बजेटले युवामा जगाउँदैछ उत्साह

Break n Links
Break n Links

उद्यमशीलतालाई प्रवद्र्धन गरेर बेरोजगार युवाको जमातलाई देशभित्र रोक्न नसक्ने हो भने सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा केबल कागजमा मात्र सिमित रहने खतरा छ।

हरेक वर्ष अथाह विप्रेषण भित्रिन्छ र मुलुकको अर्थतन्त्र धानिन्छ भनेर सन्तोष मान्न सकिँदैन। पारिवारिक विग्रह र विखण्डन एकातिर छ भने परिवारकै आयको स्रोत रहेको मुख्य व्यक्तिको अगभंग मात्र हैन, अवसान नै पनि मूल्यबाट आँक्न नसकिने क्षति हो भन्ने नीति निर्माताहरुले बुझ्न जरुरी छ।

हरेक वर्ष थपिने श्रमशक्तिलाई उत्पादन बढाउन र उद्यमशीलतामा लगाउन सरकारले ध्यान नपुर्याए बेरोजगारीकै कारण बिदेशिने युवाको संख्या झनै बढ्ने देखिन्छ। पछिल्ला समय रोजगारी सिर्जना र बेरोजगारी न्यूनिकरण गर्न सरकार र राजनितिक नेतृत्व उद्यम र उद्यमशीलता विकासमा आवश्यक वातावरण बनाउन लाग्नुपर्ने स्वर आमजनमानसबाट उठ्न थालेका छन्।

बजेट निर्माणको पूर्वसन्ध्यामा काठमाडौँमा उद्यमशील कंग्रेसले गरेका ‘उद्यमशीलता, उद्यमी र बजेट’ बिषयक छलफलमा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सरकार र दृढ इच्छाशक्तिले मात्रै उद्यम र उद्यमशीलताको प्रवद्धन गर्न सकिने बताएका थिए।

ससाना पुँजीको प्रयोगले ठूलो सफलता दिलाउने र त्यसरी साना पुँजी परिचालन गरी स्थानीय उत्पादनलाई बजार पु¥याउन सवै सरोकारवाला लाग्नुपर्ने पूर्वमन्त्री रिजालको धारणा छ।

‘राजनीतिक नेतृत्वले उद्यममैत्री वातावरण बनाउन तथा नीतिगत व्यवस्था गर्न लाग्नुपर्छ’ नेता रिजाल भन्छन्। नीति कार्यक्रम र बजेट व्यवसायमैत्री बनेर मात्रै नहुने त्यसको कार्यान्वयनमा दृढ हुनुपर्ने उनको भनाइ थियो।

कुनै पनि मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक युवाको योगदान नै हरेक देशको विकास र प्रगतिमा प्रमुख हुने गरेको छ। युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासबाटै राष्ट्रले विकास निर्माण तथा समृद्धिमा प्रगति हासिल गरेको देखिन्छ.

नेपालका सन्दर्भमा युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तन गराई समृद्धिका युगमा प्रवेश गर्न सक्ने ठूलो अवसर छ। नेपालमा युवा उमेर समूह कुल जनसङ्ख्याको ४० प्रतिशतभन्दा बढी छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १५ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५ प्रतिशत छ।

जनसङ्ख्याको सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूहको फाइदा नेपाललाई व्यापक रहे पनि यसको सोचेअनुरूप उत्पादन र उत्पादनशीलतामा लगाउन नसकेकाले आर्थिक र सामाजिक रुपान्तरणमा अपेक्षाकृत परिवर्तन भने देखिएको छैन।

विकास र समृद्धिको संवाहक युवालाई प्रत्यक्ष उत्पादनमा जोड्न राज्यले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने दखिन्छ।

युवालाई उत्पादनमा जोड्न मुख्य औजारको रुपमा उद्यमशीलतालाई लिन सकिन्छ। हाम्रोजस्तो विकासोन्मुख मुलुकको समृद्धिमा उद्यमशील युवाको प्रमुख भूमिका हुन्छ।

उद्यमशीलता नवीनतम् व्यवसायको तयारी गर्ने इच्छाशक्ति र सिर्जनशीलता हो। नवीनतम् व्यवसायका लागि अनुसन्धान, व्यवसायको स्थापना तथा व्यवसाय सञ्चालनको इच्छाशक्ति र सिर्जनशील क्षमता हुनुलाई उद्यमशीलता मान्न सकिन्छ।

अर्थशास्त्री तथा उद्यमशीलता तथा नवप्रवर्तन अनुसन्धानका पिता मानिने जोसेफ सुम्पिटरले उद्यमीहरूलाई परिवर्तनका संवाहकका रूपमा हेरेका छन्। उनले उद्यमीहरूलाई सामान्यतया अरूले नदेखेका अवसरहरूको खोजी गर्ने व्यक्तिका रुपमा आफ्नो अवधारणामा प्रस्तुत गरेका छन्। 

उद्यमशीलताको विकासले नागरिकलाई व्यवसायप्रति आकर्षित गराई जोखिम लिन र आर्थिक क्रियाकलापमा आबद्ध गराउँछ।

मुलुकको आर्थिक र सामाजिक परिवर्तनका लागि स्थानीयस्तरदेखि नै उत्पादन र उत्पादकत्व बढाउन तथा रोजगारी सिर्जना गरी सबल अर्थतन्त्र बनाउन युवामाझ उद्यमशीलताको विकास गर्नु आजको आवश्यकता हो भन्नेमा धेरै अर्थशास्त्रीहरु सहमत देखिन्छन्।

मुलुकमा युवा बेरोजागारीको समस्या दिनदिनै बढ्दो छ। विभिन्न समयमा विभिन्न निकायले सार्वजनिक गर्ने विवरणमा यसको झलक देखिन्छ। स्वशमै रोजगारी सिर्जना हुन नसकेर लाखौँ युवा कामकै खोजीमा विदेसिनु पर्ने वाध्यता छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको १० महिनामा मात्र साढे छ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। अघिल्लो महिना (बैशाख)मा मात्रै कुल ७० हजार छ सय ३७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। 

यसरी युवा जनशक्ति विदेसिनुको मूलकारण मुलुकभित्रै रोजगारीको अवसर नपाउनु नै हो। रोजगारीका अलावा गुणस्तरीय शिक्षाकै लागिसमेत विदेसिनुपर्ने अवस्था छ। उच्च शिक्षा हासिलपछि पनि सोचेअनुरुप रोजगारी नपाइने बाध्यताले युवा शक्ति अन्य मुलुकमा पसिना बगाउन बाध्य छन्।

उद्यमशीलता र औद्योगिक विकासका निमित्त सरकारले यसअघि पनि विभिन्न कार्यक्रम र योजना अगाडि नसारेका भने होइनन् तर सोचेअनुरुप उपलब्धि हासिल गर्न सकेको छैन। उत्पादन र रोजगारीका सम्बन्धमा यसअघिका नीति तथा कार्यक्रम र बजेटमा समेत परेका थिए तर त्यसको प्रतिफल के भयो भनि हेर्नुपर्ने आवाज उठ्न थालेका छन्।

सरकारले सार्वजनिक गरेको आव २०८०–८१ को बजेटमा आएका युवा लक्षित केही कार्यक्रमले भने युवा पिँढीमा अलिकति भए पनि आशा जगाउने देखिन्छ।

सरकारले आफ्नो बजेट वक्तव्यमा युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा लाग्न प्रोत्साहित गर्ने, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गराउने, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उँचो बनाउन आएका कार्यक्रमलाई सकारात्मक रुपमा हेरिएको छ।

सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यको उद्देश्य र प्राथमिकतामै अर्थमन्त्री पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने तथा लगानीमैत्री वातावरण बनाउँदै कृषि, ऊर्जा, सूचना प्रविधि र पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरेका छन्।

युवालाई सिर्जनशील बनाई उत्पादनमा जोड्न सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न खोजेको देखिन्छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले युवालाई व्यवसायमा आकर्षित गराई जोखिम बहन गर्न र आर्थिक क्रियाकलापमा सिर्जनशील बनाउन सरकारले प्रतिवद्ध रहेको र बजेट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिको क्षेत्रलाई केन्द्रमा राखेर बनेको बताउँछन्।

सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यको पाँच रुपान्तरणकारी क्षेत्रमध्ये उद्यमशीलता र औद्योगिक विकास गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ। अर्थमन्त्री सरकारले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट बनाएको र युवा पुस्ताले यसको परिणामदिने गरी कार्यक्रममा सहभागी हुनुपर्ने बताउँछन्।

सरकार युवालाई उत्पादनमा जोड्दै अगाडि बढ्न प्रतिवद्ध रहेको उनको भनाइ छ। आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आवद्ध गराउन उद्यमशीलता अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पुनको भनाइ छ।

बजेटमा सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन हुने उत्पादन र रोजकारी कार्यक्रममार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउन, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवद्र्धन गर्न तथा सूचना प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने उल्लेख छ।

बजेटले युवा पुस्ताले अपेक्षा गरे अनुरुप ज्ञान, सीप, नवप्रवर्तन र उद्यमशीलता बढाउन सरकारले आवश्यक वातावरण बनाउन जोड दिएको छ।

त्यस्तै युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा ‘बिजिनेस इन्क्युवेसन सेन्टर’ सञ्चालन गरिने र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ। युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याइने मन्त्री पुनले बताएका छन्।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारले ‘हिमाल समृद्धि’ कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा, चौंरीलगायतका पशुपालन र स्याउ, ओखर र जडीबुटीका फार्म सञ्चालन गर्ने र कर्णाली प्रदेशमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने बजेट वक्तव्यमा उल्लेख छ। 

यसले विदेशमा सीप सिकेर फर्केकाको ज्ञानलाई प्रयोग गरी आफ्नै देशमा उत्पादन र रोजगारी सिर्जना गर्न खोजेको देखिन्छ।

जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न तथा उद्यममा युवा सहभागिता बढाउन मन्त्री पुनले ‘स्टार्ट अप’ र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने वजेट वक्तव्यमा उल्लेख छ। 

त्यस्तै स्टार्ट अप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्ट अप बार्ड गठन गरिने र उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न रु एक अर्बको नेपाल स्टार्ट अप कोष खडा गरेको बजेट भाषणमा उल्लेख छ। 

सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत आउने युवा लक्षित कार्यक्रमले स्वदेशमा उत्पादन बढाउन युवाको सहभागिता बढाउने र रोजगारीका लागि विदेशमा जानेलाई देशभित्रै रोक्ने बताइरहँदा र विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको अवस्थामै पनि त्यसले सोचेअनुरुप नतिजा देखाउन सकेको छैन। यसमा युवा पङ्क्तिको आत्मवल बढ्न सकेको छैन। 

दिनदिनै विमानस्थलमा देखिने भिडले सरकारले ल्याएका कार्यक्रमको सफलता वा असफलता आफैँ झल्किरहेको चित्रण हुन्छ।

ललितपुरस्थित एक कलेजमा स्नातक प्रथम वर्षमा अध्ययन गर्दै गरेका रमेश नेपाल आफू विदेश जाने तयारी गरिरहेको र बाहिर गएर ज्ञान, सीप र पूँजी जुटाएरमात्रै स्वदेश फर्कने बताउँछन्।

‘नियमित पठनपाठनमै समस्या छ, न समयमै परीक्षा हुन्छ, न समयमा परिक्षाफल प्रकाशित हुन्छ, पढाइ सकेर न रोजगारीको अवसर पाइन्छ’, उनी बताउँछन्। 

त्यसो भन्दै गर्दा देशभित्र पनि केही युवाले केही नगरेका भने होइनन्। कतिपयले त समाजमा उदाहरणीय काम नै गरेको पनि छन्। वैदेसिक रोजगारीबाट फर्केर त्यहाँको सीपको प्रयोगले यहाँका युवालाई रोजगारी दिन सक्ने उदाहरण बनेका पनि धेरै छन्।  

उनी भन्छन्, ‘पाँच वर्ष खाडीमा बसेर काम गरियो, आफ्नै देश फर्कदा खाली हात थियो, अहिले दुई वर्ष भयो आफ्नै होटेल छ, परिवारसँगै बसेको छु। आफैँ साहु बनेर काम गरिरहेको छु। सरकारले लागानी सुरक्षित हुने वातावरण बनाइदिए अझै यो व्यवसाय बढाउने योजना छ।'

ठिमीमा खाजाघर चलाउँदै आएका राम थापामगर आफ्नो अनुभव सोचनीय छ। उनी भन्छन्, एउटी छोरी ११ मा पढ्छिन् र छोरो एक वर्षको भयो, अब दुई वर्षपछि छोरीलाई नेपालमै बस्ने बनाउन भने मुस्किल रहेको उनी बताउँछन्।  

आफन्त र छिमेकमा सगैँका उमेरका साथीहरु प्रायः सबै अब कुन मुलुक जाने होला भनेर सोच्न थालिसकेकाले आफ्नै छोरीमा समेत त्यो सोच आएकाले आफू चिन्तामा पर्ने गरेको उनी बताउँछन्। राज्यले यस्ता युवालाई मुलुकमै गुणस्तरीय शिक्षा र रोजगारीको  वातावरण बनाइदिनुपर्ने उनको माग छ। 

त्यस्तै कृषि, साना उद्योग, विज्ञान तथा प्रविधिको क्षेत्रमा युवाहरुले सहहनीय कामको थालनी गरेका पनि छन्। यस्ता कामलाई प्रोत्साहन मिले वेरोजगार युवा त्यस्ता काममा आकर्षित हुन सक्छन्। मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा उद्यमशीलताको अद्वितीय भूमिका हुनेमा दुईमत छैन। 

अहिलेको युवा शक्तिमा उद्यमशीलता प्रेरित गराउन राज्यले आवश्यक वातावरण वनाए ‘सुखी नेपाली समृद्ध नेपाल’नारा व्यवहारमै देखिन धेरै समय लाग्ने छैन। नवीन पौडेल

प्रकाशित मिति: : 2024-06-06 15:24:00

प्रतिकृया दिनुहोस्