त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

File Photo
File Photo

कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए।

उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए।

उक्त अवसरमा उनले सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए।

देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहाल विश्वास मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रकाशित मिति: : 2024-07-14 14:22:00

प्रतिकृया दिनुहोस्