भाजपा र शिव सेनाबीच विवाद भइरहेको बेला मन्त्री सावन्तले त्यागे पद

तस्बिरः एजेन्सी

भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले राजीनामा दिएका छन्। शिव सेनाबाट लोकसभा सांसद बनेका उनी नरेन्द्र मोदीको क्याबिनेटका हेभी इन्डष्ट्रिज एण्ड पब्लिक इन्टरप्राइजेज मन्त्री थिए ।

भारतीय जनता पार्टी र शिव सेनाबीच महाराष्ट्रको सत्ता साझेदारीको विषयमा विवाद भइरहेको बेला मन्त्री सावन्तले ट्विटरमार्फत मन्त्री पद त्यागेको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘शिव सेना सत्यको साथमा छ । यस वातावरणमा सरकारमा रही रहनुको के अर्थ? त्यसैले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिँदै छु ।’

शिव सेनाका प्रमुख उद्धव ठाकरेको निर्देशनमा मन्त्री सावन्तले पदबाट राजीनामा दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

मन्त्री सावन्तको राजीनामासँगै शिव सेनाले महाराष्ट्रमा एनसीपी र कांग्रेसको सहयोगमा सरकार बनाउने बताइएको छ। एनसीपीले मोदी नेतृत्वको सरकारबाट बाहिरिएपछि मात्रै सरकारमा समर्थन गर्ने सर्त राखेको थियो ।

प्रकाशित मिति: : 2019-11-11 12:19:29

प्रतिकृया दिनुहोस्