नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन्।
उनले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ। अब केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ। त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौँ। किनकी धेरै एड्भेन्चर गर्ने ठाउँ छैन। यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं र त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं’, उनले भने, ‘किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन। हामी माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं। दलहरुको बीचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरु संशोधन गर्छौं। एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँथ टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ, त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ।’
उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए। कांग्रेसले तीन वर्षमा ०८४ मा यो यो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘२०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन। सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ। २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो। मिलेर चुनाव लड्यो। यी सबै कुराको बिचमा सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ। सबैले पाँच वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, पाँच वर्षको जिम्मा लिने कोही भएन। तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन। जिम्मा लिनुपर्छ। कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ। यो तीन वर्षमा ०८४ मा यो-यो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्छ। अब हामीले जिम्मा लिएर जानुपर्छ। सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ।’
उनले देशभरीको चुनावहरु हेर्दा एकदमै धेरै मङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए।