एक काँधमा सिमेन्टकाे बाेरा अनि अर्काे हातमा साबेल। निधारबाट पसिना बगिरहेकाे थियाे। एक हातले पसिना पुस्दै काँधकाे बाेरा बिसाएर सिमेन्टकाे घाेल बनाउन व्यस्त थिए, २५ वर्षीय प्रेमकुमार सदाई।
कैयाैँ सपना मारेर कामकाे खाजीमा सिराहाबाट काठमाडाैँ हानिएका प्रेमकुमार आजभोलि धरहरा निर्माणकाे काममा व्यस्त छन्।
सानैदेखिकाे पढाइमा रूचि राख्ने प्रेमकाे धेरै पढेर मास्टर हुने इच्छा थियाे। तर गरिबीकाे दलदलमा फसेका सदाईलाई परिवारले दश कक्षाभन्दा माथि पढाउन सकेन।
सानैदेखि पढाइमा तेज नै रहेका प्रेमकुमार हरेक परीक्षामा सबैभन्दा बढी नम्बर ल्याएर विद्यालयमा प्रथम हुन्थे।
सधैँ प्रथम हुने उनलाई देखेर स्कुलका शिक्षक-शिक्षिकाहरूले पनि भन्थे, ‘तिमी भविष्यमा धेरै अगाडि जान्छाै, राम्राेसँग पढ्नु।’ तर समयकाे कुनै भर नहुने रहेछ। विद्यालयमा सधैँ प्रथम हुने प्रेम कक्षा दशकाे वार्षिक परीक्षामा फेल भए।
गाउँका अन्य साथीहरूले जस्तै बाेर्डिङ स्कुलमा पढ्न नपाएपनि सरकारी स्कुलमा नै राम्राेसँग पढेर शिक्षक बन्ने उनकाे सपना थियाे। तर दश कक्षामा फेल भएपछि भने उनकाे सबै सपना टुट्याे।
कहिल्यै फेल नहुने प्रेमलाई कक्षा दशकाे परीक्षाफल आउँदा आकाशले थिचे जस्ताै भयाे, उनले सबैतिर अँध्याराे देख्न थाले। राम्राेसँग पढेर शिक्षककाे जागिर गरी घरकाे आर्थिक स्थितिलाई उकास्ने उनकाे सपना चक्नाचुर भयाे।
घरकाे कमजाेर आर्थिक स्थितिका बाबजुद उनलाई बाबुआमाले दश कक्षासम्म पढाएका थिए। उनलाई याे नै अथाह भयाे। त्यसपछि भने उनले आफैँ काम गरेर घरमा बाबुकाे बाेझ हल्का पार्ने साेच बनाए। अनि हानिए भारततिर काम गर्न।
नेपालमा रहँदा आफ्नै गाउँघर, छरछिमेक तथा विद्यालयमा मात्र सिमित रहने उनले भारत गएर कल्कताकाे एउटा हाेटलमा भाँडा माझ्ने काम गर्न थाले। घरकाे आर्थिक अवस्था उकास्न भारत छिरेका उनले दिनरात नभनी काम गर्दा पनि आफ्नाे श्रमकाे मूल्य पाउन नसकेकाे बताउँछन्।
भारतकाे त्याे उखरमाउलाे गर्मीमा काम गर्दाकाे क्षण सम्झँदै उनी भन्छन्, ‘गाउँकाे काकाले घरकाे अवस्था देखेर काम गर्न भारत जाउँ भन्नुभयाे। घरकाे अवस्था उकासिएला भनेर भारत छिरेँ, तर काम गरेअनुसारकाे मूल्य पाइनँ। आमा बिमार भइरहन्थिन्। घरमा आरामसँग सुत्ने ठाउँ पनि छैन। मैले भारतमा रातदिन नभनी अरूले खाएकाे भाँडा माझेँ, तर आफूले गरेकाे कामकाे मूल्य माग्दा पनि दिइएन।’
उनले भारतमा काम गरेकाे वर्षदिन मात्र पुगेकाे थियाे, एक्कासी उनी बिरामी परे। बिरामी हुँदासमेत ख्याल राख्ने काेही नभएपछि उनलाई आफ्नै घरकाे सम्झनाले पाेल्न थाल्याे र निकाे भएकाे केही सयमपछि उनी नेपाल फर्किए। नेपाल फर्किएपछि उनी बेराेजगार बने। कामकाे खाेजीमा उनी निकै भाैँतारिए।
कामकाे खाेजीमा चारैतिर डुलेका उनले कहिँ पनि काम पाउन सकेनन्। कामकाे खाेजी गर्दा-गर्दा थाकेका उनले पुन भारतमै गएर काम गर्ने साेच बनाए। तर त्यतिबेलै गाउँका एक जना दाइले काठमाडाैंमा काम पाइन्छ, उतै जाउँ भनेपछि काठमाडाैं हानिए। त्यसपछि उनी धरहरा क्षेत्रकाे पुनर्निर्माणकाे काममा जुटे।
उनले सिराहादेखि काठमाडाैं आएर धरहरा क्षेत्रमा काम गर्न थालेकाे पनि चार वर्ष बितिसक्याे। तर आज पनि उनकाे अवस्था उस्तै छ। न त उनले आरामसँग बस्न नै पाएका छन्, न त सुस्ताउँदै निदाउन नै पाएका छन्।
‘घरमा बाबाआमा दुवै बिमार छन्, उपचार गराउन धेरै पैसा लाग्छ, मसंग उपचार गराउने पैसा पनि छैन। खेती गरी खाँउ भने जग्गाजमिन छैन, जागिर गर्न जाउँ धेरै पढेलेखेकाे छैन। आज काम गर्याे आजलाई मात्र पुग्छ। भाेलि के खाने भन्नेकै चिन्ता हुन्छ,’ उनले मलिन स्वरमा भने।
आफूसंग पैसा नभएकै कारण घर जानसमेत नपाएकाे उनी बताउँछन्। ‘घरमा बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ हुन्छ, बिमार आमा बाबुसँगै अरूकाे खेतबारीमा काम गर्न जानुहुन्छ। मेराे हालत यस्ताे छ, काम गरेकाे पैसा दिँदैन। कहिले पैसा कमाएर घर जानेहाेला’, प्रेमकुमार दुख सम्झँदै भन्छन्।
आम निर्वाचन हुन दई दिन मात्रै बाँकी छ। उनी यतिबेला स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेकाे पल सम्झिन्छन्।
स्थानीय निर्वाचनमा छाेटाे समयका लागि भएपनि म्यादी प्रहरीकाे रूपमा काम गर्न पाउँदा खुसी भएकाे उनी बताउँछन्। ‘वैशाखमा भएकाे चुनावमा त म्यादी पुलिस भएर काम गरेकाे थिएँ, तर याे पटक थाहा पाइनँ। थाहा पाएकाे भए फेरि जान्थेँ। बिरामी आमाकाे उपचार गर्न र घरखर्चमा धेरै सहयाेग हुन्थाे’, उनले भने।
उनी दिनभर इँटा, माटाे बाेक्दै धरहरा क्षेत्रकाे काममा रमाउन खाेज्छन् तर रमाउन भने पटककै सक्दैनन्। उनलाई देशमा के भइरहेको छ भन्ने चासो राख्नसमेत फुर्सद छैन। उनी बिहान ७ बजेदेखि बेलुका आँखा देखुनजेलसम्म काम गर्छन्। ताकि, पैसा जम्मा गरेर घर पठाउन सकियाेस्। बिरामी आमाकाे उपचार गर्न सकियाेस्, तर पैसा नभएर बिरामी आमालाई समेत भेट्न जान नपाएकाे उनकाे गुनासाे छ।
‘बिरामी आमालाई उपचार गराउन पैसा जम्मा गर्न आएछु, त्यही भएर दिनभर खटिएर काम गर्छु। मलाई आमा ठिक भएकाे हेर्न मन छ। यहाँ काम गरेकाे ठाउँमा पैसा माग्याे भाेलि-भाेलि भन्दै महिनाैँ कुराइसक्याे। पैसा कहिले दिन्छ, थाहा छैन’, उनले भने।