‘सभामुख र संविधानसभाको अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ’ गत फागुनमा देशको राष्ट्रपति हुन उम्मेदवार भएका सुवासचन्द्र नेम्वाङले भनेका थिए, ‘त्यही संविधानसभाले पहिलोपटक जनताले लेखेको संविधान जारी गर्यो त्यो एउटा मीठो संयोग थियो।’
राजनीतिक जीवनको अन्तिम पलमा उनी एउटा ‘आलंकारिक’ भूमिकामा रहन चाहन्थे। तर, राजनीतिले त्यो मौका उनलाई दिएन। नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भए।
नेपाली राजनीतिमा एउटा ‘सौम्य’ स्वभाव बाँचेका नेम्वाङको अर्को एउटा सदाबहार परिचय थियो- ‘सभामुख भनेकै सुवास नेम्वाङ।’
उनकै पार्टी तत्कालीन नेकपा (हाल एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्दा उनै सुवासचन्द्र नेम्वाङको खुब खोजी भयो। जसले संविधानसभाको नेतृत्व हुँदा आफूलाई ‘सभामुख’को पर्याय बनाएका नेम्वाङलाई त्यो बेला ओलीले आफ्नो कदमको ‘डिफेन्स’ गर्न लगाए।
२००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङको सुरुवाती जीवनकाल विद्यार्थी राजनीतिसँग सँगै वकालतमा बित्यो।
जीवनका करिब १७ वर्ष उनले राजनीति, वकालत र मास्टरी जीवन बाँचे। २०३५ सालदेखि २०५२ सालसम्म उनले नेपाल ल क्याम्पसमा पढाउँथे।
स्नातक अध्ययनका क्रममा वि.सं. २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए।
वि.सं. २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र, नेकपा (माले)मा सङ्गठित हुँदै एमाले केन्द्रीय न्यायिक समिति सदस्य र हाल एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
वि.सं. २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेतासमेत हुन्।
नेम्वाङ वि.सं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, वि.सं. २०६४ व्यवस्थापिका संसद्को सभामुख, वि.सं. २०६५ एवम् २०७० सालमा संविधानसभाका अध्यक्ष–सभामुख बने।
उनले वि.सं. २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक-पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।
२०५१ सालदेखि अबिराम संदसीय यात्रा चयन गरेका नेम्वाङसँगै काम वकालत गरेका उनका सहपाठी तथा सहकर्मीहरू उच्च र सर्वोच्च अदालतलको न्यायाधीश भइसकेका छन्। तीमध्ये केहीले ‘रिटार्यड’ जीवन बिताइरहेका छन् भने कति अझै कार्यरत छन्।
भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायलगायतसँग मिलेर उनले चलाएको ‘पायोनियर ल एशोसिएट्स’ कुनै बेला वकालतको क्षेत्रमा निकै चर्चित पनि थियो। उपाध्याय २०६७ सालमा सर्वोच्चको न्यायाधीश भए। त्यो बेला नेम्वाङ संविधानसभाका अध्यक्ष थिए। अर्का सहयात्री उप्रेती २०६५ सालमा सर्वोच्चको अस्थायी न्यायाधीश भएका थिए। उनको निधन भइसकेको छ।
नेम्वाङकै ल फर्ममा अभ्यास गरेका मनोज शर्मा पनि सर्वोच्चको न्यायाधीश भए। नेम्वाङले यस्ता दर्जानौँ आफ्ना कानुन व्यवसायी सहकर्मीहरूलाई न्यायाधीश बनाइसकेका छन्।
सौम्य सुवासको शान्त प्रस्थान
मंगलबार बिहानपख ह्रृदयघात भएपछि उनलाई परिवार र सहयोगीले शिक्षण अस्पताल महाराजगञ्ज लगेका थिए।
अस्पताल पुगेलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरे। अस्पताल नपुग्दै उनले प्राण त्याग गरिसकेका थिए।
दुई पटक संविधानसभाको अध्यक्ष र पाँच पटक प्रतिनिधिसभाको सभामुख भएका नेम्वाङ हाल एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेतासमेत हुन्।
उनको निधनको खबरपछि बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका राजनीतिक दलका नेताहरू अस्पताल पुगेका थिए।
नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफू निकै मर्माहत र स्तब्ध भएको बताएका छन्।
‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु’ राष्ट्रपति पौडेलले भनेका छन्।
उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मर्माहत भएको बताएका छन्।
‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु’, उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आत्मीय मित्र गुमाएको बताएका छन्। उनी संविधानसभाको अध्यक्ष हुँदा भट्टराई प्रधानमन्त्री थिए। अन्तिममा संविधान जारी हुन नसकेको र म्याद थप्न कानुनी अप्ठ्यारो भएपछि भट्टराईले पहिलो संविधानसभा विघटन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएका थिए।
दोस्रो संविधानसभाको निर्वाचन (२०७०) सालपछि फेरि नेम्वाङ नै अध्यक्ष भए। २०७२ सालमा उनकै नेतृत्वमा संविधासभाले नेपालको संविधान जारी गर्यो।
‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु’ भट्टराईले भनेका छन्, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु। उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना !’
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेम्वाङको राजनीतिक योगदानलाई देशले सधैँ सम्झिरहने बताएका छन्।
‘अत्यन्तै सालिन र नम्र नेता सुवास नेम्वाङको निधनले स्तब्ध र दुखित तुल्याएको छ’, उनले भनेका छन्, ‘संविधानसभाको सभामुखका रुपमा संविधान निर्माणका समयमा उहाँले निभाउनु भएको महत्त्वपूर्ण भूमिका देशले सदैव सम्मानसाथ स्मरण गरिरहने छl’