शुक्रबार, १२ डिसेम्बर २०२५

विरोधीको मुख थुन्न प्रधानमन्त्री कार्कीले सुदन गुरुङलगायतलाई दुई करोड ६७ लाख बुझाएको आरोप

News Image
• • •

सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरूको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ।

जेन–जी अभियन्ता सुनिल सिंहले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरूलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए।

प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ। आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए।

‘जुन दिन जङ्गीअड्डाको बाहिर सुशीला कार्कीको विरुद्धमा नारा घन्किँदै थियो, जङ्गी अड्डा बाहिर विरुद्धमा को–को बोलिरहेका छन्, तिनीहरूलाई मिलाउ, तिनीहरूको मुख बन्द गराउ भनेर तपाईँले २ करोड ६७ लाख कस कसलाई दिनुभयो? तपाईँको जेठो छोरा (सुदन गुरुङ) हरूलाई दिनुभएको होइन? म प्रमाण दिन तयार छु। कहाँ आउनुपर्ने हो, त्यो कुरा सत्य होइन भने म झुण्डिन तयार छु। यदि यो कुरा सत्य हो भने तपाईँ राजीनामा दिन तयार हो?’ प्रश्न गर्दै उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!