बीएल फलोअप: को हुन् हेमन्तप्रकाश ओली उर्फ कम्रेड सुर्दशन ?

तस्वीर: रातोपाटी फाइल

बिप्लव नेतृत्वको नेकपाका मध्यक्षेत्र ब्युरो कमाण्डर  हेमन्तप्रकाश ओली 'सुदर्शन' माओवादी जनयुद्धताका नै नाम कमाएका ठुला नेता हुन् । 

जनयुद्धताकाको तत्कालिन माओवादीका पार्टी स्कूल विभाग प्रमुखसमेत भैसकेकाले उनी कुन तहका नेता हुन् भन्ने सहज अनुमान गर्न सकिन्छ।

प्रचण्डको कोपभाजनको शिकार बनेर बिप्लव नजिक पुर्याइएका उनी बिप्लव माओवादीमा तेस्रो वरियताका नेता हुन्।

अनेरास्ववियुदेखि नै तत्कालिन चौथो महाधिवेशन स्कुलिङमा आवद्ध उनी तत्कालिन नेकपा माओवादीभित्र राम्रो सैद्धान्तिक, बैचारिक चेत भएका नेता मानिन्थे । 

रूकुममा जन्मिएका सुदर्शन माओवादी जनयुद्धका क्रममा पहिलो पटक उनी ०५५ साल माघ २९ गते बाजुरा र बझाङको सिमाना दोगरीबाट पक्राउ परेका थिए। पक्राउ परेपछि पिसाब फेर्ने निहुँमा प्रहरी घेरा तोड्ने प्रयास गर्दा उनलाई प्रहरीले ढुङ्गाले हानेर नियन्त्रणमा लिएको थियो। त्यसक्रममा ओलीको टाउकोमा गहिरो चोट लागेको थियो।प्रहरीले कार्यालय पुर्याएर पनि चर्को यातना दिएको थियो। पक्राउको केही समयपछि नेकपा एमालेका तत्कालिन नेता कर्ण थापालगायतको सहयोगमा ओली जिल्ला अदालत बाजुराबाट फरार हुन सफल भए । 

ओलीले जनयुद्धमा छोरी सुवर्णलाई गुमाएका छन् । उनकी छोरी सल्यानमा मारिएकी थिईन।जनयुद्धमा आफ्ना सन्तान गुमाउने माओवादीका तीन शिर्ष नेता पोष्टबहादुर बोगटी र हितराज पाण्डे र उनी मात्र हुन्। 

कुनै समय प्रचण्डका नजिकका मानिएका ओलीले उनीसँग केही विषयमा सामान्य असहमति राखेपछि प्रचण्डको कोपभाजनको शिकार हुन थाले।जनयुद्धकालमा माओवादी बिरुद्ध कठोर 'अप्रेशन' का योजना बनाउने पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई प्रचण्डले सासंद बनाए। तर, जेलनेल खाएका, सन्तान गुमाएका ओलीजतिका नेतालाई सांसद बनाउनु उपयुक्त ठानेनन्।यसले उनलाई निक्कै विचलित बनाएको नजिकबाट चिन्नेहरू भन्छन्।

ओली पक्राउ पर्नु विप्लव नेतृत्वको नेकपालाई ठूलो सेट ब्याक  मानिएको छ।

प्रकाशित मिति: : 2019-03-23 09:17:34

प्रतिकृया दिनुहोस्