सत्ता गठबन्धनकाे निष्कर्ष- प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन

सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएकाे ७ दलको बैठकले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको हाे।

बैठकले प्रमुख प्रतिपक्ष नेकपा(एमाले) लगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा(एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पोण्डेले जानकारी दिए।

‘प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ। तर, उहाँहरु (प्रतिपक्षी) ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ’, उनले भने।

सामाजिक कुरीतिका रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्षले पीडितको विरुद्ध उभिएको निष्कर्षसमेत बैठकले गरेको छ।

प्रकाशित मिति: : 2023-07-06 11:54:00

प्रतिकृया दिनुहोस्