सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
सरकारको प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका थिए।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन्।
आइतबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा बोल्दै उनले देश विकासको गतिमा अगाडि बढेको दाबी गरेका हुन्।
आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको उनकाे भनाइ थियाे।
000
गृहमन्त्री रमेश लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इन्टरड्यूज गर्नेबारे छलफल भइरहेको बताएका हुन्।
‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उनको भनाइ थियाे।
000
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्।
कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका हुन् ।
नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै उनले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका थिए।
000
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजतन्त्र फर्काउने सपना पूरा हुन नसक्ने बताएका छन्।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले
नेपालमा राजतन्त्र फर्काउने सपना किमार्थ पूरा नहुने बताएका हुन्।
राजावादीहरूले राजा आइहाल्छन् भनेर भड्काउने काम गरिरहेको पोखरेलको दाबी थियाे।
000
महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ।
सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए।
औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए।
000
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् ।
१८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन्।
प्रवक्ता समेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका थिए।
000
गाजामा इसराइलको आक्रमणमा परी हमासका शीर्ष नेताको मृत्यु भएको छ।
आइतबार गाजाको दक्षिणी भूभाग खान युनिसमा इसराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हवाई आक्रमणमा नेता बर्दाविलसहित उनकी श्रीमती पनि मारिएकी छिन्।
000