जुम्लामा दुई अस्थायी मतदान केन्द्र

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जुम्लामा थप दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। 

कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउनका लागि  जिल्लामा साल्ट टेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्ला र जिल्ला कारागार कार्यालयमा एक\एक वटा अस्थायी मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप अस्थायी मतदान केन्द्र राखिएको उक्त कार्यालयले जनाएको छ। मतदाता सूचीमा नाम दर्ता भएका १४ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन्।

 जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ। जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ।
 
प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार छ सय ३८ मतदाता छन्। प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ (१) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (२) मा ३१ हजार छ सय ३८ मतदाता रहेको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-11-18 13:04:00

प्रतिकृया दिनुहोस्