आजको राजनीतिका बारेमा समाजमा विभिन्न कोणहरुबाट अनेकौँ प्रश्नहरु उठिरहेका छन्। नेपालका पुराना दलहरु र नयाँ दलहरुका बारेमा पनि विभिन्न तह र तप्कामा छलफल, बहसहरु चलिरहेका छन्।
पुराना दलहरुलाई लाग्ने मुलभूत आरोप ‘मुल आदर्शबाट विचलित भएका, उपभोक्तावादको सिकार भएका र सत्ता प्राप्तिका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्ने’ जस्ता रहेका छन्।
यथार्थता के हो भने निर्वाचन प्रणाली भ्रष्टीकरणको दलदलमा फसेको छ। खुला राजनीतिक जीवनमा आजसम्म हरेक निर्वाचनहरुमा एउटै वर्ग, एउटै जाति, एउटै समूहका व्यक्तिहरु यो वा त्यो तरिकाले बारम्बार भोटका नाममा कुर्सी बदलिन्छन्, सरकार बदलिरहन्छन् तर पात्र र प्रवृत्ति निरन्तर दोहोरिरहन्छ, लगभग म्युजिकल चियर जस्तै।
पाँच वर्षमा एकपटक बर्सेनि सर्पलाई पूजा गरेजस्तै निर्वाचनका दिन जनताले भोट दिएर कर्मकाण्ड पूरा गरेको जस्तो। देश बनाउन भोट दिएर सरकार बदलिएर हुँदैन भन्ने कुरा आम मतदाताले बुझ्न जरुरी छ।
आज राजनीतिक दल र तिनका नेता-कार्यकर्ताप्रति जनता घृणा गर्छन्, बेइमानको उपमा दिन्छन्। राजनीति भन्ने शब्द नै सुन्न चाहँदैनन्। तसर्थ, राजनीतिका बारेमा जनतालाई सुसूचित गर्नैपर्छ।
राजनीतिक जागरण चलाउनैपर्छ, जागरुक पार्नैपर्छ र जनतालाई जुरुक्क उठाउनैपर्छ। म सुन्ने गर्छु, नयाँ दल होस् वा पुराना दल यी सबैको एकमात्र लक्ष्य मिसन ८४ रहेको छ। त्यो मिसन ८४ भनेकाे एक सत्ता, दुई सत्ता र तीन फेरि पनि सत्ता नै हो। के राजनीति त्यही हो? खै त जनताले प्रतिकार गर्न सकेको? के एक निर्वाचनबाट फेरि अर्को निर्वाचनमा जानु मात्रै मुख्य लक्ष्य हो?
हाम्रो बहस यतातर्फ जानुपर्थ्यो,
देश बाहिर गएर दु:ख पाएर बसेका करिब ८० लाख नेपाली युवाले पठाएको रेमिट्यान्स वा पैसा सदुपयोग गरिकन बीचैमा कसैले नठ्गिकन, बिचाैलिया धेरै नआइकन, मन्त्रीहरुले घुस नखाइकन, केही माननीयहरुले दलाली नगरिकन जनतालाई महिनामा कम्तिमा हप्ता दिन स्वस्थ्य खाना, स्वच्छ खानेपानीको व्यवस्था, शिक्षा समान र निशुल्क गरिदिने भन्नेतर्फ हुनुपर्थ्यो।
तर यसो भन्नुको सट्टा नेताहरु हुँदै नहुने ‘स्विजरल्याण्डलगायतका देश बनाई दिन्छु’ भन्ने र हामी जनता परर ताली बजाउने भइरहेको छ। नदेखिने पूरा गर्न नसकिने सपना जनतालाई देखाइएको छ। यो तहको बेइमानीले जनतालाई उल्लु बनाउने राजनीतिले देशको काँचुली फेर्छ? अवश्य फेर्दैन। त्यसकारण जनतामा राजनीतिक जागरण ल्याउनैपर्छ।
राजनीतिलाई इन्कार गर्न पाइन्छ तर उपाय के हो त? त्यसको बारेमा पनि इन्कार गर्ने जनताले जवाफ दिनैपर्छ। राजनीति भनेको गन्तव्य हो। बाटो-गोरेटो हो, जहाँ जटिलताबाट सहजता, विभिन्न मोड-घुम्तीहरु पछि पुग्ने निश्चित गन्तव्य हो। अनेकन समस्याहरुको समाधानको बिन्दु हो। सुख, समृद्धिको वितरक हो। जुन जनताले जान्नैपर्छ, बुझ्नैपर्छ।
स्थायित्व र स्थिरता अनिवार्य शर्त हो। तर आज मुलुक गलत लक्ष्यलाई अगाडि राखेर जाँदैछ। व्यक्ति विशेषको महत्वाकाङ्क्षालाई प्रयोगमा ल्याएर उचाल्ने, थेचार्ने सोचाइ, संस्कार, आदत बोकेर हिँड्ने कस्तो चरित्र छ हाम्रो? कोही व्यक्ति प्रधानमन्त्री, मन्त्री भए देशको कायापलट हुने!
नैतिकताबिनाको राजनीतिको कुनै अर्थ हुँदैन। यो आधारभूत मान्यता हो। तर त्यही राजनीतिक संस्कार सिकाउने पार्टीभित्र पनि आज यो गुट, भोलि यो गुट, छिनछिनमा स्वार्थकै लागि यताउता गरेको छ। सत्ताकै लागि १४ दिनदेखि ५ महिना नबित्दै गठबन्धनका गठबन्धन गरेको छ। सत्ता फेरेको फेरै, मन्त्री फेरेको फेरै, के यही हो लोकतन्त्र? के यही हो हामीले बचनबद्धता गरेको स्थिरता र स्थायित्व?
तसर्थ, राजनीतिलाई विचारधारासँग र विचारधारालाई नैतिकतासँगको कार्यपद्धतिको न्युनतम मूल्यमान्यतासँग जोड्नै पर्दछ। त्यसको खबरदारीका लागि पनि बहुसंख्यक कार्यकर्ता, पार्टीपंक्ति र जनतामा राजनीतिक चेतना जागृत हुनैपर्छ। यो मुलुकको बारेमा सबैले बुझ्नुपर्छ, अझ जनताले झन बुझ्नुपर्छ?
वर्तमानमा नेपालको अवस्था यस्तो देखिन्छ। मन्त्री फेरिने बित्तिकै सबै कुरा फेरिन्छन्। नीति फेरिने, योजना फेरिने बजेट, कार्यक्रम, सबै फेरिन्छन्। सरकार फेरिने कुरासँग नीति, बजेट कार्यक्रम, योजना फेरिरहने यो अस्थिर सत्ता समीकरणको राजनीतिले स्थायित्व, सुख र समृद्धिको सुचक पूरा गर्न सकिन्छ? अवश्य सकिँदैन।
जब जनता साँच्चिकै राजनीतिक रुपमा सचेत हुन्छन्, तब यी प्रश्नहरु उठाउँछन् र जवाफ खोज्छन्। हाम्रो राष्ट्रिय लक्ष्य के हुने? हाम्रो विदेश नीति के हो? भारतसँग हाम्रो सम्बन्ध के हो? चीनसँग हाम्रो सम्बन्ध के हो? लगायत अन्य पश्चिमेली तथा युरोपेली मुलुकसँग हाम्रो सम्बन्ध के हो?
हाम्रो सुख र समृद्धिको सुचक पूरा गर्नका लागि हाम्रा नीतिहरु, योजनाहरु, कार्यक्रम बजेटको स्थिरता र स्थायित्व के हुने? पूर्ण रोजगारी कहिले ल्याउने हो? कृषि उन्मुख रोजगार कहिले प्रत्याभूत गर्ने? लगायतका सवाल अवश्य उठ्छन्।
मुलुक अनौठो घुम्तीमा छ। नेपालको विकास मोडल कस्तो बनाउने भन्ने नै स्पष्ट छैन। ४६ सालयता भनुँ या बहुदलपछि अहिलेसम्म भनेपनि हुन्छ, सत्ता गठबन्धन बनाउन, भत्काउन तथा गठबन्धन जोगाउन, सत्ता टिकाउन मात्रै दलहरू व्यस्त छन्। व्यस्थाका नाममा थुप्रै आन्दोलनहरुले सफलता नपाएका होइनन र व्यवस्थाहरु पनि नआएका होइनन्।
जुन व्यवस्था भएपनि देश र जनताको विकास गर्ने साँचो कहिले खुल्छ? यस प्रकारका आम धारणाले राजनीतिक नेता र हामीले अवलम्बन गरेको प्रणालीका नेतृत्वप्रति ज्यादै नकारात्मक सोच छ जनमानसमा। हाम्रो समाजमा लामो समयसम्म पनि राजनीतिमा व्यतित भएर पनि देशले आफ्नो गन्तव्य तय गर्न नसक्दा पनि कसैले औँला उठाउन नसक्नु जनतामा राजनीतिक चेतनाको अभावले गर्दा हो।
अन्त्यमा, क्रान्ति शब्दलाई धेरैजसोले हिंसात्मक रुपले परिवर्तन भन्ने अर्थमा लिने गरेको देखिन्छ। तर, क्रान्तिको अर्थ उल्टाउनु वा पल्टाउनु हो। पुरानो ढंगको व्यस्थामा ठूलो परिवर्तन आउनु वा हेरफेर हुनु नै क्रान्ति हो। त्यो हेरफेरको क्रान्ति नेपाली जनतामा आउन जरुरी छ। ठूलो पंक्तिको कार्यकर्ता तहमा र आम जनतामा राजनीतिक चेतनाको क्रान्ति आवश्यक र अनिवार्यता रहेको छ। राजनीति उत्पादनको विधा हुनुपर्छ। आर्थिक परिस्थिति राजनीतिको जग बन्नुपर्छ।