सोमबार, ०८ डिसेम्बर २०२५

लेनिनको भनाइ सापटी लिँदै ओलीलाई ईश्वरले दिए ‘अतिवाद’को संज्ञा

News Image
• • •

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनपछि पनि अध्यक्ष केपी ओलीमा देखिएको अतिवादी अडानलाई पतनको संज्ञा दिएका छन्।

सोमबार पार्टी मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई बुझाइएको अवधारणापत्रमा पोखरेलले जेनजी विद्रोहपछि दुई अतिवादी विचार हावी भएको पोखरेलको बुझाइ छ।

जसमध्ये एउटा अतिवादीहरू नेपालमा केही भएन भन्नेहरू र अर्को अतिवादीहरू ‘जे भइरहेको छ त्यो सब ठिकठाक थियो, जे गरिरहेका थियौं गजब गरिरहेका थियौं’ भन्दै आफूविपरितको परिवेशलाई ‘देशी-विदेशी प्रतिक्रियवादी’हरूको षड्यन्त्र भन्नेहरू रहेका उल्लेख गर्दै अध्यक्ष ओलीलाई दोस्रो अतिवादको संज्ञा दिए।

यस्ता छन् जेनजी आन्दोलनपछि ईश्वरले देखेका दुई अतिवादहरू–

जेनजी आन्दोलन र विध्वंशक आक्रमणपछि दुईथरीका अतिवादी विचारहरू प्रस्तुत भएका छन्

— एकथरिले यसको सम्पूर्ण कारक तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओली, नेकपा (एमाले), नेपाली कांग्रेस लगायतका प्रमुख राजनीतिक दल र प्रमुख नेताहरू भएको टिप्पणी गरिरहेका छन्। उनीहरूले भनिरहेका छन्- ‘राजनीतिक दलहरूले केही पनि गरेनन्, देशमा केही हुँदै भएन, राजनीतिक दलका नेता सबै खराब र उस्तै हुन्, जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सबैभन्दा सर्वोच्च संस्था संसदसमेत औचित्यहीन भयो ।’ खासमा हाम्रा कमजोरीहरूमाथि टेकेर उनीहरूले संविधान र व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेका छन्। हाम्रो संविधान र व्यवस्था भत्काएर नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई कमजोर बनाउन एउटा अतिवाद सक्रिय छ। यो विचार हाम्रो राष्ट्र, संविधान र व्यवस्थाविरोधी अतिवाद हो।

— अर्को अतिवादी टिप्पणी छ, ‘हामीले राम्रो गरिरहेका थियौं। हाम्रा आर्थिक परिसूचकहरू क्रमशः सुधारको बाटोमा थिए। भौतिक संरचनाहरू धमाधम बन्दै थिए। तिनै तहको आवधिक निर्वाचन भइरहेका थिए।’ अर्थात् ‘जे भइरहेको छ त्यो सब ठिकठाक थियो, जे गरिरहेका थियौं गजब गरिरहेका थियौं।’ आज जे भयो त्यो हाम्रो कारणले होइन केवल ‘देशी-विदेशी प्रतिक्रियवादी’हरूको षड्यन्त्रको कारण भयो भन्ने टिप्पणी भइरहेको छ। आजको अवस्थासँग हाम्रा सीमा, कमजोरी र असफलताको कुनै सम्बन्ध नदेख्नु अर्को अतिवाद हो। वर्तमान अवस्था र इतिहासको वस्तुनिष्ठ समीक्षा नगरी भविष्यको मार्गचित्र निर्माण सम्भव छैन। कमरेड लेनिनले भने जस्तो ‘सब ठिक छ’ भन्ने अतिवाद स्थिरता होइन, पतनको सुरुवात हो। यो विचार हाम्रो सुन्दर भविष्यको बाधक र अवरोधक हो। हामी दुवैखाले अतिवादी विश्लेषणबाट मुक्त हुनु जरुरी छ। भाद्र २३ र २४ गतेका घटनाको अलग अलग ढंगले बस्तुगत तथा तथ्यपरक ढंगले निश्पक्ष छानविन गरी दोषी उपर कानूनी कारवाही गरिनु पर्दछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!