एनआरएनए यूएईलाई हिसाब मिलाउन ताकेता

File Photo
File Photo

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईलाई चलचित्र विकास बोर्डले चेतावनीपूर्ण पत्र काटेको छ।

गत १२–१५ फेब्रुअरीसम्म यूएईको दुबईमा चलेको ‘नेपाल्स् फिल्म फेस्ट’को हिसाब मिलान नगरेको भन्दै बोर्डले संघलाई चेतावनीपूर्ण पत्र काटेको हो।

गत फेब्रुवरीमा बोर्डले विवादित कम्पनी सूर्य कर्पोरेशनसँगको सहकार्यमा दुबईमा ‘नेपाल्स् फिल्म फेस्ट’ आयोजना गरेको थियो। बोर्डले दुबईमा स्थानीय व्यवस्थापनको जिम्मा भने एनआरएनए यूएईलाई दिएको थियो।

बोर्डका अध्यक्ष भुवन केसी र एनआरएनए यूएईका अध्यक्ष ठाकुर ढुंगानाबीच ५ बुँदे सहमति भएको थियो। नेपालबाट यूएई पुगेका कलाकारलाई स्वागत–सत्कार, यातायात तथा अन्य व्यवस्थापन एनआरएनए यूएईले गर्नुपर्ने सहमति भएको थियो।

फेस्टिवलको टिकट बेच्ने तथा स्थानीय प्रयोजक जुटाउने जिम्मा एनआरएनए यूएईको थियो। जसबाट संकलन भएको रकमबाट स्थानीय व्यवस्थापनमा भएको खर्च काटेर ९० प्रतिशत एनआरएनए यूएईको श्रमिक राहत तथा उद्धार कोषमा राख्ने र बाँकी १० प्रतिशत बोर्डको चलचित्रकर्मी कोषमा राख्ने सम्झौता भएको थियो।

बोर्डले यही सहमति कार्यान्वयन नभएको भन्दै एनआरएनए यूएईका अध्यक्ष ठाकुर ढुंगानालाई पत्र काटेर तीन दिनभित्र हिसाब उपलब्ध गराउन ताकेता गरेको हो।

बोर्डका एक कर्मचारीका अनुसार एनआरएनए यूएईले अहिलेसम्म कार्यक्रमको हिसाब बोर्डलाई उपलब्ध गराएको छैन। ‘मौखिक रुपमा बारम्बार भनेका थियौँ। उहाँहरुले टेर्नु भएन। यता बोर्डमा हामीले सवै विवरण सार्वजानिक गर्नुपर्नेहुन्छ,’ उनले भने, ‘अब अन्तिम मौका दिएका हौँ।’

बोर्डका अध्यक्ष केसीले काटेको पत्रमा अख्तियार दुरुपयोग आयोगलाई बोधार्थ दिइएको छ। फेस्टिवलमा भएको स्थानीय खर्च र आम्दानीको प्रमाणसहित चुस्त हिसाब नबुझाए एनआरएनए यूएईविरुद्ध अख्तियारमा मुद्दा दर्ता गर्ने तयारी बोर्डको छ।

प्रकाशित मिति: : 2023-07-12 12:14:00

प्रतिकृया दिनुहोस्