सर्च कमिटी गठन गर्ने तीन दलीय सहमति, रगतमा साटेको गणतन्त्रको विकल्प छैनः राष्ट्रपति (दिनभरका मुख्य समाचार)

‍तीन दलका शीर्ष नेताहरूबीच सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति जुटेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए।

बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति ‘सर्च कमिटी’ अगाडि बढाउन प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग छलफल गरेको उनले बताए।

भिडियो-

000

नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर भ्रमपूर्ण समाचारहरू प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले सचिवालय बैठकमा ओलीले ‘राजावादीको आन्दोलनमा भारतको भूमिका रहेको भनेर ब्रिफिङ गरेको’ समाचारहरू बाहिरिएपछि एमालेले आपत्ति जनाएको हो।

सोमबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भनेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित रहेको दाबी गरेका छन्।

यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका एमालेको आरोप छ।

000

राष्ट्रपति रामचन्द्र पौडेलले रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्।

नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न सोलुखुम्बु पुगेका राष्ट्रपति पौडेलले रैती दुनियाँबाट सार्वभौम सत्ताको मालिक बनेका नागरिकहरू पछि फर्किन तयार नरहेको दाबी गरे।

उनले वर्तमान व्यवस्थाले शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार पनि नागरिकलाई नै दिएको बताए।

उनले यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने बताए।

000

नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

संघको प्रथम महाधिवेशनमा क्रममा शनिबार भएको निर्वाचन मतगणनाको अन्तिम परिणामअनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरि विजयी भएका हुन्। 

उनी महामन्त्री गगन थापा निकट मानिन्छन्। तर उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरूले पनि साथ दिएका थिए।

उनका अर्का प्रतिस्पर्धी विकास थापाले ८८ मत मात्रै प्राप्त गरे।

000

कवाड व्यवसायी समाज नेपालले आफ्ना व्यवसायीमाथिको धरपकट तत्काल नरोकिए काठमाडौं महानगरपालिकाविरुद्ध थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो।

महानगरले कवाड व्यवासायीहरूको व्यवसायस्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरूको आरोप छ। 

कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि बिहान ११ बजे महानगर घेर्ने तयारी गरेका छन्।

000

दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक-सु को महाअभियोग खारेज गरेको छ। सोमबार अदालतले महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरेको हो।

महाअभियोग खारेज भएलगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित भएका छन्।

तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए। उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए।

000

बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तामिम इकबाललाई हृदयघात भएको छ।

ढाका प्रिमियर लिग (डीपीएल) खेल्ने क्रममा मैदानमा विपक्षी टिमविरुद्ध फिल्डिङ गरिरहेका इकबाललाई हृदयघात भएपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको थियो।

हृदयघातबाट अचेत भएका उनको स्वास्थ्यमा सुधार क्रमिक सुधार आएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ।

प्रकाशित मिति: : 2025-03-24 20:17:00

प्रतिकृया दिनुहोस्