इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले बताएको छ। 

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज सहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन्। उनको पहिचान आइएस समूहको ‘वरिष्ठ सदस्य’ का रूपमा गरिएको थियो। 

‘रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका तीन सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ’, आइआरएनएले भनेको छ। पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन। 

आइआरएनएले विस्तृत विवरण नखुलाई अन्य आठ ‘सहयोगी’ लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले मंगलबार पवित्र सहर कोममा दुई कथित आइएस सदस्य पक्राउ परेको बताएका छन्। 

आइएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी सहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेबारी लिएको थियो। उक्त आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो। 

इरानले वर्षौंदेखि जिहादी र अन्य आतङ्कवादी समूहहरूसँग लड्दै आएको छ। आइआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’ हरूको सङ्ख्या बढेर १६ पुगेको बताएको छ। मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन्। 

यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो। सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो। 

प्रकाशित मिति: : 2024-04-06 21:23:00

प्रतिकृया दिनुहोस्