
बिएल संवाददाता
कास्कीमा एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।
'समयमा नियन्त्रण गर्न नसके डेंगुले भयावह रुप लिन सक्छ', उनले भने, 'पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेंगुको सङ्क्रमण फैलिएको छ।' उनले डेंगुले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए। डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए। चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनको भनाइ छ। समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए।
पोखरा महानगरपालिका डेंगुबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए। उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन्। सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ।
गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेंगु लागेको थियो। तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए। 'असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो', जनस्वास्थ्य निरीक्षक रेग्मीले भने।
‘खोज र नष्ट गर’
डेंगु सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ। बिहीबार यहाँ आयोजित ‘डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे।
उनले महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेंगुको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको बताए।
'डेंगुले कुनै पनि बेला भयावह रुप लिनसक्छ, हामी सबै सचेत र सतर्क रहनुपर्ने अवस्था छ', प्रमुख आचार्यले भने, 'आफ्नो घर, कार्यालय र सार्वजनिकस्थल सफा राखौँ, लामखुट्टेको टोकाइबाट जोगिऔँ।'
डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए। डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उनको भनाइ छ।
यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनले बताए। 'डेंगु नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ', उनले भने।
डेंगुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए। स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ।
डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको छ।
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया