सन् १९७८ ‘दिवाली’को माहोल थियो। भारतको हरियाणा। हरेक घरहरूमा दिवालीका लागि सरसफाइ चल्दै थियो। ७ वर्षका दीपचन्दको नजर घरको भित्तामा झुन्डिएको एक तस्बिरमा गयो। धुलाम्मे त्यो तस्बिरलाई पुछ्दा उनले बर्दीमा सजिएका एक मान्छे देखे।
ती थिए- सुभाषचन्द्र बोस!
सुभाषचन्द्रको तस्बिर देखेर लोभिएका दीपचन्दले आफूलाई पनि त्यस्तै फौजी बर्दीमा सजिएको कल्पिन थाले। र, फोटो देखाउँदै सुभाषचन्द्रको बारेमा हजुरबा-आमासँग सोधिखोजी गर्न थाले।
नातीको जिज्ञासा सुनेर हजुरबा-आमाले पनि उनलाई सुभाषचन्द्रको कथा सुनाइरहन्थे। हजुरबाकै मुखबाट सुनेको सुभाषचन्द्र बोसको एउटा शब्दले उनको दिमाग धेरै पछिसम्म हल्लाइरह्यो-
‘तुम मुझे खुन दो, मैं तुम्हें आजादी दुङ्गा!’
त्यो शब्दमा के जादू थियो कुन्नि! दीपचन्दले सेनामा भर्ती हुने मन पक्का बनाए। भविष्यमा सेना बनेर देशको सेवा गर्ने उनको निर्णयलाई दीपचन्दले घरमा सुनाए। तर, सबैजना उनको निर्णयको खिलाफ थिए, हजुरबा-आमा बाहेक।
दीपचन्दका बुबा चाहँदैन थिए, घरको जेठो छोरा दीपचन्द फौजी बनोस्। बुबाको चिन्ता थियो, छोरा फौजमा लाग्यो भने उनको लास पनि घर फर्किँदैन। बुबाको त्यो पीर पनि जायज नै थियो। त्योबेला युद्धमा होमिएका सैनिकहरूको न सास भेटिन्थ्यो न लास। मात्रै उनीहरू ‘सहिद’ हुन्थे।
तर, दीपचन्दले सोचिसकेका थिए, ‘बन्छु मात्र देशको सुपुत्र।’
घरको जेठो छोरो पढेर अफिस सर बनोस् भन्ने पिताको ठुलो रहर थियो तर उनले सेनामा भर्ती हुनका लागि फाराम भरे।
हेर्दै खाइलाग्दो र जेहेनदार देखिन्थे दीपचन्द। त्यसैले उनी शारीरिक, मेडिकल र फिटनेस परीक्षणमा सफल भएपछि सन् १९८९ सालमा मिसाइल रेजिमेन्टमा भर्ती भए।
१८ वर्षको उमेरमा सेनामा भर्ती भएका दीपचन्द उनको परिवारबाट पहिलो पटक सैनिकमा जागिरे भएका थिए। उनीभन्दा पहिलो कोही सेनामा आवद्ध थिएनन्। परिवारको सहमतिबिना नै सेनामा भर्ती भएका दीपचन्द आफूलाई भर्तीमा देख्न पाउँदा निकै खुसी थिए।
सन् १९९३ बित्दै थियो। गोलाबारुदको तालिम पूरा गरे।
१९९७ ताका आतंकवादीहरूले कश्मीर उपत्यकामा आफ्नो पाइला फैलाउँदै थिए। त्यहीबेला उनको बटालियनलाई श्रीनगर जाने आदेश आयो।
कश्मीरको सुन्दरतालाई उनले फिल्ममा देखेका थिए। तर, प्रत्येक्ष देख्दा उनी आफैँ लोभिए। ‘काश्मीर वास्तवमै स्वर्गै थियो’, सुस्केरा हाल्दै उनी सुनाउँछन्।
एउटा मिशनमा कश्मीर छिरेका उनले त्यहाँ मानिसहरूसँग घुलमिल हुन ‘भाषाको कोर्श’ गरे। र, कैयौं महिना उनले ‘खुफिया विभाग’मा काम गरे। त्यहीँ बसेर दीपचन्दको टोलीले सात जना आतंकवादीलाई मारे।
सयौं युवाहरू आतंकवादीको आदेशमा सेनासँग लडिरहेका थिए, देशविरुद्धको नारा लगाइरहेका थिए। उनीहरूलाई एकपटक मौका दिइयो। जसको नाम थियो, ‘अपरेशन रक्षक’।
कश्मीरमा चलिरहेको अपरेशनको कारण उनी ७–८ महिना घर जान पाएनन्। उनले सोचेका थिए, घर गएर परिवारसँग रमाइलो क्षण बिताउने। तर उनलाई कारगिल पठाइयो।
कारगिल युद्ध
एक २२ वर्षीय युवक। जवानीले भरिएको शरीर बन्दुक उठाउन र गोला–बारुदसँग खेल्न आतुर थियो।
कश्मीरमा आतंकवादीलाई मारिएपछि उनी कारगिल युद्धमा होमिए। भारत र इण्डियाबीचको लडाइँ हो, कारगिल युद्ध। जसलाई अपरेशन ‘विजय’को नामले पनि चिनिन्छ।
सन् १९९९ को मई र जुलाईमा भएको युद्ध कश्मीरको करगिल भन्ने ठाउँमा भएको थियो। पाकिस्तानका सैनिकले भारतको जमिनलाई कब्जा गर्ने कोसिस गरेका थिए। त्यहीकारण दुई देशबीच युद्ध सुरू भएको थियो।
त्यो युद्धको सबैभन्दा चुनौती थियो, तोलोलिंङ (पहाड)। तोलोलिंङको त्यो उचाइमा पुग्न सजिलो थिएन। तर, युद्ध जित्ने हुटहुटी लिएका दीपचन्द त्यहाँ पुगेर गोली प्रहार गर्ने पहिलो सैनिक बने।
धमाधम चलिरहेको युद्धमा दीपचन्दले पाकिस्तानी सेनाको अन्धाधुन्ध गोलीबारीमा आफ्नो ज्यान मात्र बचाएनन्। उनले आफ्ना धेरै सहकर्मीहरूलाई पनि जीवितै फिर्ता ल्याए।
तर, उनले युद्धमा आफ्नै एउटा हात र दुवै खुट्टा गुमाए।
कारगिल युद्धमा घाइते भएका उनलाई अस्पताल लगियो। रगताम्य उनको अवस्था देखेर डाक्टरले समेत दीपचन्दलाई मृतक घोषणा गरिदिए। तर, दोस्रो पटकको जाँचमा उनको श्वास चल्न थाल्यो। सोहीअनुसार उनको उपचार भयो। उनलाई १७ बोतल रगत चढाउनु पर्यो। र, कयौं घण्टाको अपरेशनपछि उनको होस फिर्यो। तर, त्योबेला उनले आफ्नो हात र खुट्टा गुमाइसकेका थिए। सग्लो शरीरबाट छुट्टिएको हातखुट्टा भन्दा दीपचन्द आफ्नो साथीहरूलाई गुमाउनुपर्दा दु:खी थिए।
‘कारगिल युद्ध जित्नै लागेका थियौँ। हामीलाई लागिरहेको थियो, दुश्मन सबै जना मरिसके। तर, हामी गलत थियौँ। दुश्मनलाई हामीले कमजोर सोच्यौं। त्यतिबेला दुश्मनहरूले हामीमाथि बम–बारुद बर्सान सुरु गर्यो। त्यही धमाकामा मेरो साथी पर्यो। मेरो अगाडि नै उनको शरीरको टुक्रा कुनै जनावरको मासुजस्तै छरपस्ट भयो। त्यो दृश्य सम्झिएर आज पनि म…’, भावुक हुँदै उनी भन्छन्, ‘युद्धमा हामीले एकअर्कोसँग वाचा गरेका थियौं, जो सहिद हुन्छ। उसको परिवारलाई बाँचिरहेको जानकारी दिनेछ। बर्दी लगाउनु त्यति सजिलो छैन।’
परिवारसँगको त्यो भेट
अस्पतालको बेडमा लम्पसार थिए, दीपचन्द। युद्धमा घाइते भएको कुरा थाहा पाएका परिवार उनलाई भेटन् अस्पताल आए। तर, उनले आफू अपांग भएको कुरा परिवारसँग लुकाए। दीपचन्दले परिवारको अगाडि कैयौं दिन आफूलाई सिरकले ढाके। बहानाबाजी गरिदिए। तर, झुठ धेरै कहाँ टिक्न सक्थ्यो र!
युद्धमा अपांग भएको कुराले उनको परिवारले धेरैपछि थाहा पाए। छोराको अवस्था देखेर भक्कानिएका परिवारसँगै रोए दीपचन्द पनि।
दीपचन्दले हात–खुट्टा गुमाउँदा उनी श्रीमती २१ वर्षकी थिइन्। कलिलो उमेरमै अपांग छोराको अवस्था देखेर निराशिएका बुबाले भन्ने गर्थे, ‘छोरा सेनामा नगएको भए यस्तो हुँदैनथ्यो कि!’
अपांग भएपछि उनी सेवा निवृत्त (रिटायर्ड) भए। ‘कुनै कुर्सी र कार भाँचिएपछि या खराब भएपछि त्यसलाई साइड लगाइन्छ। मेरो जीवनमा पनि त्यस्तै भयो। १२ वर्ष मात्रै देशका लागि लड्न पाएँ’ उनी भन्छन् ‘मेरो यस्तो अवस्था भएपछि मलाई साइड लगाइयो। अर्थात् रिटायर्ड गरिदिए।’
सेनामा लागेर आफ्नो दुबै खुट्टा गुमाएका दीपचन्दको आत्मविश्वास पनि गज्जबै छ। आफ्नो कृत्रिम खुट्टा घुडाबाट छुट्याउँदै उनी भन्छन्, ‘पछिल्लो २० वर्षदेखि म यसरी जीवन बिताइरहेको छु। सुरुमा सोच्ने गरेको थिएँ, किन बाँच्नुरु तर जब म अरुको लागि बाँच्न थालेँ अनि जिन्दगी पहिलेको भन्दा राम्रो हुन थाल्यो।’
दीपचन्दको घरको एक कोठामा ‘वार–मेमोरियल’ का तस्बिरहरू राखिएको छ। जुन तस्बिरमा कारगिलका हिरोहरूलाई कैद गरिएको छ। त्यही युद्धको तस्बिरसँगै छ, उनको विवाहको तस्बिर। त्यो तस्बिरमा उनको सग्लो शरीरमा थियो।
भित्ता झुन्डिएका तस्बिरमा उनी दुई वटै खुट्टामा उभिएका छन्। तर, अब त्यो तस्बिर उनका लागि एकादेशको कथाजस्तै भैदिएको छ।
‘त्यो विवाह भएको दिनलाई कसरी भुल्न सक्छु होला र! नयाँ वैवाहिक जोडीहरूको आ–आफ्नै चाहना हुन्छ तर, मेरो त्यस्तो भएन’, आफ्नो विवाहको तस्बिर देखाउँदै उनले भने, ‘तर, अहिले पनि म आफूलाई फूर्तिलो राख्छु।’
‘आदर्श सैनिक फाउण्डेशन’को स्थापना
सेनाबाट रिटायर्ड भएपछि उनको सबै खर्च औषधि–उपचारमा सक्कियो। तर, तीन सन्तानको पढाइ खर्च पनि उठाउनुपथ्यो। जब दीपचन्दकाे दुर्घटना भयो, त्योबेला उनको एक छोरा डेढ वर्षका थिए।
श्रीमानको त्यस्तो अवस्थापछि श्रीमतीले काम गर्न सुरु गरिन्। र, दीपचन्दले पनि ‘क्यान्टिन’ चलाउन थाले। श्रीमान–श्रीमतीको कमाइले पनि घरको अवस्था सुध्रिन सकेको थिएन। तर, त्यहीबेला अर्को घटना भयो। क्यान्टिनमा आगो लाग्यो। पूरै सामान जलेर खरानी भयो।
आफ्नो आँखा अगाडि कमाइ खाने भाँडो जलिरहँदा त्यही आगोमा झोसिने सोच पनि पलाइरहेको थियो उनमा तर सकेनन्। जीवन उनकोमात्रै थिएन, सिङ्गो परिवार थियो।
आफूले चलाइरहेको क्यान्टिन खरानी भएपछि उनले ‘आदर्श सैनिक फाउण्डेशन’ को स्थापना गरे। सन् २०२१ सालदेखि सञ्चालन भइरहेको त्यही संस्थाबाट उनले युद्धमा सहिद भएकाहरूको परिवार र अंगभंग भएका सैनिकहरूको परिवारलाई आर्थिक रुपमा सहयोग गर्दै आइरहेका छन्।
उनकाअनुसार सेनाबाट रिटायर्ड भएका सैनिकहरूले पेन्सनबाहेक केही पाउँदैनन्। ‘त्यो पैसाले न परिवारको खर्च पुग्छ न त छोराछोरी पढाउन नै। यही कुरा सोचेर संस्था स्थापना भयो। अहिले हामीसँगै त्यस्ता धेरै मानिसहरू छन्, जसले सहिद र घाइते भएका सैनिकहरूको परिवारलाई पाल्न तयार छन्’, सयौं सैनिकहरूको परिवार पाल्न खटिरहेका उनी भन्छन्, ‘यसरी सहयोग गर्न पाउँदा मलाई अहिलेपनि म सेनामै छु जस्तो लाग्छ।’
कुनैबेला शरीरका सग्ला अंगहरूले हलक्क हुँदै युद्धमा होमिएका दीपचन्द अहिले कृत्रिम खुट्टाको सहारामा हिँड्छन्। एउटा हात गुमाएका छन्। तर, उनलाई कुनै पछुतो छैन। बरु उनी त अर्को जन्ममा पनि फेरि एकपटक सैनिक बन्न चाहन्छन्। (दैनिक भाष्करलगायत विभिन्न भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)