सुवेदीका फार्ममा फल्याे एक किलो ६४ ग्रामकाे ड्रागन फ्रूट

भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ। यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए।

आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, 'एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो। निकै खुसी छु। योभन्दा पनि ठूलो अर्काे फल पाक्न लागेको छ। आवश्यक मलजल र स्याहार पुर्याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ।'

सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीन वर्ष यतादेखि ड्रागन फलको खेती गर्दै आएका छन्। यस वर्षका हालसम्म रू आठ लाख बराबरको बिक्री गरिसकेको उनले जानकारी दिए। फल फल्नेक्रम जारी रहेको भन्दै उनले यस वर्ष फल र बिरुवा गरेर रू २० लाखको बिक्री गर्ने योजना रहेको बताए।

'यस वर्ष रू सात–आठ लाखको बिरुवा पनि बिक्री गर्ने योजनामा छु। भाँचिएका हाँगासमेत उपयोग गरेर बिरुवा तयार गर्न सकिन्छ', सुवेदीले भने, 'मेहनत गर्यो भने एक वर्षमा एक हेक्टर जमिनमा रू २० लाखको ड्रागन बेच्न सकिन्छ । यसबाट रू आठ लाख हाराहारी बचत हुन्छ।'

गत वर्ष रू १६ लाखको ड्रागन फल र बिरुवा बिक्री गरेको उनले बताए। 

पहिलो वर्ष पाँच/छ महिनापछि नै उत्पादन लिन थालेको बताउँदै सुवेदीले अहिले ड्रागन लगाएको ठाउँमा सयपत्री फूल, बदाम, भटमाससमेत लगाएको बताए। 'यसै महिनादेखि जिरा पनि लगाउँदै छु। नेपालमा बर्सेनि रू २७ अर्बको जिरा आयात हुन्छ', उनले भने।

सुवेदीले फार्ममा उत्पादन भएको ड्रागनलाई प्रतिकिलो रू चार सयदेखि छ सयसम्ममा आकारका आधारमा बिक्री गर्दै आएका छन्। व्यावसायिकरुपमा काम गर्न सरकारी अनुदान प्राप्त भएको सुवेदीले बताए।

झण्डै रू ६० लाख लगानी गरेको जनाउँदै उनले रू १५ लाख अनुदान पाएको बताए। योसँगै रू छ लाख बराबरको सरकारी निकायबाट बोरिङ राखिएको उनको भनाइ थियो।

आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ। बिरुवा उत्पादनदेखि बिक्रीसम्म उनले गरिरहेका छन्।

रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उनले व्यावसायिक कृषि गरेर यही सम्भव छ भन्ने देखाएका छन्।

सुवेदीले मलेसियाबाट एक हजार, भियतनामबाट दुई हजार र भारतको राजस्थानबाट दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती सुरु गरेको जानकारी दिए।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिमजस्ता मानव जीवनमा आवश्यक प्रशोधित सामग्रीको उत्पादन हुने गरेको उनले बताए।

उनले यस खेतीमा एकपटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताए।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेषगरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ।

यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरालगायतका सहरमा पुग्ने गरेको छ। सुवेदीले उद्योग सङ्घको शनिबारे हाटबजार र फार्मबाटै बिक्री गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2023-11-27 16:46:00

प्रतिकृया दिनुहोस्