तेल अभिभमा इरिट्रियाका प्रदर्शनकारी र इजरायली प्रहरीबीच झडप, एक सय जनाभन्दा बढी घाइते

तेल अभिभमा शनिबार इरिट्रियाका प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा परी १०० भन्दा बढी घाइते भएका इजरायली आपतकालीन सेवाहरूले बताएका छन्।

इरिट्रियाली दूतावासले आयोजना गर्न लागेको कार्यक्रममा प्रदर्शन गर्न एक क्लब नजिकै भेला भएका इरिट्रियाली सरकारका समर्थक र विपक्षीबीच बिहान झडप भएको हो। 

झडप तीव्र गतिमा बढ्यो र केही प्रदर्शनकारीहरू हस्तक्षेप गर्न आएका इजरायली प्रहरी बलको विरोधमा उत्रे।    सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको फुटेजमा उक्त घटना क्लब नजिकै भएको देखिएको छ, जहाँ कार्यक्रमस्थलको झ्याल फुटेको थियो र प्रहरीका कार र स्टोरहरूमा तोडफोड गरिएको थियो।

“हिंसा र अशान्ति रोक्नका लागि तेल अभिभ क्षेत्रमा व्यापक प्रहरी बल तैनाद गरीएको छ,” प्रहरीले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ। 

इजरायली सञ्चारमाध्यमका अनुसार हिंसा रोक्नका लागि ‘लाइभ फायरिङ’ र ‘स्टन ग्रेनेड’को प्रयोग गरिएको थियो। 

 प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि सडकमा शान्ति बहाली भइरहेको र हिंसामा करिब ३० जना प्रहरी अधिकारी घाइते भएको जनाइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्थितिको बारेमा नियमित जानकारी लिँदै राष्ट्रिय सुरक्षा मन्त्री र प्रहरी आयुक्तलाई ‘सार्वजनिक व्यवस्था बहाल गर्न काम गर्न’ निर्देशन दिनुभएको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2023-09-03 05:49:00

प्रतिकृया दिनुहोस्