जुम्लामा हेलिकप्टरमार्फत् ल्याइयो मतपत्र

file photo
file photo

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए। नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको बताए। 

गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अबरुद्ध भएपछि हेलिकप्टरमार्फत् मतपत्र ल्याइनु परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए। स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत् ल्याइएको थियो। 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ। जसमध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो। 

साथै, प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ७६ हजार र प्रदेशसभा (क) का लागि ४२ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो। जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश (ख) मा ३१ हजार ८५५ छन्।

प्रकाशित मिति: : 2022-11-03 15:55:00

प्रतिकृया दिनुहोस्