालेन समूह रास्वपामा समाहित भएपछि उत्साहित देखिएकी छन्।

रविमाथि लागेका मुद्धाको बोझ पार्टीले बोक्न नसक्ने भन्दै पार्टी छोडेकी सुमना वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउने अभियानमा थिइन्। रास्वपासहित बालेन, कुलमान घिसिङ, गोपी हमाल, हर्क साम्पाङलगायत शक्तिहरू एकजुट हुनुपर्ने उनको मान्यता थियो।

रास्वपा छोडे लगत्तै उनी मेयर बालेनको सचिवालयसँग निरन्तर संवादमै थिइन्। बालेन र रास्वपाको एकताले केही हदसम्म आफ्नो माग पूरा भएको ठानेकी सुमनाको अब कुलमानसहित सागर ढकाल र जेनजी अभियन्ताहरूलाई पनि एकैठाउँमा जोड्नुपर्ने मत छ।

यतिबेला बालेनको सचिवालयसँग निरन्तर स्वादमै रहेकी उनी रास्वपा फर्किने भएकी छन्। वैकल्पिक शक्तिहरूलाई एकजुट गरी रास्वपामा जोड्न सके सभापति लामिछाने कमजोर हुने र नयाँ नेतृत्व स्थापित हुने भन्दै उनी रास्वपामै फर्किन लागेको बालेन निकट स्रोतले बतायो।

‘रास्वपा रविको क्लब बन्नुभएन भन्ने उहाँको मत छ। सबै विचार समेटेर नयाँ नेतृत्व स्थापित हुनुपर्‍यो। बालेन जोडिएपछि रास्वपा मूल शक्तिको रुपमा स्थापित हुँदैछ। यस्तोमा पार्टी सामूहिकतामा चल्नुपर्छ भन्ने उहाँको मत हो।’

बालेनको सचिवालयले सुमना टीमबाट रास्वपामा जाने पुष्टि गर्‍यो। यद्यपि आफ्नो टीम रास्वपामा समाहित नभइ एकतामा गएको सचिवालयको दाबी छ। सचिवालयले रास्वपासँग एकताको सहमतिपछि एकतामा जाने सूची तयार पारिरहेको छ।

‘सबै रास्वपाको स्वीकार गर्दा हामी रास्वपामा समाहित भएको जस्तो देखिएको हुनसक्छ। यो समाहित होइन एकता हो। बालेन पनि प्रमुख शक्ति हो,’ बालेनको सचिवालयले भन्यो, ‘हामीहरू रास्वपासँग एकतामा जाने सूची बनाउँदैछौं। तत्काल गर्नुपर्ने भएकोले समानुपातिकमा जानेहरूको सूची बनाउँदैछौं। प्रत्यक्षको पनि गर्दैछौं, सबै समेट्दा सुमनाजीहरू पनि टीममा पर्नुहुन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!