गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेकाे समीकरण ८४ सालसम्मै जाने दाबी गरेका छन्।
मंगलबार रुपन्देहीकाे भैरहवामा आयाेजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै उनले सरकार बन्नेबित्तिकै सरकार ढल्छ भन्ने हल्ला चलाइने गरेकाे भन्दै याे समीकरण ८४ सालसम्मै जाने दाबी गरेका हुन्।
'सरकार बन्नेबित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइन्छ। याे समीकरण ८४ सालसम्मै जान्छ,' उनले भने।
साथै उनले कांग्रेस र एमालेकाे नयाँ समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताए।
यसैगरी शान्ति सुरक्षा लाेकतन्त्रकाे पहिलो सर्त भएकाे भन्दै गृहमन्त्री लेखकले भने, 'लाेकतन्त्रकाे पहिलो सर्त शान्ति सुरक्षा हाे। हामीले शान्ति सुरक्षा दिन सक्यौँ भने नागरिकले निर्वाध रुपमा आफ्ना माैलिक हककाे उपयोग गर्नुहुन्छ। संघीय लाेकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासकाे ग्यारेन्टी हुन्छ।'
लुम्बिनी प्रदेशकाे विशेष महत्त्व रहेको उनको भनाइ छ। 'हाम्रो धार्मिक, सांस्कृतिक मात्र हाेइन विश्व शान्तिकाे जाेति छर्ने ठाँउ हाे', उनले भने।
गाेष्ठीहरु औपचारिकतामा सीमित हुने गरेको भन्दै गाेष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुहुनुपर्ने गृहमन्त्री लेखकले बताए।
यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानकाे सुरक्षा, संविधानले प्रदान गरेकाे नागरिकका हकअधिकार र संविधानकाे कार्यान्वयन हाम्रो जिम्मेवारी भएकाे उनले बताए।
'हाम्रो संविधानमा नागरिकका ३२ वटा माैलिक हक छन्। त्यसकाे प्रत्याभूत गराउने काम हाम्रो हाे। यसका लागि शान्ति सुरक्षाकाे कुरा आउँछ', गृहमन्त्री लेखकले भने।
लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमानमा हुने तस्करी तुरुन्त राेक्नु निर्देशन दिए।
'सीमापार अपराधकाे नियन्त्रण हुनुपर्याे। याे परिणाम देखिने गरि काम हुनुपर्छ,' उनले भने, 'लागूऔषधकाे नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु हाेला।'
साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए।