रामेछापको लिखु तामाकोशी– २ घर भएकी शीला गौतम चाबहिलको गणेशथान नजिकै डेरामा बस्छिन्। उनले चाबहिलकै ट्रेजर बचत तथा ऋण सहकारी संस्था लि.मा एक वर्ष बजार प्रतिनिधिको काम गरिन्। पेटमा बच्चा बोकेर सहकारीको पैसा उठाउन दिनभर गल्ली–गल्ली हिँडेकी उनी अहिले त्यही सहकारीको बदमासीको कारण दुधे बच्चा (१४ महिनाको) काखमा च्यापेर आफैंले काम गरेको सहकारीको ढोका कुर्न बाध्य छिन्।
शीलाले २०७७ पुस ७ गतेबाट ट्रेजर सहकारीमा बजार प्रतिनिधिको रुपमा काम सुरु गरेकी थिइन्। उनी कम्पनीले अर्याएरअनुसार चाबहिल, बौद्ध, जोरपाटी, नयाँवस्तीलगायत क्षेत्रका गल्ली–गल्लीमा रहेका पसल तथा कार्यालयहरुमा पुगेर बचतकर्ताको पैसा उठाउने काम गर्थिन्।
उनले काम सुरु गरेको समयमा ट्रेजर सहकारी राम्रो थियो। त्यसमा कारोबार गर्ने मानिसहरु खुसी थिए। बचतको पैसा पनि राम्रै उठ्थ्यो। शीला एक्लैले सामान्य पसलहरुका बचतकर्ताबाट दैनिक एक लाख बढी रकम जम्मा गर्थिन्।
बजार प्रतिनिधिको काम नै त्यस्तै घाम/पानी, जाडो/गर्मी, धुँवा/धुलो नभनि दिनभरि सडकमा पैतला खियाउनु पर्थ्यो। त्यसबापत शीलाले जम्मा १५ हजार तलब र केही सेवा सुविधा पाउँथिन्। तर, पनि उनले त्यहाँ खुसी–खुसीका साथ आफ्नो जिम्मेवारी पूरा गरिरहिन्।
शीलाका श्रीमान रोजगारीको लागि संयुक्त राज्य इमिरेड्स (युएई) गए। यता उनले सहकारीको कामलाई निरन्तरता दिइरहिन्। त्यसबेला उनको पेटमा बच्चा हुर्किरहेको थियो। गर्भमा बच्चा हुर्किरहेका बेला उनी त्यसरी काममा घोट्टिरहन नपर्ने हो तर उनको मनले मानेन सुन्दर भविष्यको कल्पना गर्दै पेटमा बच्चा बोकेर गल्ली–गल्लीमा गरुङ्गा पाइला चालिरहिन्।
उता, युएईमा रोजगार गरिहेका श्रीमानको पनि कमाइ राम्रो थियो। यता, शीलाले पनि खर्च कटाएर पैसा बचत गरिरहेकी थिइन्। उनले आफ्नो कमाइको ३ लाख बढी रकम आफैंले काम गरिरहेको सहकारीमा बचत गरेर राखेकी थिइन्।
उनले ट्रेजरका सञ्चालक जीवन श्रेष्ठको सल्लाहमा श्रीमानले दुबईमा पसिना बगाई कमाएर जम्मा गरी राखेको पैसा पनि दुई पटक गरी ट्रेजरमा नै जम्मा गरिन्।
सञ्चालक जीवन श्रेष्ठ
सञ्चालक श्रेष्ठले शीलालाई आफूसँग भएको सबै पैसा यही सहकारीमा राखे राम्रो ब्याज दिने भनेर विश्वस्त बनाएका थिए। आफैंले काम गरिहेको कम्पनीमै राम्रो ब्याज पाइने भएपछि उनले श्रीमानसँग सल्लाह गरी ग्लोबल आइएमई बैंकमा बचत गरेर राखेको साढे ६ लाख पैसा पनि यतै लिएर फिक्स्ट डिपोजिट (तोकिएकाो ब्याजदरमा तोकिए समय अवधिसम्म) गरिन्। यसरी सबै गरेर ट्रेजर सहकारीमा शीलाको साढे १७ लाख रकम जम्मा भइसकेको थियो।
पेटको बच्चा ठुलो हुँदै गयो। बच्चाले धर्तीमा पाइला टेक्ने दिन नजिकिँदै जाँदा शरीरलाई कन्ट्रोल गर्न नसक्ने अवस्थामा पुगेपछि शीलाले कामबाट बिदा लिइन्।
२०७८ पुसमा शीलाको बच्चा जन्मियो।
त्यसपछि शीला एकैचोटी २०७९ मा आफूले बचत गरेको पैसाबारे बुझ्न सहकारी पुगिन्। सहकारीको ढोकामा पुगेपछि उनी झसङ् भइन्। सहकारी ६ महिना अगाडि देखि नै बन्द भइसकेको थियो।
‘म सहकारीमा पुग्छु त ताल्चा मारिएको छ, अरु बचतकर्ताहरु पनि सहकारी भाग्यो, पैसा डुब्यो भनेर रोहिरहेका छन्,’ शीलाले रुन्दै बिएल नेपाली सेवासँग भनिन्। सुरुमा त उनलाई ‘यति राम्रो सहकारी कसरी भाग्न सक्छ होला र ?’ भन्ने लागेको थियो तर जब त्यहाँ अरु बचतकर्ताहरु पनि आएर रुन थाले त्यसपछि उनी छाङ्गाबाट खसेझै भइन्। सहकारीको ढोकामा ढल्नैलाग्दा उनलाई र बच्चालाई अरुले सम्हाले।
‘ब्याजभन्दा पनि म आफैं काम गर्ने ठाँउ थियो। मलाई थाहा थियो कि अरु सहकारी बिग्रिए पनि यो बिग्रिदैन भनेर। तर, कहाँ हुन्छ र सोचेको जस्तो, यो सहकारी पनि डुबेर भाग्यो,’ शीलाले भनिन्।
सहकारी डुबेको थाहा पाएपछि उनलाई तनाव भयो,– अब श्रीमानले के भन्ने हुन्, घर/ व्यवहार कसरी चलाउने हो ?
उनी दुधे बच्चा काखमा च्यापेर घरि महानगर सहकारी विभाग त घरि सहकारी रहेको ठाउँमा पुगिन्। महानगरले पनि बेवास्ता गरेपछि उनी महानगरीय प्रहरी वृत्त, गौशाला पुगिन्।
गौशाला प्रहरीले पनि शीलालाई सान्त्वना दिएन। ‘यस्ता घटना त यहाँ कति आउँछन कति जान्छन्’ भन्ने आशयको जवाफ दियो। ‘सहकारी विभाग गएँ, त्यहाँका कर्मचारीले गुनासो सुन्नै खोजेनन्, पछि गौशाला प्रहरीमा पनि गएँ, त्यहाँ त झन नराम्रो व्यवहार गरे। निकै दुःख लाग्यो घर फर्किएँ,’ शीलाले गुनासो पोखिन्।
‘प्रहरीले हामीलाई साथ दिनुको साटो उनीहरुकै पक्षमा बोलिरहेको छ। केही प्रहरीहरु त के उनीहरुले मान्छे मारेको हो ? कि बलात्कार गरेको हो र ? भनेर थर्काउछन्। के मान्छे मारेको वा बलात्कार गरेकोलाई मात्र समात्ने हो र प्रहरीले,’ उनले अगाडि प्रश्न गरिन्।
शीला अहिले दिनहुँ बच्चा काखमा च्यापेर सहकारी धाइरहेकी छन्। सहकारीको ढोकामा लगाइएको ताल्चामा खिया लाग्न लागिसकेको छ, कोही कर्मचारी कार्यालय आउँदैनन्, कुनै पनि सञ्चालकको फोन लाग्दैन, कार्यालयको ल्यानलाइन नम्बर ०१–५९०६०१४, ०१–५९०६०१५ मा कल गर्दा एक्कोहोरो भनिरहन्छ,– ‘यो नम्बरमा आगमन कल निषेध गरिएको छ’।
शीलाजस्ता अरु पीडितहरु पनि दिनहुँ यहाँ आइरहन्छन्।
अहिले त शीलालाई सहकारीमा धाउन पनि गाह्रो भइरहेको छ। दुधे बच्चा घरमा छाडेर कसरी हिँड्ने ? बाकेर न्यायको खोजीमा चिच्याइरहन उस्तै अप्ठ्यारो।
यसबारे प्रहरी बुझ्न खोज्दा गौशाला प्रहरी केही जानकारी नै नभएको जस्तो जवाफ दिन्छ। यता, सहकारी विभागका प्रवक्ता टोलप्रसाद उपाध्याय सो सहकारीका सञ्चालकहरुमाथि निगरानी गरिरहेको जानकारी दिनुबाहेक अरु कुनै उत्तर दिन सक्दैनन्।
वि.सं. २०६४ सालमा दर्ता भएको यो सहकारीमा अहिले कति जना बचतकर्ताको रकम फसेको छ भन्ने स्पष्ट तथ्यांक उपलब्ध हुन सकेको छैन। यद्यपि, ट्रेजरमा करिब २० जना बचतकर्ताको २ करोड बढी रकम डुबेको हुनसक्ने अनुमान सहकारीको ढोकामा आइरहने पीडितहरु गर्छन।
यी हुन्, ट्रेजर बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरु: