‘शिक्षा र शैक्षिक प्रक्रियाको कुनै वर्ग हुँदैन’

सुनिता लामा

काठमाडौं
BreaknLinks
BreaknLinks

शिक्षा र शैक्षिक प्रक्रियाको कुनै वर्ग नै हुँदैन। शिक्षा दिने शिक्षण संस्थालाई निजी, सरकारी वा सामुदायिक भनेर छुट्टयाइएको मात्र हो। उनीहरुले दिने शिक्षा, उदेश्य र लक्ष्य एउटै हो। संस्थाको प्रकार, प्रकृति, प्रविधि र परिधिमा भिन्नता हुन सक्छ तर शिक्षा वा शैक्षिक प्रक्रियाको कुनै पनि वर्ग विभेद हुँदैन।

शिक्षालाई कस्तो व्यक्तिले कस्तो ठाउँमा कसरी, कसलाई दिइरहेको छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्दछ। यसको साथै शिक्षा लिने व्यक्तिको पृष्ठभूमि, संस्कार, आचरण वा प्रवृत्तिले पनि उसको शैक्षिक ग्रहण क्षमताको मापदण्ड निर्धारण गर्दछ। त्यसैले शिक्षण संस्थाको वर्गीकरणलाई लिएर वादविवाद, प्रतिस्पर्धा र कटाक्ष गर्नुभन्दा अकाट्य सत्य कुरालाई नै ध्यानमा राखेर सबैले आ-आफ्नो तहबाट जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै जानु पर्दछ। यसो हुन सकेमा लक्ष्य र उदेश्य प्राप्त हुन कुनै कठिनाइ हुँदैन।

वर्तमान अवस्थाको शैक्षिक परिदृश्यलाई यसरी नजिकबाट नियालिरहेका उनले नेपालको शैक्षिक क्षेत्रको नक्षत्रमा करिब डेढ दशकभन्दा बढी समय बिताइसकेका छन्। शैक्षिक संस्थाप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्दै जानुपर्छ र नयाँ पुस्ताले यसलाई सम्हाल्ने हो भने नेपालमा एउटा शैक्षिक क्रान्तिको सुरुवात नै हुनेछ भन्ने सन्तुलित विचारका धनी श्यामकृष्ण लामिछानेलाई आजको बिएल अन्तरंगभित्र समेट्ने जमर्को गरिएको छ।

हेर्दा शान्त, सौम्य, पातलो शरीर, शिरमा ढलक्क ढल्केको ढाका टोपी अनि मुस्कानसहितको उनको सेवा, स्पष्ट वक्ता र निडर स्वभाव यही नै हो उनको पहिचान। हेर्दा गम्भिर देखिए पनि उनी बाल्यकालमा भने चञ्चल स्वभावका थिए। त्यसो त परिवारमा सबैभन्दा कान्छो छोरो उनै थिए। करिब डेढ दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय श्यामकृष्ण लामिछानेको जन्म वि.स. २०३४ भाद्र २० गते बूढानीलकण्ठ नगरपालिका-२ भंगालमा माता सुभद्रा तथा पिता ऋषिराम लामिछानेका पाँच सन्तानमध्ये कान्छो सन्तानको रुपमा भएको हो।

काठकाडाैँकै एक विकसित स्थानमा जन्मिएतापनि श्यामकृष्णको परिवार कृषि र कर्मकाण्डिय पेशामा संलग्न थियो। आफूभन्दा माथिका चार जना दाजुहरु र आमाबुवाको माया, स्नेह र मार्गदर्शनअनुसार उनले आफ्नो पढाइ र जीवनको यात्रालाई अगाडि बढाइरहे। ‘बुवाआमाले सधैँ शिक्षामा जोड दिनुहुन्थ्यो र दाजुहरुको पनि पढाइ राम्रो भएकोले मेरो पनि पढाइमा रुचि थियो’, उनी भन्छन्।

घर नजिकै रहेको श्री गणेश माविबाट वि.स. २०५१ सालमा एसएलसी उत्तीर्ण हुँदासम्म पनि जीवनमा कुनै ठोस उदेश्य नराखेका श्यामकृष्णलाई सामाजिक कार्यमा भने रुचि थियो। त्यतिबेला निजी क्याम्पसहरुको जन्म त्यति भैसकेको थिएन। उनले रत्नराज्य क्याम्पसमा आइएमा अर्थशास्त्र र जनसंख्या विषय लिएर अध्ययन गरे।

स्नातकसम्मको अध्ययनपश्चात वि.स. २०६३ सालमा स्नातकोत्तर सकिएपछि बूढानीलकण्ठस्थित बूढानीलकण्ठ माविमा जनसंख्या विषयको अध्यापन गर्न थालेका उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। भर्खर मात्र उच्च मावि तहको अध्यापन सुरु गरेको उक्त विद्यालयमा विषय शिक्षकको रुपमा प्रवेश गरेका श्यामकृष्ण क्याम्पसको उच्च शिक्षा संयोजक हुँदै वि.स. २०६५ सालमा स्नातक तहसम्मको अध्यापन स्थापनामा समेत सक्रिय भूमिका निभाउन सफल रहे।

जीवनमा शिक्षा क्षेत्रमै केही गर्नुपर्छ भन्ने सोचाई बोकेका उनले कक्षा ११/१२ मा पढाउँदै जाँदा अध्यापनप्रति नै आफ्नो सम्पूर्ण जीवन समर्पित गर्न तत्पर रहे। आफू पनि शैक्षिक क्षेत्रमै सक्रिय हुँदै गर्दा अहिलेका शिक्षकहरुको आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी र कर्तव्यपरायणताप्रति अलि बढी चिन्तित देखिन्छन् उनी।

‘शिक्षण पेशा होइन, सेवा हो। सशुल्क र सुविधासहितको सेवा हो यो शिक्षण र शिक्षक एक शैक्षिक अभियन्ता हो। तर अहिले प्राय गरी सरकारी विद्यालयहरुमा कार्यरत शिक्षकहरुको नियुक्ति, बढुवा, सरुवा र दरबन्दी नै राजनीतिक तवरले हुने गर्दछ। विभिन्न आयोगहरुमा लिखित, मौखिक र परीक्षाका अन्य चरणहरु समेत उत्तीर्ण गरी अध्यापनको निम्ति विद्यालय प्रवेश गरेतापनि उहाँहरुको विज्ञताले कक्षाकोठामा छताछुल्ल हुने मौका नै पाउँदैन। एउटै व्यक्ति सरकारी र निजी विद्यालयमा अध्यापन गर्ने भएतापनि जति लगनशील र मेहनती भई निजीमा काम गरिन्छ, त्यसको केही अंश मात्र भए पनि सरकारीमा गरिदिए त्यसको प्रतिफल त्यहाँका विद्यार्थीहरुले पाउने थिए’, उनी भन्छन्।

‘दरबन्दीदेखि बढुवा, सरुवा र दैनिक क्रियाकलापसम्म नै राजनीतिक चासो र हस्तक्षेपकारी व्यवस्थाका कारण कतिपय अवस्थामा विद्यालयका प्रमुखहरु हात बाँधिएर बस्नुपरेको तितो यथार्थ छ। हामीले स्वतन्त्रतापूर्वक शिक्षकलाई परिचालित र सक्रिय बनाउन सक्दैनौँ। यसको मुख्य जड भनेको माथिल्लो निकायमा भएको राजनीतिक हरुतक्षेप र परिचालन केन्द्र आफैँ यो चंगुलमा फस्नु हो’, श्यामकृष्ण थप्छन्, ‘नेपालमा जबसम्म शिक्षा र राजनीति एकअर्काबाट अलग्गिँदैन, तबसम्म यो एक दीर्घरोगको रुपमा रहिरहन्छ। यसको निम्ति शैक्षिक नीति तथा कानुन बनाउँदा नै राजनैतिक हस्तक्षेप नहुने गरी बनाउनुपर्दछ।’

उनी भन्छन्, ‘त्यसो त नेपालका सरकारी विद्यालयहरुको एउटै दीर्घरोग नतिजामा न्यूनतालाई निवारण गर्नका लागि थुप्रै उत्कृष्ट नारा, नीति र नियमनका ठूला-ठूला कार्यक्रम तथा आयोजनाहरु घोषणा भइसकेका छन्। तर वास्तविकतामा यो कत्तिको नतिजामुखी र उपलब्धमूलक रह्यो भन्ने कुराको अनुगमन, नियमन र नियन्त्रण गर्ने निकाय आफैँमा राजनीतिक हस्तक्षेपले ग्रस्त छन्। त्यसकारण जतिसुकै तितो लागेतापनि यथार्थ यही हो। यस्तो सञ्जालयुक्त सरकारी संस्थाहरु चाहे त्यो विद्यालय होस् वा कार्यालय त्यहाँको संयन्त्र र नतिजा अपेक्षा गरेभन्दा न्यून नै आउने गर्दछ। यो सत्यलाई कहिलेसम्म स्विकारिरहनुपर्ने हो, यसको कुनै अनुमान नै छैन।’

वि.स. २०६३ मा बूढानीलकण्ठ माध्यमिक विद्यालयले कक्षा ११/१२ को अध्यापन सुरु गरेपश्चात विद्यार्थीहरुकै अनुरोध र विद्यालय, स्थानीय समुदाय तथा सामाजिक अभियन्ताहरुको पहलमा वि.स. २०६५ साल भदौदेखि स्नातक तहको अध्यापन पनि सुरु गर्न सफल भयो। विद्यालयमा करिब एक दशकभन्दा बढी समय क्याम्पस संयोजकका रुपमा कार्यरत श्यामकृष्णको कर्तव्यपरायणता, विद्यालय र विद्यार्थीप्रतिको दृढता, योग्यता, दक्षता र निष्पक्ष कार्यशैलीको कदर स्वरुप वि.स. २०७५ सालमा बूढानीलकण्ठ माध्यमिक विद्यालयको क्याम्पस प्रमुख नियुक्त हुन सफल भए।

सामुदायिक वा सरकारी भन्ने बित्तिकै अनुमानकै भरमा यसको गुणस्तरमा खोट लगाउने प्रवृतिलाई चिर्दै उनले विद्यार्थी युनियनरहितको सरकारी विद्यालयको रुपमा स्थापित गर्न सफल रहे। शैक्षिक संस्था विशुद्ध शैक्षिक क्रियाकलापमा मात्र आवद्ध हुनुपर्छ। शिक्षालयभित्र शिक्षा, शैक्षिक प्रक्रिया, विद्यार्थी र शिक्षकहरु राजनीतिबाट नितान्त अलग रहनुपर्छ भन्ने सिद्धान्तलाई उनले सधैँ पहिलो प्राथमिकतामा राखे।

‘विद्यार्थीको शिक्षण सिकाइ र नतिजाको उत्कृष्टतामा केवल शिक्षक र विद्यालयको मात्र भूमिका हुँदैन तर यसमा समुदाय, स्थानीय सरकार, अभिभावक तथा अन्य संघसंस्थाको पनि उत्तिकै प्रमुख भूमिका रहने गर्दछ। यी सबै पक्षहरुको हातेमालो र सहकार्यमा नै सामुदायिक तथा सरकारी विद्यालयहरुको समुन्नती र विद्यार्थीको नतिजामा पनि सकारात्मक असर पर्ने गर्दछ’, लामिछाने भन्छन्।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक मन्दिर नजिकै अवस्थित बूढानीलकण्ठ माविमा इसिडीदेखि स्नातक तहसम्म करिब १५०० विद्यार्थीहरु अध्ययनरत छन्। विद्यार्थीको प्रमाणपत्रको अंक मापनभन्दा उनीहरुको व्यवहारिक पक्ष र जीवनशैलीको व्यवहारिक पक्षलाई बढी प्राथमिकतामा राख्ने यस विद्यालयले विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ।

प्राविधिक र सीपयुक्त शिक्षाको अवधारणा केवल नीति र नियमावलीमा मात्र उल्लेख गरेर भन्दा यसका विषय विज्ञहरुसँगको छलफल, अध्ययन, अनुसन्धान र प्रयोगात्मक तवरले पाठयक्रम निर्माण गर्ने हो भने विदेश पलायन हुने दक्ष युवा जनशक्तिको संख्यामा न्यूनीकरण हुनेछ। सामुदायिक र सरकारी विद्यालयहरुमा सरकारको लगानी सँगै यसको संरक्षण हुन पनि उत्तिकै जरुरी छ। सैद्धान्तिक शिक्षा र व्यवहारिक सीपलाई सँगसँगै लैजानको निम्ति उपयुक्त स्थान, ठोस नीति र जहाँ जे पूर्वाधार वा श्रोत साधनको उपलब्धता छ। त्यसैको उपयोग गरी व्यवहारिक शिक्षा दिन सकेमा सरकारको लगानीको संरक्षण हुने गर्दछ।

‘शिक्षक दरबन्दीको मिलान, सरुवा बढुवामा निष्पक्षता, अद्यावधिक सेवाअवधि, नियमित अनुगमन, नियमन, निरिक्षण, परीक्षण, दण्ड तथा पुरस्कारको व्यवस्था र प्रत्येक सरकारी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा राज्यको उपस्थिति हुनुपर्दछ। यी यावत अत्यावश्यक विषयबाहेक पनि विशेष गरी राज्यको माथिल्लो निकायदेखि नै शिक्षा र राजनीतिलाई एकअर्काबाट लग नगरेसम्म सरकारी निकायको गुणस्तर उकास्न मुस्किल छ’, लामिछाने भन्छन्।

जीवनको डेढ दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा लगानी गरिसकेका श्यामकृष्ण आफू स्पष्ट वक्ता भएतापनि क्याम्पस प्रमुखको भूमिका निर्वाह गर्न अत्यन्त चुनौती रहेको स्विकार्छन्। एउटै व्यक्तिको निजी र सामुदायिक विद्यालयमा काम गर्ने तरिका फरक हुँदा राजनीतिकरणकै कारण आफूले कुनै कदम चाल्न नसकेको दुखेसो पोख्छन्। ‘कति पटक त हातखुट्टा बाँधिदिएर काम गर्ने आदेश पाए जस्तो आभाष हुन्छ’, उनी भावुक हुँदै भन्छन्।

विद्यार्थीको समग्र समुन्नती र व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्नकै निम्ति स्नातक तहमा इन्जिनियरिङ्ग विषयको अध्यापन भइरहेको यस बूढानीलकण्ठ माध्यमिक विद्यालय तथा क्याम्पसले शिक्षा र रोजगारलाई एक अर्कासँग जोडनको निम्ति विभिन्न अतिरिक्त शैक्षिक क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ।

अबको पाँच वर्षभित्र बूढानीलकण्ठ विद्यालय तथा क्याम्पसलाई विद्यालयको भवनमा नभइ क्याम्पसको आफ्नै भवनमा सञ्चालन गर्ने र स्नातकोत्तर तहको अभ्यापन पनि सुरु गर्ने भावी योजना बोकेका लामिछाने समाज परिवर्तन गर्न एउटा ठोस योजना, दुरदृष्टि, लगनशीलता र निरन्तरता आवश्यक पर्ने विचार व्यक्त गर्छन्।

जीवन एक नदी हो, जुन जस्तो अवस्थामा पनि निरन्तर बगिरहन्छ। आफूभित्रको आत्मियता नै प्रेम हो भन्ने लामिछानेको विवाह वि.स. २०६३ सालमा सावित्री लामिछानेसँग भयो। जीवनको सबै क्षण खुशीको रहेको बताउने दुई छोरीका पिता उनी आफ्ना बुवाको निधनको क्षण अत्यन्त दुखद भएको बताउँछन्।

प्रकाशित मिति: : 2023-02-20 21:15:00

प्रतिकृया दिनुहोस्