अहिलेको गठबन्धन आवश्यकता हो, ८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ: मन्त्री पाण्डे

Break n Links
Break n Links

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पारेका छन्।

गृह जिल्ला बाजुरा पुगेका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस र एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो।’

उनले कांग्रेस-एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी, एकीकृत समाजवादीलगायतका साना दलहरुलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट पारे।

मन्त्री पाण्डेले भने, ‘संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भएपनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने,राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुन जरुरी छ,’ मन्त्री पाण्डेले अगाडि भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापतिज्यूको प्रतिबद्धता रहेको छ। देशको सुधारका लागि उहाँहरुको स्पिडमा काम गर्नुपर्ने छ।’

उनले २०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत बताए।

फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले सुचकाङ्कहरुका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताए। उनले पछाडि परेको क्षेत्र, जाति र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रष्ट पारे।

कार्यालय प्रमुखलाई कामलाई प्राथकिताहरु निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिए। मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2024-12-10 17:37:00

प्रतिकृया दिनुहोस्