राम मन्दिरको प्राण प्रतिष्ठा हुन ११ दिन बाँकी रहँदा त्यसका एकजना प्रमुख ‘कर्ता’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विशेष अनुष्ठान’ को प्रण गरे।
एउटा लामो भिडियो सन्देशमा उनले अयोध्या, राम र सिङ्गो भारत अनि भारतवासीलाई ‘रामभक्त’का रुपमा पुकारेका छन्।
‘आध्यात्मिक यात्राका केही तपस्वी आत्माहरू अनि महापुरुषहरूले मलाई जुन मार्गदर्शन गरेका छन्, उनीहरूले जो धार्मिक नियमहरू सिकाएका छन्, त्यहीअनुसार मैले आजदेखि ११ दिनको विशेष अनुष्ठान सुरु गर्नेछु’, मोदीले भनेका छन्, ‘चराचर सृष्टीको त्यो चैतन्य पल…, आध्यात्मिक अनुभूतिको त्यो अवसर, गर्भगृहमा त्यो पल के नहोला र? साथीहरू त्यो पवित्र पलको त म साक्षी बन्ने नै छु। तर मेरो मनमा, मेरो हृदयको हरेक स्पन्दनमा १४० करोड भारतीय मसँगै हुनेछन्। तपाईं मेरो साथमा हुनुहुनेछ। हरेक रामभक्त मेरो साथमा हुनेछ…।’
मोदीले यो विशेष ‘अनुष्ठान’का लागि आफूलाई कठोररुपमा धार्मिक आचरणमा बाँध्ने प्रण पनि गरेका छन्। प्राण प्रतिष्ठा हुनुभन्दा ११ दिनअघिदेखि उनले अन्न खान छोडेका छन्। फलाहारमात्रै गरिरहेका छन्।
दुई दिनअघि त्यो ‘व्रत’ अझ कठोर हुनेछ। कम्तीमा यी दुई रातहरू सकभर मोदीले निराहार र जाग्राम बसेरै बिताउनेछन्। नभए उनी आफ्नो सुविधा सम्पन्न विस्तरामा सुत्ने छैनन्।
पिर्का वा चटकीहरूमा बसेरै उनले रात कटाउनेछन्। त्यो क्रममा उनले सामान्य खालका कम्बलहरूमात्रै ओढ्नेछन्।
यो प्राण प्रतिष्ठालाई उनले आफ्नो राजनीतिक, धार्मिक र आध्यात्मिक जीवनकै सबैभन्दा अमूल्य अनि ‘सौभाग्य’को क्षण भनेका छन्।
अयोध्याको राम मन्दिर बनिरहेको छ। निर्माणको अन्तिम चरणमा रहेको यो मन्दिरमा ‘भगवान’ रामको भव्य मूर्ति स्थापनाका लागि यही जनवरी २२ मा ‘प्राण प्रतिष्ठा’ हुनेछ।
त्यो प्राण प्रतिष्ठाको एउटा मुख्य कर्ता हुन्, मोदी। जसले ११ दिने विशेष प्रतिष्ठाको सुरुवात नासिक धाम-पञ्चवटीको पूजाअर्चनाबाट सुरु गरेका थिए। नासिक धाम भगवान रामले लामो समय बिताएको धामका रुपमा चिनिन्छ।
अयोध्या, राम मन्दिर र भारतको राजनीति
मोदीका आलोचक तथा भारतीय सरकारका विपक्षी राजनीतिक दलका कतिपय नेताहरूले अयोध्या र राम मन्दिरलाई मोदीले आफ्नो राजनीतिको ‘चुनावी ब्रान्ड एम्बास्डर’ बनाउन खोजेको आरोप लगाएका छन्।
२०२४ भारतका लागि चुनावी वर्ष हो। जहाँबाट भारतमा नयाँ सरकारको बाटो तय हुनेछ। र, चुनावी बतास चलिरहँदा मोदीले राम मन्दिरको ‘प्राण प्रतिष्ठा’लाई आफ्नै राजनीतिक ‘प्राण’सँग गाँसेका छन्।
त्यो प्राण प्रतिष्ठामा भारत र विश्वभरिका लाखौँ मानिस सहभागी हुने भनिएको छ। देश-विदेशका हजारौँ मानिसलाई निम्त्याइएको यो समारोहमा भारतकै कतिपय राजनीतिक दल र नेताहरू भने सहभागी नहुने भनेका छन्।
कतिपय धार्मिक ‘गुरु’हरूले समेत त्यो समारोहमा सहभागी नहुने घोषणा गरिरहँदा भने त्यो ‘प्राण प्रतिष्ठा’ विवादित पनि बनेको छ।
खासगरी भारतका चर्चित धार्मिक गुरु ‘शंकराचार्य’हरूले त्यो समारोहबारे केही विवादास्पद अभिव्यक्ति दिएका छन् र संकल्प अनि प्राण प्रतिष्ठाको धार्मिक प्रक्रियामाथि गम्भीर प्रश्नहरू उठाएका छन्।
हिन्दु धर्ममा ‘शंकराचार्य’ सबैभन्दा सर्वोच्च पद हो। अर्थात् हिन्दु समुदायमा शंकराचार्य नै सर्वोच्च धार्मिक गुरु मानिन्छन्।
हिन्दु धर्मका प्रमुख मानिने चार ‘मठ’हरूको नेतृत्व अहिले चारजना शंकराचार्यले गरिरहेका छन्। कर्नाटकको श्रृङ्गेरी मठमा शंकराचार्य भारतीतीर्थ महाराज, ओडिसाको गोवर्द्धन मठमा शंकराचार्य निश्चलानन्द सरस्वती महाराज, उत्तराखण्डको ज्योर्तिमठमा शंकराचार्य अविमुक्तेश्वरानन्द र गुजरातको द्वारकास्थित शारदा मठमा शंकराचार्य सदानन्द महाराजले नेतृत्व गरिरहेका छन्।
संस्थापक आदि गुरु शंकराचार्यले हिन्दु धर्मको रक्षा र प्रचार प्रसारका लागि यी मठहरू बनाएका थिए। हिन्दु धर्मको दार्शनिक व्याख्या र विश्लेषणका लागि अहिले पनि आदि शंकराचार्य अमर छन्।
जीवित यी शंकराचार्यहरू आफूलाई हिन्दु धर्मको सर्वोच्च अगुवा मान्दछन् र हिन्दु अनुयायीहरूले पनि उनीहरूलाई मान्दछन्।
तर अहिले भगवान रामको प्राण प्रतिष्ठान समारोहमा यी गुरुहरूले आफ्नो सहभागिता नजनाउने भनेपछि अहिले भारतका हिन्दु समुदायमा एकखालको तरंग उत्पन्न भएको छ।
यद्यपि उनीहरूले त्यहाँ जान चाहने कुनै पनि हिन्दु आस्थावानहरूलाई नजान भनेका छैनन्। त्यो प्राण प्रतिष्ठा समारोहको उनीहरूले विरोध पनि गरेका छैनन्। तर धार्मिक र शास्त्रीय विधिको पालनाबारे उनीहरूले शास्त्रीय प्रश्नहरू उठाएका छन्।
यी शंकराचार्यहरूका अनुसार यो प्राण प्रतिष्ठामा शास्त्रीय विधिको पालना भएको छैन। सबैभन्दा पहिला त मन्दिरको निर्माण पूरा नहुँदै प्राण प्रतिष्ठा हुँदैन र प्राण प्रतिष्ठाको लागि छनोट गरिएका ‘मुख्य कर्ता’ अर्थात् प्रधानमन्त्री मोदीलाई पनि उनीहरूले अस्वीकार गरेका छन्।
तथापि मोदीको धार्मिक आस्था र उनको आध्यात्मिक जीवन शैलीको भने उनीहरूले प्रशंसा पनि गरेका छन्।
प्राण प्रतिष्ठा समारोहबारे एउटा बहसमा शंकराचार्य सरस्वती महाराजले भनेका थिए ‘मोदीजीले भगवान रामको प्राण प्रतिष्ठा गर्नेछन् अनि हामी शंकराचार्य के ताली बजाएर बस्नु…!’
यसको अर्थ शंकराचार्यहरूको ‘सर्वोच्चता’ अस्वीकार गरिएको छ र त्यस्तोमा आफूहरू जानुको अर्थ छैन भन्ने हो। उनको अभिव्यक्तिपछि मोदीका अनुयायीहरूले विरोध गरेका थिए।
शंकराचार्यहरूबाहेक अरुले पनि यो प्राण प्रतिष्ठा र मोदीको ‘कर्ता’युक्त भूमिकाको विरोध गरेका छन्। कतिपय राजनीतिक पार्टी र नेताहरूले यो समारोहलाई हतियार बनाएर अयोध्या र राम मन्दिरलाई बीजेपीको ‘राजनीतिक एजेन्डा’ बनाएको भन्दै आलोचना गरेका छन्।
राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको भन्दै भारतीय राष्ट्रिय कंग्रेसले त्यो समारोहमा पार्टीको आधिकारिक उपस्थिति नहुने प्रस्ट पारेको छ। राम जन्मभूमि तीर्थ क्षेत्रले भारतीय राष्ट्रिय कंग्रेसकी नेता सोनिया गान्धीलाई समारोहमा उपस्थित हुन निम्तो दिएको थियो।
‘करोडौँ भारतीयले भगवान रामलाई पूजा गर्छन्। तर भारतीय जनता पार्टी र आरएसएसले राम मन्दिरलाई आफ्नो राजनीतिक परियोजना बनाएको छ’, कंग्रेसले त्यो निमन्त्रणाको जवाफ स्पष्ट पार्न निकालेको विज्ञप्तिमा भनेको छ, ‘आधामात्रै निर्माण भएको यो मन्दिर चुनावी फाइदा उठाउनका लागिमात्रै उद्घाटन भइरहेको छ।’
नेपालको सम्बन्ध र चासो
अयोध्या नेपालको पनि धार्मिक समुदायसँग गाँसिएको भूमि हो। यसको सिधा सम्बन्ध भगवान राम र जानकी (सीता)सँग गाँसिएको छ।
जानकी भूमि जनकपुर र राम भूमि अयोध्याको यो साइनो धर्मले मात्रै नभएर वैवाहिक साइनोले पनि गाँसिएको छ।
हरेक वर्ष विवाह पञ्चमीमा ‘जन्ती’ लिएर जनकपुर आउने अयोध्या होस् चाहे ‘शुभकार्य’हरूमा ‘कोसेली’ पठाउने जनकपुर। यो साइनो नेपाल-भारत सम्बन्धमा अर्को एउटा आयाम पनि हो।
राम मन्दिरकै लागि महिनौँअघि कालीगण्डकीबाट लगिएका विशाल शिला होऊन्, वा प्राण प्रतिष्ठामा जनकपुरले सीताको ‘ससुराल’ पठाएका कोसेलीहरू दुई देश र नागरिकबीचको यो धार्मिक साइनो यतिबेला फेरि चर्चामा आउन थालेको छ।
पाँच सय वर्ष पुरानो इतिहास बोकेको अयोध्याको राम मन्दिरको यो आधुनिक ‘प्राण-प्रतिष्ठा’मा नेपालका धेरै धार्मिक अगुवाहरू उत्साहित पनि भएका छन्।
त्यसका लागि हिन्दु धर्ममा आस्था राख्ने हजारौँ नेपाली अहिले अयोध्या पुगिसकेका छन्। उनीहरू स्वतस्फूर्त त्यहाँ पुगेका हुन्। त्योबाहेक आयोजकले औपचारिक रुपमा पनि केही नेपालीलाई निम्तो पठाएको छ। यद्यपि त्यसको आधिकारिक विवरणहरू अहिलेसम्म छैनन्।
अयोध्या र राम मन्दिरको इतिहास
अयोध्याको राम मन्दिरको इतिहास पछ्याउँदै जाँदा लगभग साढे पाँच सय वर्षअघिको ऐतिहासिक पानाहरूमा पुग्नुपर्छ। यी पनि त्यति प्रस्ट छैनन्।
तर मुगल शासकहरूबारे लेखिएका कतिपय दस्तावेजहरूले त्यहाँ ‘मन्दिर-मस्जिद’को विवाद र त्यसले निम्त्याएको रक्तपातहरू पनि बिम्बित गरेका छन्।
लिखित र अलिखित इतिहास अनि इतिहासकारहरूका अनुसार सन् १५२८ तिर अयोध्यामा हिन्दु समुदायहरूले भगवान रामको जन्म भएको भनिरहेको स्थानमा मस्जिद बनाइएको थियो।
त्योबेला भारतमा मुगल शासन थियो। त्यसको लगभग ३२० वर्षपछि त्यहाँ धार्मिक विवादहरू उत्पन्न हुन थालेका थिए। मुगल शासक बाबरको आदेशमा त्यहाँको राम मन्दिर भत्काएर ‘बाबरी मस्जिद’ बनाइएको कथन र ऐतिहासिक दस्तावेजहरूले केही हदसम्म प्रस्ट पारेका छन्।
सन् १८५३ तिर त्यहाँ धेरै धार्मिक हिंसाहरू भएको र कैयौँ मानिस मारिएका घटनाहरू इतिहासकारहरूले उल्लेख गरेका छन्।
ब्रिटिस साम्राज्य विस्तार हुँदै गर्दा १९औँ शताब्दीको मध्यतिरमात्रै मुगल शासनको अन्त्य भएको थियो। तर त्यसअघि ब्रिटिस शासकहरूले नै सन् १८५९ तिर त्यो क्षेत्रलाई तारबार गरेका थिए। त्योबेला भित्रतिर मुस्लिमहरूले ‘प्रार्थना’ गर्थे र बाहिरतिर हिन्दुहरूलाई पूजा गर्ने अनुमति दिइएको थियो।
१९औँ शताब्दीको आधातिर आइपुग्दा बाबरी मस्जिदभरि भगवान रामका केही मूर्ति र तिनका अवशेषहरू फेला परेको इतिहास छ। मुस्लिम समुदायले त्यहाँ रामका कुनै अवशेषहरू नभएको तर हिन्दु समुदायले जानजान त्यहाँ लगेर ती अवेशेषहरू राखेको आरोप लगाएका थिए।
यो विवाद चर्किँदै गर्दा सन् १९४९ तिर दुवै समुदायले स्थानीय अदालतमा मुद्दा हालेका थिए। विवाद सुल्झिन नसकेपछि त्यसबेला सरकारले नै त्यो पूरै क्षेत्र घेरिएको मुख्य द्वार बन्द गरिदिएको थियो।
त्यसको करिब ४ दशकपछि हिन्दु समुदायले रामभूमिलाई ‘मुक्ति’ गर्न भन्दै एउटा स्वतन्त्र समिति बनाएका थिए। विश्व हिन्दु परिषदको पहलमा बनेको त्यो समितिको नेतृत्व भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीले गरेका थिए।
ढोका लगाएको पाँच दशकपछि सन् १९८६ तिर जिल्ला अदालतले विवादित मस्जिदको ढोका खोलेर हिन्दु समुदायलाई पूजा गर्ने अनुमति दिएसँग फेरि धार्मिक दंगाहरू फैलिन थाले। संघर्षका लागि मुस्लिम समुदायले पनि समूहहरू बनाएको थियो।
कट्टर हिन्दुवादी समूहले मस्जिदसँगैको जमिनमा ‘राम मन्दिर’ बनाउने भन्दै त्यसको जग खन्नसमेत सुरु गरिसकेको थियो। त्यो बेला पनि हिंसा भड्कियो।
१९औं शताब्दीको अन्त्यतिर अर्थात ९०को दशकको सुरुवातमा भारतका धेरै ठाउँमा धार्मिक दंगाहरू फैलिए त्यसमा कम्तीमा पनि २ हजारभन्दा धेरै मानिस मारिएका थिए।
खासगरी सन् १९९२ मा हिन्दु समुदायका एउटा ठुलो समूहले त्यहाँ रहेको मस्जिदहरू ‘ध्वस्त’ पारेको बनाइदिएको थियो।
त्यसको करिब ६ वर्षपछि भारतीय जनता पार्टीले अलट बिहारी वाजपेयीको नेतृत्वमा गठबन्धन सरकार बनाएपछि राजनीतिसँगै भारतमा धार्मिक दंगा र हिंसाले पनि झन उग्र रुपमा लियो।
हिन्दु समुदायले जसरी पनि मन्दिर बनाएरै छोड्ने भनेर अभियान चलाउन थालेपछि त्यहाँ दुवै समुदायका मानिस ठूलो संख्यामा जम्ममा भएका थिए।
सन् २००२ को फेब्रुअरीमा अयोध्याबाट फर्किरहेका हिन्दु समुदायका मानिस चढेको रेलमा मुस्लिम समुदायले आगो लगाइदिएका थिए। त्योबेला कम्तीमा ५८ जना मानिस मारिएका थिए।
त्यो रेलकाण्डपछि भारतभरि धार्मिक दंगा थामिनसक्नुभएको थियो। हजारौँ मानिस मारिएको यो दंगा नियन्त्रणका लागि अनेकन राजनीतिक र धार्मिक प्रयासहरू भए पनि विवाद साम्य भएको थिएन।
सन् २००२को अप्रिलतिर भारतीय उच्च अदालतका तीन जना न्यायाधीशले त्यसको स्वामित्वका बारेमा फैसला सुनाउन फेरि सुनुवाइ गर्ने घोषणा गरेका थिए। त्यसपछि विवाद अलि साम्य भयो। र, दुवै समुदाय अदालती फैसलाको पर्खाइमा रहे।
करिब १७ वर्षपछि २०१९ को नोभेम्बरमा भारतको सर्वोच्च अदालतले विवादित त्यो भूमिमा राम मन्दिर बनाउने बाटो खुला गरिदियो। र, २०२० को अगस्ट ५ मा तोकिएकै स्थानमा भगवान रामको ‘भव्य’ मन्दिर बनाउनका लागि ‘आधारशीला’ राखियो।
यसको मुख्य ‘कर्ता’ पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै थिए, जसले आफ्नो दोस्रो कार्यकालको अझ भव्य सुरुवात गर्दै थिए।
चार वर्षपछि त्यो ‘भव्य’ मन्दिरमा भगवान रामको ‘प्राण प्रतिष्ठा’ गर्दा पनि मोदीले पूरै भारतलाई ‘राममय’ बनाइदिएका छन्।
र, यतिबेला उनी तेस्रोपटक प्रधानमन्त्री बन्ने अझ तीब्र दौडमा छन्।