एमालेले बुझेन महानगरकाे जरिवाना पत्र, भन्याे- हामी आयाेजक हाेइनाैँ, लाजमर्दाे काम नगराैँ

File Photo
File Photo

जरिवाना पत्र बाेकेर पार्टी कार्यालयमा पुगेकाे काठमाडाैँ महानगरपालिकाकाे टाेलीलाई नेकपा एमालेले फिर्ता पठाएकाे छ।

आइतबार दिउँसाे साढे १ बजे जरिवाना पत्र बाेकेर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेकाे महानगरकाे टाेलीलाई दरबारमार्गमा भएकाे जागरणसभाकाे आयाेजक एमाले केन्द्रीय कार्यालय नभएकाे भन्दै फिर्ता पठाएकाे हाे।

पत्र लिएर महानगरपालिकाकाे तर्फबाट नगरप्रहरी बलका प्रहरी निरक्षक केके भट्टराईकाे नेतृत्वमा टाेली पुगेकाे थियाे। टाेलीले एमाले पार्टी कार्यालय सचिव डा. भीष अधिकारीलाई पत्र बुझाएकाे थियाे।

तर, अधिकारीले पत्र हेरे र पत्रमा उल्लेख भएअनुसार ‘एमाले केन्द्रीय कार्यालय शुक्रबार दरबारमार्गमा भएकाे जागरणसभाकाे आयाेजक नभएकाे’ भनेर महागरकाे टाेलीलाई फिर्ता पठाएका छन्।

उनले प्रहरी बलकाे टाेलीलाई भने, ‘त्याे कार्यक्रमकाे आयाेजक हामी हाेइन, तपाईंहरु याे पत्र किन यहाँ लिएर आएकाे? त्याे कार्यक्रमकाे आयाेजक नेकपा एमाले काठमाडाैँ, भक्तपुर र ललितपुर कमिटी हाे। गलत ठाउँमा आएर यस्ताे लाजमर्दाे काम नगराैँ।’

कार्यालय सचिव अधिकारीले महानगरकाे याे कदमलाई ‘स्टन्ट’ भनेकाे छ।

एमालेले शुक्रबार काठमाडाैँकाे दरबारमार्गमा जागरणसभा गरेर सडकमा फाेहाेर गरेकाे भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेका थियाे।

प्रकाशित मिति: : 2024-11-24 14:05:00

प्रतिकृया दिनुहोस्