भाषा र साहित्यकाे उद्गम स्थल मानिने कर्णाली, जसले ठुलो साहित्यिक मूल्य स्थापित गरेकाे छ। यहाँ मान्छेहरु रुँदा बिम्बमा रुन्छन्। एउटी बेहुलीले माइती घर छाेडेर जानेबेला बिम्बमा रुन्छे। गोठाला जाँदा चराएका गाई–गाेरु, बसेकाे चाैताराे, खेलेकाे चाैर सबैलाई बिम्बमै बिदाई गर्छे। 'मेरा माइतीका ढुङ्गे धारा आजदेखि ताेकन मुगुत्ताे (फराकिलो) हाेला। मेरी सात्याइनी (साथी) मेरी आमाकाे गाग्राे मुसुल छुटाइदिया। माेकन सुम्झि बासु धारा बगाउनिन नराेउ भुन्दिया। मेरा माइतीका सुनका सुवाडा, रुपका दुवाड...आदि।'
आफन्त मर्दाकाे रुवाइ पनि बिम्बमै हुन्छ। अझ भनाैं प्रतीक र अतिरञ्जनाले युक्त हुन्छ। 'मेरी आमइनी आजदेखि तिम्मी टाेक्या आमै भुन्न पाउन्या नाई।' यति मात्र हाेइन, गाली गर्दासमेत बिम्बमै गर्छ। 'तेराे सहलजाे न फर्किन्या पाइताे पडाेस्।' हामीले सलह किरा आएर बाली खाएकाे भर्खर देखेका हाैं। कयाैं अघिदेखि हाम्रा पुस्ताले गालीमा पनि साहित्यकाे विकास गरिसकेका थिए। अर्थात् सलहकाे स्वभाव बुझिसकेका थिए।
तर याे सबै लिखित दस्तावेजकाे रुपमा आउन सकेन। ढुंगामा कुँदिएका कयौं शिलालेख १८४६ पछिका गाेर्खाली शासकले मेटाउने चेस्टा गरे। खस भाषाकाे सबैभन्दा पहिलो लिखित दस्तावेज 'बाज परीक्षा' हाे भन्ने सुनिन्छ। त्यसकाे लेखक कतै भेटिँदैन।
यीबाहेक समग्र कर्णाली साहित्यकाे खुला किताब हाे। यहाँको साहित्यमा भेटिने बिम्ब, प्रतीक र अतिरञ्जनाहरुसँग पाइला पाइलामा साक्षात्कार गर्न पाइन्छ। तर गाेर्खाली राज्य विस्तार अभियानकाे तीन पटकसम्म तगाराे बनेकाे कर्णालीमा १८४६ पछि २००७ सालसम्म कुनै प्राज्ञिक गतिविधि हुन सकेनन्। जाे संस्कार, संस्कृति र साहित्यकाे विकासमा तगाराे बन्न पुग्याे।
याेगी नरहरीनाथ, रत्नाकर देवकोटा, साैभाग्य शाह जस्ता सशक्त अध्येताहरुकाे बीचमा ठुलो ज्ञाप छ। ठुलाे पुस्तान्तर पछिका नगन्य साहत्यिक गतिविधिहरुमा एक बनेकाे छ, डा. नवराज केसीले लेखेको पुस्तक 'शुन्यकाे मूल्य: सास, साहस र स्नेहकाे कथा'।
प्राय अरुकाे पछाडि लागेर अस्तित्वमा आउने 'शुन्य' १८४६ पछिकाे कर्णाली हाे। जाे लामाे समयअघि लाग्नै पाएन। तर अब समय फेरिएसंगै 'शून्य' अगाडि लागेकाे छ। अर्थात् कर्णाली अगाडि लागेकाे। यसले आफ्नाे मूल्य पुस्तकमार्फत प्रमाणित गरेर देखाएकाे छ। अझ भनाैं सबैभन्दा मूल्यावान भएर बजारमा आएकाे छ।
पुस्तक मुलत कर्णालीका आमाहरुकाे कथा हाे। जसलाई समाजले निरीह र कमजोरबाहेक केही देखेन। महिलाको हुर्काइ–बढाइ, लवाइ–खवाइ, हिँड्डुल, काम गराई सबै सबैमा महिलाहरु कमजोर हुन्छन् भन्ने देखाइरह्यो। तसर्थ महिलाहरु आफू कमजोर छाैं भन्ने मानसिकता बाेकेर प्रस्तुत हुन्छन्। समाजले महिलाकाे आड, भराेसा, उत्साह सबै पुरुष हाे भन्ने पार्छ र दबाइराख्नलाई विभिन्न खालका प्रथा, परम्पराकाे दाम्लाे लगाउँछ।
लेखकले यी सबै मान्यताहरुमाथि कसिलो प्रहार गरेका छन्। पुस्तककाे सुरुवातमै 'शून्यकाे मूल्य' स्थापित गर्न गहकिलाे तर्क पेस गरेका छन्। जसमा संयुक्त राष्ट्रसंघका दिगो विकाससम्बन्धी दिगाे विकासका १७ वटा लक्ष्य प्रस्तुत गरेएको छ। यी सबै लक्ष्य पूरा गर्नलाई आमा शब्दको अमा अर्थतन्त्रको अलाई जोड्न लेखक जरुरी ठान्दछन्।
आमा बलियाे बनाउन 'शून्यकाे मूल्य' एक बलियाे हतियार हाे। त्यसैले पुस्तकका सबै कथाहरुमा आमा बलिया देखिएका छन्। अर्थात् आमाहरुलाई केन्द्रविन्दुमा राखेर सास, आश र स्नेहले दु:खका उकाली–ओराली गरिरहेका छन्। राज्यले यसलाई सबैभन्दा ठुलाे गुन सम्झेर सबै आमाहरुमाथि लगानी गर्ने हाे भने दिगाे विकासका सबै लक्ष्यहरु पूरा गर्न आइतबार कुर्नु नपर्ला।
सिर्जनात्मक गैरआख्यान नाम दिएकाे पुस्तकमा लेखकले आफ्नाे सिर्जनालाई सयपत्री फुल फक्रिए जसरी फक्रन दिएका छन्। जसले आमाहरुकाे संघर्षपूर्ण जीवनमा सुवास थपेकाे छ। कथाहरु सबै रसिला छन्। यति हुँदा पनि पढ्दापढ्दै कतिबेला कथाहरुकाे बगाई नदीझैं नबगे जस्ताे पनि लाग्छ। यहिँनेर चित्त बुझाउने ठाउँहरु पनि छन्। हिमालबाट निस्कने हरेक नदीहरु एक्लै बगेर समुन्द्र भेट्दैनन्। अरुसँग मिसिएर बग्छन् र समुन्द्रमा ढुबुल्की मार्छन्। ठिक त्यसरी नै एउटा कथा अर्काे कथाहरुसँग मिसिएर बगिरहेकाे छ।
जस्ताे कि बुधेकी फुपूआमा आउनुभन्दा अगाडि लाटीकाे कथा आउँछ, भिमकाजीकी श्रीमतीको कथा गाेमा चाैधरीकाे कथामा मिसिन पुग्छ। बाजुराकाे काेल्टीबाट हेलिकप्टरमा काेहलपुरकाे शिक्षण अस्पताल पुगेका आमा र बच्चाकाे कथा भेडेनी कान्छीकाे कथामासँगै बग्न थाल्छ। नानीआमाकाे कथा कार्कीनी बज्यैकाे कथासँग मिसाउने र समुन्द्रसम्म पुर्याउन लेखकले गरेकाे मेहनत हर काेणबाट सफल देखिन्छ।
लेखकमा पाठकलाई अड्याइरहने एक अद्भूत सीप छ। भेडेनी कान्छीले भेडासँग मित लाएकाे कुरा भन्न उनले कथालाई सयपत्रीकाे माला उनैझैं सिलसिलेवार रुपमा भेडेनी कान्छीकाे सग्लाे जीवन प्रस्तुत गरेका छन्। हरेक कथामा जाेडिएका प्रसंग र तथ्यांक विश्वविद्यालयका अनुसन्धान जस्ता बाेझिला नभई नै राेचक र रसदार बनेर आएका छन्।
समग्रमा पुस्तक सास, आश र स्नेहले ओतप्रोत भएका कथाहरुको संग्रह हाे। मानवीय समवेदनाले भरिपूर्ण एक दस्तावेज हाे। डाक्टर शारीरिक रोगसँग मात्र परिचित हुनपर्छ भन्ने भाष्यमाथिकाे प्रश्न हाे। नेपाली साहित्य जगतमा कर्णालीको जबर्जस्त उपस्तिथि जनाउने प्रयत्न हाे।
सास र आशको लागि भेडेनी कान्छीले छोरा बचाउनलाई गरेको संघर्ष, पेटभित्रको बच्चाले बाउलाई लेखेको चिठी, बच्चाप्रतिको अघात माया अनि स्नेहले गर्दा मरेको बच्चालाई आमाले दूध चुसाएका प्रसंगमा हर काेही पाठक टक्क अडिन्छ। निस्सासिएर लामाे सास लिन्छ। त्यतिबेला शरीर जिरिङ्ग हुन्छ र एकाएक काँठा उम्रिएझैं लाग्छ।
लेखक बालराेग विशेषज्ञ हुन्। उनी समाज भाेगेका डाक्टर हुन्। समाजकाे स्वरुपअनुसार नै डाक्टरकाे आनीबानी, व्यवहार र चरित्रकाे विकास भएकाे हुन्छ। जसले आम डाक्टर र बिरामीबीच ठुलाे खाडल देखिन्छ। कवि तथा लेखक विनाेदविक्रम केसीले आफ्नाे पुस्तक 'भेन्टिलेटरमा आमा'मा 'जब समयमा एउटा ट्याब्लेट नपाएर दुरदराजतिर मर्छ कोही, जब उपचार खर्चको बिलले भाउन्निएर अस्पतालको बरन्डाबाट हामफाल्छ कोही।
जब डाक्टरको प्रेस्क्रिप्सनले घरखेत बन्धकी परेको तमसुकजस्तो हुन्छ, तब देश आफैँ अप्रेशन थिएटरको शय्यामा उत्तानिएको हुन्छ। जब पत्तै नपाइ दुइटै मृर्गौला फेल भएको बिरामीका आफन्त सडक पेटीमा माइक लगाएर भिख मागिरहेका हुन्छन्, त्यहाँ देश स्वतः फेल भइरहेको हुन्छ,' भनी उतारेका छन्।
कर्णालीले लामाे समय अस्पताल पाएन। जब अस्पताल पायाे, तब डाक्टर पाएन। जब डाक्टर पायाे, तब गतिलाे व्यवहार पाएन। जुन हाम्राे राज्य संयन्त्रले विकास गरेकाे चिकित्सा शिक्षा प्रणालीकाे दाेस हाे। आज पनि ठुला भनिएका अस्पतालमा नाम कहलिएका डाक्टरहरु बिरामीकाे अवस्थाभन्दा अगाडि पैसा बुझ्छन्।
शिक्षा प्राविधिक भयाे भने शिक्षित मान्छे प्राविधिक हुन्छ। प्राविधिक मान्छे असामाजिक हुन्छ। उसले भावनात्मक कुरालाई गाैण ठान्छ। उसकाे चेतनामा भाेटे ताल्चा लाग्छ। परिणाम कमजोर आयस्तरबाट गुज्रिरहेकाे समाजकाे हरकाेही मान्छे जीवनमा एकपल्ट अस्पताल पुग्न आफूले पालेका चाैपाया बेच्नुपर्ने अवस्थामा पुग्छ। त्यसैले त भेडेनी कान्छीका भेडाकाे सत्यानाश हुन्छ।
यहीँनेर डाक्टरले कर्णाली जस्ताे दुरदराजकाे भूगोलमा उपचार गर्ने चिकित्सक कस्ताे हुनुपर्छ भन्ने चित्र काेरेका छन्। यसले कर्णाली मात्रै हाेइन, हरेक अस्पतालमा काम गर्ने डाक्टर लेखक जस्तै हुनुपर्छ भन्ने सन्देश दिएकाे छ। अर्थात् शिक्षाविद् पाउलाे फ्रेकाे भाषामा डाक्टर सामाजिक हुनुपर्छ।
पुस्तक कथाहरुकाे संगालाे, आमाहरुकाे सास र संघर्ष मात्रै हाेइन, मुद्दाहरुकाे चाङ पनि हाे। देशकाे स्वास्थ्य प्रणाली सुधार गर्छु भन्ने इच्छाशक्ति भएकाे शासकका लागि मार्गदर्शक हाे। स्थानीय तहकाे स्वास्थ्य स्थिति सुधार गर्न चाहनेका लागि पुस्तकले देखाएकाे पिरामिडकाे सबैभन्दा तल्लो फराकिलो भाग हाे।
लेखकले पुस्तकमा उच्च राजनीतिक चेत पनि झल्काएका छ। जस्ताे बुबालाई चिठी कथाकी पात्रा गाेमा आफ्नाे पेटका बच्चाहरु सकुशल भएकाे थाहा पाउँदा खुसीले संसारकै राम्री देखिन्छ। लेखक संसारभरका आमा खुसी भए बहुराष्ट्रिय कम्पनीका माल उत्पादन बन्द हुने ठाेकुवा गर्छन्। एकातिर बुधेकी फुपूआमा छिन्, जाे असमान ज्यालाबारे माैन असन्तुष्टि पाेखेर चुप लाग्छिन्। अर्काेतिर पुतली आम छिन्, जाे क्रान्तिकाे प्रतिनिधित्व गर्छिन्। पुतली आमाकाे चेत राजनीतिक अर्थशास्त्रकाे अनुपम रुप हाे।
उनले सडकमा झाेला व्यापार गर्दा अन्त्य गरेकाे बिचाैलियाकाे उपस्थिति, कारखानाकाे मालिकले चाेरी गरेकाे मजदुरकाे मूल्य र त्यसपछि निर्माण भएकाे उनीहरुकाे संगठन कार्लमार्क्सकाे अतिरिक्त मूल्यकाे सिद्धान्त हाे। डाेल्पाबाट आफ्नाे श्रीमानकाे उपचार गराउन काठमाडौं गएकी उनी जडिबुटी बेच्छिन्। परिस्थितिले सडक व्यापार गर्न पुगेकी उनले आफूजस्तै धेरैलाई संगठित गरी विद्रोह छेड्न सक्नु नै डाक्टरले आफ्नाे पुस्तकमार्फत दिएकाे दर्शन हाे।
मेक्सिम गाेर्कीकाे आमा उपन्यासकी आमा पर्चा बाँड्दाबाँड्दै पक्राउ पर्छिन्। त्यसले पाठककाे मनमा पुस्तकबारे थुप्रै मन्थन गराउँछ। अब क्रान्ति के हुन्छ भन्ने प्रश्न उब्जाउँछ। यता सफल विद्राेह गरेकी पुतली आमा एकाएक किन हिँडिन् हाेला? कता गइन हाेला? पाठककाे मनमा अनेकौं प्रश्न उब्जिन्छन्। यही नै पुस्तककाे सफलता हाे।
पुस्तकमा तमाम आशाहरु छन्। निराशाकाे घनघाेर जंगलमा पनि आशा हुन्छ भन्ने कुरा देखाउन सक्नु लेखककाे खुबी हाे। उसाे त याे समाजकाे वास्तविकता पनि हाे। कथामा मरेका केही पात्रहरुले पाठकलाई निकै दुखी तुल्याउँछन्। तर तिनले पनि आशा दिएका छन्। अर्थात् ती झरेका फुलहरु झर्नलाई उम्रेका नभई उम्रनलाई झरेका थिए।
पुस्तककाे एक अंश लेखकले पंतिकारलाई पुस्तक प्रकाशनअघि नै हेर्ने अवसर दिएका थिए। पंतिकारले गह्रुंगो मानीमानी बाेकेकाे सानाे भारी कर्णालीका आमाहरुले बाेक्ने बडेमानकाे भारीमा एक उमालाे दाउरा मात्रै हाे। भर्खर सिक्दै गरेकाे सिकारुलाई लेखकले गरेकाे विश्वासकाे शून्यकाे मूल्यभन्दा बढी छ। सम्पादन गर्न पंतिकारले गरेकाे दुस्साहसले पुस्तकलाई कमजोरीयुक्त बनाइदिएकाे छ। पुस्तकका मुल सम्पादकबाट पनि सम्पादकीय त्रुटि हुन गएका छन्। यसले पुस्तक प्रकाशनमा थाेरै हतारो पाे भयो कि भनी संसय उत्पन्न गरेकाे छ। आगामी संस्करणमा यी कमजोरी मेटिने आशा छ।
एक वाक्यमा भन्दा, 'शून्यकाे मूल्य' कर्णालीकाे साहित्यका लागि काेसेढुङ्गा सावित हुनेछ भने निरन्तरताको नाैलाे आयाम। पुस्तकका लागि चार सय ५० रुपैयाँ तिरेर चार पाँच घण्टा निरन्तर समय दिँदा एउटा अनाैठाे यात्रा तय गर्न सकिन्छ। कत्ति पछुतो लाग्दैन, बरु गर्वले छाती ढक्क फुल्छ!