भ्रष्टाचारको आरोपपछि पोर्चुगलका प्रधानमन्त्रीद्वारा राजीनामा

Photo: theguardian.com
Photo: theguardian.com

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले भ्रष्टाचार गरेको आरोप लागेपछि पदबाट राजिनामा दिएका छन्। 

ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोप लागेपछि उनले मंगलबार राजिनामा दिएका हुन्। 

‘प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन,’ राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, ‘यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु।’ 

यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए। त्यसपछि सरकारी अभियोजकहरूले पूर्वाधार मन्त्री जोआओ गलाम्बालाई दोषी ठहर गर्दै कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए।

सरकारी वकिलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानमा कोषको दुरुपयोग, राजनीतिक व्यक्तित्वहरूद्वारा सक्रिय र निष्क्रिय भ्रष्टाचार र प्रभाव फैलाउने आरोप लागेको छ।’ 

पार्चुगलको सोसलिस्ट पार्टीबाट कोस्टा सन् २०१५ को अन्त्यदेखि सरकारको कार्यकारी नेतृत्वमा छन् भने उनी सन् २०२२ को जनवरीमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए। 
 

प्रकाशित मिति: : 2023-11-07 22:13:00

प्रतिकृया दिनुहोस्