नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले अहिले चीनसँग बीआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन्।
उनले भने, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत छुट्याउँछौँ, कूल बजेटको खर्च हुन्छ, त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ। यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ। त्यसैले अहिले यति नै बेला चीनसँग बीआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौँ भन्ने खालको कुरा चाहिँ आवश्यक छ जस्तो लाग्दैन, उचित छैन। यो समय परिपक्व होइन भन्ने नै लाग्छ।’
उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए।
प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी सफल पार्न उनले आग्रह गरे।
उनले भने, ‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलिअलि अप्ठ्यारा छन्। जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ। यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन भन्ने मेरो धारणा छ। प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदैगर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी भ्रमण सफल होस्, आग्रह गर्न चाहन्छु।’