१७ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरलाई निकालियो

बिएल संवाददाता

नयाँ दिल्ली
REUTERS

१७ दिनदेखि उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको जनाएको छ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन्।

उनीहरूको उद्धार सुरु भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको बीबीसीले जनाएकाे छ।

सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको थियो।

उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक-एक गर्दै निकालेका थिए। नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ।

गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको उक्त राज्यका मुख्यमन्त्रीले बताएका थिए।

प्रकाशित मिति: : 2023-11-29 05:50:00

प्रतिकृया दिनुहोस्