बुधबार, १० डिसेम्बर २०२५

काठमाडौं महानगर प्रहरी बलका पूर्वसई लोकनाथ चुडाल बने हर्क साम्पाङको पार्टी उपाध्यक्ष

News Image
• • •

काठमाडौं महानगरपालिकाको नगर प्रहरी सेवामा करिब तीन दशक बिताएका लोकनाथ चुडालले अब राजनीतिमा पाइला चालेका छन्। उनले धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’को उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

​२०५० भदौदेखि २०७९ पुससम्म काठमाडौं महानगर प्रहरीमा कार्यरत चुडालले तत्कालीन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको ‘अत्याचार सहन नसकेको’ भन्दै प्रहरी नायब निरीक्षक (सई) पदबाट राजीनामा दिएर सार्वजनिक रूपमा चर्चामा आएका थिए।

​प्रहरी सेवा छाडेको लगभग तीन वर्षपछि उनी राजनीतिमा जोडिएका हुन्। चुडालका अनुसार साम्पाङसँग चार महिनाअघि काठमाडौंमा भेट भएको थियो। पछि धरानमा राजनीतिक विषयमा छलफल भएपछि साम्पाङले नै उनलाई पार्टीको उपाध्यक्ष पदमा रहने प्रस्ताव गरेका थिए।

​राजनीतिमा आउनुको कारणबारे चुडालले भने, ‘राजनीति ठीक भयो भने समाज पनि एउटा ट्रयाकमा हिँड्छ। नैतिक मूल्यको राजनीति र राष्ट्रप्रति समर्पित राजनीतिक दृष्टिकोण भयो भने समाज असल बन्छ।’

देशको नीतिलाई कमान्ड गर्ने नीति नै राजनीति भएकाले देशमा भइरहेका बेथिति देखेर एक सचेत नागरिकको हैसियतले फरक कोणबाट सानो भूमिका खेल्ने सोचका साथ आफू यो निर्णयमा पुगेको उनले स्पष्ट पारे।

​उनले मुलुकको मूलभूत समस्याका रूपमा अन्तर्राष्ट्रिय हस्तक्षेप लाई औंल्याएका छन्। विकास तथा परियोजना (जस्तै एमसीसी)को नाममा हुने यस्ता हस्तक्षेपले राष्ट्रको संविधानभन्दा माथि रहेर नेपालको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ता कमजोर पारिरहेको उनको दाबी छ।

​यसका साथै, विदेशी शक्तिहरूले आईएनजीओ तथा एनजीओमार्फत विभिन्न नीतिहरू छिराएर नेपालको बहुजातीय र बहुसांस्कृतिक समाजभित्र राजनीतिक, धार्मिक वा सामुदायिक द्वन्द्व सिर्जना गरी नेपाली समाजलाई विभाजन गर्न खोजिरहेको उनले बताए।

चुडालले यो अवस्थालाई नेपालमा ‘आधुनिक उपनिवेशवाद’ जस्तै भएको र विदेशीहरूले आफ्ना लागि काम गर्ने मान्छे तयार गर्न खोजिरहेको रूपमा व्याख्या गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!