कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गत आर्थिक वर्ष २०७८/०७९ सम्म साढे ७ करोड बेरुजु पुगिसक्यो। गत आवमा मात्रै २ करोड ६७ लाख बेरुजु थपिएको छ। त्यसमध्ये २८ लाख ३३ हजार रुपैयाँ असुल गर्नुपर्ने खालको छ।
बर्सेनि बेरुजुको सिलिङ थपिँदै गएपछि स्थानीयहरुले पालिकाको ध्यानाकर्षण गराएका छन्। स्थानीय कृष्णप्रसाद अधिकारीले प्रश्न गरे, ‘जब योजनामा कार्यालयले मागेका सबै कागजपत्र पुर्याएर मात्रै रकम भुक्तानी हुन्छ भने बेरुजु रकम कसरी रहन्छ ? कुन कारणले बेरुजु रह्यो? उपभोक्ताका कारणले हो कि, कर्मचारीका कारणले हो?’
उनले पालिकाले बजेट खर्च गर्न नसकेर फ्रिज भएको तथा बैंकमा मौज्दात रहेको रकमबारे पनि आलोचना गरेका छन्। ‘३ करोड ९९ लाख किन फिर्ता भयो? ७ करोड रुपैयाँ बैंकमा मौज्दात राखेर ब्याज खान खोजेको हो?,’ उनले थपे, ‘टोलटोलबाट आएका योजना कार्यान्वयन गर्न पैसा छैन भन्ने अनि भएको पैसा खर्च गर्न नसकेर फिर्ता जाने? यो सुहाएन।’
गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा अर्का स्थानीय केदारनाथ पौडेलले श्रमदान जुटाउनुपर्ने बाध्यताका कारण कतिपय योजनामा गुणस्तरीय काम हुन नसकेको गुनासो गरे।
जवाफमा प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बेरुजु सुशासनको प्रमुख सुचक भएकोले नियन्त्रणमा आफूहरु निरन्तर लागिरहेको बताए।
‘बेरुजु धेरै हुनुमा पालिकासँगै उपभोक्ताको पनि उत्तिकै दोष छ। तपाईंहरुको कागजात नमिलेर भुक्तानी गैसकेको रकममा पनि बेरुजु देखिएको छ,’ उनले भने, ‘केही रकम संघ र प्रदेशले ढिलो पठाएर हतारमा काम गर्नुपर्दा पनि थपिएको छ। मुख्यतयः प्राविधिक समस्याका कारण बढी बेरुजु आएको छ।’
यद्यपी बेरुजु फस्र्यौटमा पालिका आक्रामक भएर लागेको अधिकारीको भनाई छ। उनले बैंकमा मौज्दात रहने विषय खासै चिन्ताजनक नरहेको सुनाए।
‘हाम्रा केही कोषहरु छन्। जस्तै विपद कोषको रकम लामो समय बैंकमै राख्नुपर्छ। योजनाका बजेटहरु पनि भुक्तानी नहुँदासम्म बैंकमै रहन्छ,’ उनले भने, ‘आगामी वर्ष छिटो योजना कार्यान्वयन गर्छौं। योजनाको काम छिटो भए बैंकमा पैसा राख्नुपर्दैन।’
कार्यक्रममा अर्का स्थानीय प्रज्ज्वल क्षेत्रीले एक्यापका कारण भोग्नुपरेका समस्या सुनाए। ‘खोला, नदीका ढुंगा–गिटी–बालुवा चोरी निकासी भैरहेको छ। टेण्डर निकालेर आम्दानी गर्न एक्यापले बाटो छेक्छ। मर्दी खुमै क्षेत्रमा होटल रेष्टुरेण्ट बनुनजेल कोही बोल्दैनन्, अहिले पर्यटक आउन थालेपछि होटल बन्द गर्ने भनेर चेतावनी आउँछ,’ उनले भने, ‘टुसाको अनियन्त्रित व्यापारका कारण वनमा निँगालो पाउनै समस्या हुन थालेको छ। यसमा चाहिँ एक्यापले केही वास्ता गर्दैन। अलि गम्भीर हुनुपर्यो, दुख दिने नियत हटाउनुपर्यो।’
एक्याप पोखराका प्रमुख चिरन्जीवि पोखरेलले नेपाल सरकारले नै बनाएका ऐन कानुनअनुसार आफूहरु चलेका कारण कसैलाई दुख दिने नियत नरहेको प्रष्ट्याए। उनले एक्याप र स्थानीय सरकारबीचको द्वन्द्व न्यूनीकरण गर्न आफूहरु पनि निरन्तर लागेको बताए।
‘हामीले एउटा दिग्दर्शन बनाएर पठाएका छौं। केही समयमै एक्याप प्रभावित पालिकाहरुसँग एउटा मिटिङ पनि बस्छौं,’ उनले भने, ‘हामी तपाईंहरुलाई दुख दिन होइन, सहजीकरण गर्न आएका हौं। परेका समस्याहरु सबै पक्षको पहलले मात्रै समाधान हुन्छन्।’
शिव भण्डारीले अनुगमन खर्च बढी भएको गुनासो गरे। अधिकांशले हेमजादेखि पालिका सीमानासम्म जोड्ने सडकले दिएको दुखबारे प्रश्न गरेका थिए। बर्खाका बेला सानो पानी पर्नेबित्तिकै माथिबाट लेदो खसेर बाटो पुर्ने र आउजाउमा समस्या हुने गरेको उनीहरुको दुखेसो छ।
गुनासो सम्बोधन गर्दै पालिका अध्यक्ष मिनबहादुर गुरुङले वैकल्पिक व्यवस्थाका लागि पहल भैरहेको बताए। ‘सेती दोभानमा पुल हालेर वैकल्पिक बाटोको खोजीमा हामी छौं। प्रदेश र संघ सरकारसँग प्रस्ताव गरिसकेका छौं,’ उनले भने।
सहभागी भुपेन्द्र कुवँरले एन्फा एकेडेमी निर्माण हुन नसकेको, पालिका स्तरीय १५ शैय्याको अस्पताल बन्न नसकेको, खोलामा मनपरी क्रसर चल्दा पनि नियमन नभएको लगायत प्रश्न गरे। अध्यक्ष गुरुङले एन्फा एकेडेमीका लागि अन्तिम पटक तुरुन्तै बैठक बस्ने बताए।
‘काठमाडौं गएर तुरुन्तै निर्णायक बैठक बस्छु। काम हुँदैन भने वैकल्पिक विषयमा सोचौंला,’ उनी भन्छन्। पालिका अस्पताल पनि ठाउँको विवादले रोकिएको तर चालू वर्षमा ३० लाख विनियोजन भएकोले निर्माण सुरु गर्ने बताए। क्रसर नियन्त्रण गर्न आफूहरुको क्षेत्राधिकार भित्र नपर्ने भएकोले चुपचाप हेरेर बस्नुपरेको उनको भनाई छ।
यस्तै, योजना अनुगमन, बजार अनुगमन लगायत विषयमा नागरिकहरुको बढी चासो छ। दीलिप रानाभाटले विद्यालय शिक्षा गुणस्तरीय हुन नसकेको बताए।
उपाध्यक्ष सीता अधिकारीले अनुगमन समयमै भएकोले विगत वर्षभन्दा गत वर्ष गुणस्तरीय काम भएको बताइन्। ‘पहिले के भएको थियो त्यता नजाऔं। गत वर्ष निकै धेरै अनुगमन गरेका छौँ। योजनाको गुणस्तर बढेको छ,’ उनले भने, ‘पहिले जस्तो बेरुजु रकम पनि आउँदैन। प्रश्न उठाउने गरी काम गर्न दिएका छैनौं।’
उनले उपभोक्ता समितिलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी छिन्। समितिले ठेकेदार मार्फत काम गराउने गुनासो आएको भन्दै उनले भनिन्, ‘ठेकेदारबाट काम गर्न समिति चाहिँदैन। हामी नै टेण्डर निकालेर गर्न सक्छौं। समितिमा बसेपछि समितिले नै काम गर्नुस्।’
कार्यक्रममा वडाध्यक्ष हरिबहादुर क्षेत्रीले शिक्षा सुधारका लागि पालिका सबैभन्दा बढी गम्भीर भएको सुनाए। उनले स्थानीय पाठ्यक्रम निर्माणदेखि शैक्षिक गुरुयोजना निर्माण गरिसकेकोले त्यसको कार्यान्वयन सुरु भएको बताए।