नेपालको कानुनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुलाई बालविवाह भनिन्छ। कानुनमा बालविवाह गर्न नपाइने व्यवस्था गरिएको छ।
बालविवाहसम्बन्धी कानुनी व्यवस्था नेपालको संविधान २०७२ र अन्य कानुनहरूबाट निर्धारित छ। नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हित र संरक्षणको लागि विशेष प्रावधान गरिएको छ। नेपालको कानुन बमोजिम बालबालिका दुवैको लागि २० वर्ष पुग्नुलाई विवाहको उपयुक्त उमेर मानिन्छ।
मुलुकी अपराध संहिता २०७४ ले बालविवाहलाई विवाहसम्बन्धी कसुर मानेको छ र बालविवाह स्वतः बदर हुने उल्लेख छ। बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको कसुर मानेको छ।
साथै बालविवाह गरे/गराएमा दण्डनीय हुने र पीडितले कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ।
कानुनमा बालविवाह गर्न नपाइने, बालविवाह गर्ने गराउनेलाईसमेत दण्ड हुने व्यवस्था भएपनि नेपालमा बालबालविवाह रोकिएको छैन। कलिलो उमेर, खेलौँ, रमाउँ भन्ने समयमा आमा बने अवस्थामा बालिका छन्। आफ्नो जीवनकालमा आमा बन्नु र बन्न पाउनु आफैँमा गर्वको विषय हो। तर उमेर नपुगी कुनै पनि अवस्थामा आमा बन्नु भनेको जिम्मेवारीको बोझले थिचिएको र बाल अधिकारको हनन् हुनु हो।
उमेर नपुगी विवाह गर्ने, विवाह गर्न बाध्य पार्नु, आमा बन्नु र आमा बनाउन बाध्य पार्नु कानुनको सही परिपालना गर्न र गराउन नसकी एउटी बालिकालाई जीवनको अत्यन्तै मीठो अनुभवमा पुर्याउनु हो। राज्यले निर्माण गरेको विवाहसम्बन्धी कानुनविपरीत सामाजिक कुसंस्कारको बाध्यकारी बन्धनको सिकार बनाउनु हो। एक अबोध बालिकालाई आफूविरुद्ध संघर्षपूर्ण जीवन बिताउन प्रेरित गर्नु हो।
शारीरिक र मानसिक रुपमा परिपक्व नभइ विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हो। तर आज राज्यका कैयौँ ठाउँमा कानुनविपरीत विवाह गराई/गरी विवाहसम्बन्धी कानुनको उल्लंघन गरी/गराई आपराधिक कार्य घटित नै भइरहेका छन्।
वास्तवमा आमा बन्नु आफैँमा कठिन र चुनौतीपूर्ण कार्य हो। त्यसैमा विवाह र बच्चा जन्माउने उमेरबारे जानकारी गराउन र व्यवहारमा लागू गराउन नसक्दाको परिणाम आज २० वर्षभन्दा कम उमेरका किशोरीहरू देशका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा आमाका रुपमा भेटिन्छन्।
अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुको साटो अन्धकारमय हुने अनुभव र अनुमान सानो उमेरमा विवाह गरेर पछुताएका आमाहरू भेट्न सकिन्छ। राज्यले कल्पना गरी निर्माण गरेको कानुन राज्यका दूर र ग्रामीण भेगमा पुग्न सकेको छैन।
राज्यको नीति र कानुन एकातिर छन् भने हाम्रो समाज र परिवेश अर्कातिर। हाम्रो समाज र वस्तुस्थितिले कल्पना गरेको सोच र परिवेशले निर्माण गरेका कानुनहरू वास्तविक धरातलभन्दा भिन्न रहेको छ। कानुन बन्ने भनेकै समाज, सामाजिक अवस्था र परिवेशलाई आँकलन गरी निर्माण गरिन्छ।
तर कानुन समय सापेक्ष र सामाजिक परिवेशअनुसार हुनुपर्नेमा आज कानुन निर्माणमा सामाजिक पाटोको अध्ययन र अनुसन्धान नगरी/नगराई विवाहसम्बन्धी कानुनको निर्माण भएको अवस्था छ। कम उमेरमा विवाह हुँदा सबैभन्दा बढी यसको असर प्रजनन् स्वास्थ्यमा पर्ने गर्छ।
हामीकहाँ विवाह हुनेबित्तिकै बच्चा जन्माउने चलन रही आएको छ। किशोरावस्थामा आमाहरूको पाठेघर बच्चा जन्माउनका लागि तयार भइसकेकै हुँदैन, जसले गर्दा बच्चा कम तौलको वा महिना नपुगी जन्मिनुका साथै पाठेघर झर्ने जस्ता समस्या हुन्छन्। आमा र बच्चाको मृत्युसम्म हुने जोखिम रहन्छ भनी गाउँसम्म सचेत पार्न सकिएको देखिँदैन।
कानुनको सिद्दान्त भनेको कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने हो। तर हामी यस्तो समाज र परिवेशमा छौँ, जहाँ आम मानिसले कानुनका सम्बन्धमा जानकारीसमेत पाउन सकेको अवस्था हुँदैन। हाम्रो सामाजिक सोच, सामाजिक अभ्यास नबुझिएको साथै बुझ्न नसकिने कानुनबीचको भिन्नताले आज दिन-प्रतिदिन बालविवाह भइरहेका छन्।
आज एकातर्फ हाम्रो राज्यको कानुन छ भने अर्कातर्फ हाम्रो समाज अनि भिन्न सामाजिक सोचसँग संघर्ष गरिरहेका ग्रामीण भेग अनि जिल्लाहरू। त्यसैमध्ये एक जिल्ला हो, डोल्पा।
डोल्पा जिल्लामा २० वर्षभन्दा कम उमेरका आमाहरू भेट्न कठिन छैन। यस जिल्लामा रहेको डोल्पा जिल्ला अदालतमा दर्ता भएका कुल मुद्दा संख्यामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएको छ। जिल्ला अदालतमा दर्ता भएको फिरादी र विपक्षीको उमेर तथा परिवेश हेर्दा विवाह गर्दाको अपरिपक्वताका कारण हाल मनमुटाब भइ सम्बन्ध विच्छेदसम्मको अवस्था सृजना भएको सहजै आँकलन गर्न सकिन्छ।
डोल्पाको जिल्ला अस्पताल जाँदा २० वर्षभन्दा कम उमेरका किशोरी आमाहरू र किशोरी गर्भवती भेट्न पनि कठिन छैन। आर्थिक वर्ष २०७९/०८० मा अन्दाजी ८० देखि ८५ जना र यो आर्थिक वर्ष लागू भएयता २२ जना गर्भवती किशोरीहरूले यस जिल्ला अस्पतालमा कुनै एक समयमा गर्भ जाँच गर्न आएको तथ्यांक छ। आज पनि २० वर्षभन्दा कम उमेरका आमाहरू र अविवाहित किशोरीहरू अस्पतालमा आउनु सामान्य हो।
डोल्पा जिल्ला अस्पतालमा कार्यरत एक चिकित्सकले भने, ‘१६ वर्षकी एक किशोरी आफ्नी सासुसँग सुत्केरी हुन अस्पताल आउँदा सामान्य रुपमा सुत्केरी हुन सक्ने अवस्था थिएन र अप्रेशन गर्नुपर्ने थियो। अप्रेशन गर्दा आवश्यक पर्ने सहमति लिन हामी अन्यौलमा पर्यौँ। १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमति लिँदा उनको संरक्षक साथमा हुनुपर्छ तर संरक्षकको परिभाषा कानुनमा भिन्न छ। यहाँ सासुलाई संरक्षक मान्नुपर्ने बाध्यता हामीसँग आइपुग्यो। अनि सोच्न बाध्य हुनुपर्छ, १६ वर्षको उमेरमा बच्चा जन्माउन तयार भएकी आमालाई कसरी तिमीले दिएको सहमति हामी मान्दैनौँ र कानुनले मान्दैन भन्ने हामी अन्योलमा पर्छौँ।’
त्यस्तै अर्का चिकित्सकले भने, ‘केही महिना पहिले त्रिपुरासुन्दरी नगरपालिकाकी कुनै एउटा वडामा बस्ने एक गर्भवतीलाई ३५ हप्ता अघिदेखि अस्पताल पुर्याइएको थियो। ती गर्भावस्थाकी उनकाे उक्त दिनसम्म कुनै पनि प्रकारको जाँच गराइएको थिएन। अनि ती गर्भवतीको वास्तविक उमेर सोध्दा साथमा आएकी सासुले २२ वर्ष भनिन्, हामीले पत्याउन नसकेपछि ती किशोरीलाई सोध्दा तिनको उमेर मात्र १७ वर्षको रहेछ। साथै निजको नजिकै निर्दोष आँखाले टोलाइरहेका गर्भवतीका १५ वर्षका पति भएको कुरा थाहा पाउँदा हामी सबै मौन भयौँ।’
यही केसमा उहाँले थप्नुभयो- ‘निजको उपचार डोल्पा जिल्ला अस्पतालमा सम्भव भएन। निजलाई हामीले तत्काल थप उपचारको लागि नेपालगन्ज रेफर गर्यौँ। तर उनी अस्पतालभन्दा देउताले निको पार्न सक्छन् भनी देउता हेराउन गएको कुरो अस्पतालले जानकारी पायो। उनलाई पुन: ३८ हप्तामा अस्पताल ल्याइयो। अफसोच त्यो अवस्था निकै कहाली लाग्दो र जटिल थियो। राष्ट्रपति महिला उद्दार कार्यक्रमअन्तर्गत निजलाई तत्काल हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत प्रादेशिक अस्पताल पठाइयो। तर अर्को दिन आमा र बच्चा दुवैले ज्यान गुमाएकाे खबर सुन्नुपर्यो। हामी स्तब्ध भयौँ।’
चिकित्सकका अनुसार यसरी उमेर नै नपुगी विवाह गरेका आमाहरूले अकालमा ज्यान गुमाउनुपर्ने वास्तविकता रहेको छ, डोल्पामा। साथै बाबुआमाको सहमति लिँदा निकै नै जटिलता उत्पन्न हुने र उमेर नपुगी विवाह गरेका जोडीको उपचारका क्रममा कुनै निर्णय माग्दा निकै कठिन परिस्थिति सिर्जना हुने गरेको अवस्था छ।
माथि उल्लेखित वास्तविक घटना त एक-दुई विवाहित बालिका आमाहरूका वास्तविक कथा र व्यथाका प्रतिनिधि घटनामात्र हुन्। यहाँ पछिल्लो समय विद्यालय पढ्ने स-साना नानी(किशोरीहरू) अस्पतालमा महिनावारी रोकियो, तल्लो पेट दुखेर आएको, किशोरीहरूलाई चेकजाँच गर्दा गर्भवती भएको कुरा भनी अचम्म लाग्न छोडिसक्यो।
उनीहरूको अनुहारमा कुनै पनि डर, त्राश र चिन्ता देखिँदैन। पछिल्लो केही महिना यतादेखि जिल्ला अस्पताल डोल्पामा महिनामा ४–५ जना विद्यालयमा पढ्दै गरेका विवाह अगावै गर्भवती भएर आउने गरेको अवस्थामा वृद्धि भएको देखिन्छ। महिनावारी रोकिएको केही समयपछि परामर्श लिन आएका किशोरीहरूलाई यो गर्भ कसरी रह्यो भनी सोध्दा मेरो केटा साथीको बच्चा हो भनी सामान्य जवाफ दिने गरेको अवस्था छ।
कोही भने ‘गर्भ बसिसके छ, कसैलाई थाहा नहोस्, अब के गरौँ? यो गर्भ फाल्ने औषधि दिनुहोस्’ भनेर माग्ने गरेको अवस्था छ। यहाँ समस्या जसरी जुन रुपमा आए पनि स्कुल पढ्ने अवस्थाका बालिकाहरू गर्भवती बन्नु हो। विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका बालिकाहरू गर्भवती हुनु भनेको हाम्रो सामाजिक अवस्था, प्रजनन् स्वास्थ्य चेतनामा कमी र कति समाज आफैँले सिर्जना गरेको परिधिको परिणामभन्दा फरक नपर्ला।
एउटा १४ वर्षकी नाबालिका आमासँग चेक गराउन अस्पताल आउँदा उनको पेटमा १० हप्ताको गर्भ देखिन्छ। जाँच गर्नुपूर्व सोध्दा पेट दुखेर आएको मात्र भन्छिन्। आमा पनि हो भन्दै आफ्नो सहमतिको टाउको हल्लाइरहेको देखिन्छ। तर पछि जब उनलाई गर्भको बारेमा जानकारी गराइन्छ, तब दुवै आमा-छोरी रुन थाल्छन्।
विद्यालय स्तरमा अध्ययनरत छात्रा गर्भवती कसरी बन्न पुगिन् भन्ने विषय गम्भीर बन्न जान्छ। डोल्पामा प्रजनन् स्वास्थ्य, कानुन र न्यायका थुप्रै समस्या छन् भन्न हामी सहजै सक्छौँ। आज बनाइएका र पढाउँदै गरेका किताबका पानाहरूमा बालबालिकाले जान्न र बुझ्नुपर्ने थुप्रै व्यवहारिक ज्ञानको कमी छ।
समाजको पहरेदारका रुपमा स्थापना गरिएका सामाजिक संघसंस्थाहरूको कमी डोल्पामा खड्किरहेको छ। सामाजिक स्तरमा कमै रहेको अवस्था डोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूको अनुपात, अभियोग र जाहेरीको व्यहोराबाट खुलेको अवस्था देखिन्छ। आज डोल्पा जिल्लामा बालविवाहको अवस्था जटिल रहेको यथार्थ डोल्पा जिल्ला अस्पतालबाट लिएको तथ्यांकबाट हामीले सहजै आँकलन गर्न सक्छौँ।
बालविवाह अन्त्य गर्न सरकार र सामाजिक संघसंस्थाले कैयौँ आर्थिक रकम खर्च गरिरहँदा यता दुर्गम साविक कर्णालीका ग्रामीण भेगमा हरेक दिन बालविवाहको घटना भइरहेका छन्। बालविवाह अन्त्यका लागि सरकारले लिएको लक्ष्य हासिल गर्न सरकार आफैँमा मात्र सक्षम हुने हैन। सोका लागि डोल्पाको स्थानीय सरकार, राजनैतिक नेतृत्व, सामाजिक संघ संस्थाले बेलैमा सोच्न र कार्य योजना बनाउन आवश्यक छ।
कक्षाकोठा, घर, समाजमा खुलेर जबसम्म आवश्यक स्वास्थ्य शिक्षा, कानुनी ज्ञान र परिणामको बारेमा जानकारी गराउन सकिँदैन, तबसम्म अफेयर र प्रेमका नाममा घटेका बालविवाहका घटना दिन प्रतिदिन घट्नुको साटो बढ्ने नै छन्। यसमा सबै निकाय तत्पर भइ लाग्न आवश्यक रहेको छ। अहिलेका बालिकाहरू नदेखिने पीडामा गुज्रिरहेका छन्। यसलाई हामी हिंसा भन्न सक्ने अवस्थामा छैनौँ।
(लेखक अधिवक्ता हुन्)