नर्सिङ कर्ममा जीवन बिताइरहेकी शान्ता सुब्बा थापालाई त्यतिबेला जनावरप्रति कुनै प्रेम थिएन। आफ्नो इच्छाकाे काम गरेर दिनहरू कटाउथिन्।एकदिन उनकाे घरका सदस्यले पाल्नकाे लागि कुकुर ल्याए। जनावरलाई पनि घरमा पाल्छ र ? भन्ने कुराकाे उनलाई आभास भयाे।
उनलाई त्याे कुकुरप्रति कुनै दया, माया नै लागेन। तर, आज-भोलि गर्दै उनका दिनहरु त्यही कुकुरकाे सामीप्यतामै बित्याे। उनको घरकाे कुकुर कहिले रोएको त कहिले कराएको सुन्दा दिक्क लाग्थ्यो, उनलाई। उनलाई त्याे कुकुरकाे आवाज बोज हुन्थे। कुकुर न हाे, भाेक लाग्दा र पीडा हुँदा कराउन थाल्याे। त्यसपछि उनले बिस्तारै कुकुरलाई स्याहारसुसार गर्न थालिन्, तब बुझिन् जनावरले पनि आफ्नो पीडालाई आफ्नो भाषाले व्यक्त गर्दो रहेछ। ऊ पनि त हामी जस्तै रहेछ। आफुले स्याहार गर्दै जाँदा उनले बुझ्न थालिन्।
शान्ताले जब आफ्नाे खाली समय कुकुरलाई दिन थालिन् तब जनावप्रतिकाे माया बढ्दै जान थाल्याे। त्यसपछि उनलाई घरको मात्र नभएर हरेक प्राणीहरुप्रति उत्तिकै माया जाग्न थाल्याे। ‘मैले मेरो घरको कुकुरलाई स्याहार गर्न थालेपछि मात्र बुझेँ कि यिनीहरूलाई पनि भोक लाग्ने रहेछ भनेर सम्झन थालेँ। बाटाेमा बसेका ती बेसहारा कुकुरहरुलाई कसले खान दिन्छ भनेर चिन्ता गर्न थाले, अनि त्यसपछि मैलै घर वरपरका सबै कुकुरहरूलाई खुवाउँदै हिँड्न लागेँ,’ शान्ताले आफ्नाे बिगत सुनाइन्।
उनले त्यसरी कुकुरलाई मात्र नभई गाई-वस्तुहरुलाई पनि खुवाउन थालेकी थिइन्। यही गरेर उनकाे करिब ८ वर्ष बित्याे। उनको पनि कुनै जनावरहरुको सेल्टरमा आवद्ध हुने चाहना थियो। तर, उनलाई सेल्टरहरु छ भन्ने विषयमा थाहा थिएन। ‘मेरो एकदिन बिना पन्तसँग भेट भयो। मैले त्यसरी जनावरहरुलाई खुवाएको देखेर उहाँले मलाई जनावरहरुको पनि एउटा संस्था छ। त्यसमा आवद्ध हुनु धेरै सहज हुन्छ भनेपछि म यहाँ आएको हो। यहाँ आएर निरन्तर काम गरिरहेको ४ वर्ष भयो। यहाँ बाहेक मैले घर वरपरका सय वटा जनवरहरुलाई अहिले पनि खुवाउने गर्छु,’ उनले भनिन्।
त्यो संस्थाकाे नाम ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज’ रहेछ। जुन संस्था वि.स. २०५९ सालमा पशुपतिस्थित गौरीघाटमा स्थापना भएको थियो। हाल भने बूढानीलकण्ठस्थित हात्तिगौडामा रहेको छ। १३/१४ वटा जनावरहरुको समूहबाट सुरु गरिएको याे संस्था अहिले लगभग ८५ वटा जनावरको स्थायी घर बनेको छ।
यसरी सञ्चालन हुँदै आएको ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज’ले करिब ५ सयवटा जनावरहरुको उद्धार गरिसकेको छ। धेरै त नेपालकै कुकुरहरुको गरेकाे छ। विदेशी कुकुर ल्याउन हजारौँ खर्च गर्ने धनाड्यहरुले नेपालमा रहेकालाई वास्ता गर्दैनन्। नेपालमा रहेका कुनैपनि जनावरहरुले स्याहार नै पाएका छैनन्। ‘धेरै पशुपंक्षीहरु मान्छेबाट नै घाइते भएको भेटेका छौँ। मट्टितेल छर्केर जलाइरहेको, बच्चालाई टोक्यो भनेर मार्न लागेको, पसलको छेउमा बस्दा पिट्ने र पानी हाल्दिने गरेको, गाईको बाछा-बाछीलाई बाटोमा छोड्देको, कुकुर बुढो भयो भनेर जथाभावी राखिदेको, गाडीहरुले हानेको हामीले यस्तो अवस्थामा भेटेका जनावरहरुलाई लिएर आएको छौँ। कति जनाले केही जनावरहरु बिरामी घाइते देख्दा हामीलाई खबर गरिदिन्छन्। हामी उद्दारको लागि तुरुन्त गइहाल्छौँ,’ शान्ताले भनिन्।
आफ्नो समय पशुपंक्षीका लागि बिताउनेहरु कमै भेटिन्छन्। जसले हरकखत उनीहरुको स्याहारसुसारमा जीवन नै बिताउने गर्छन्। यस्ता व्यक्तिहरुलाई तब आफूले किन यस्तो काम गरे भनेर दु:ख त्यतिबेला हुन्छ। जब कुनै जनावरको उद्दार र उपचार गर्न पाउदैनन्। यस्तै शान्तालाई पनि लाग्छ। उनी भन्छिन्,‘कहिलेकाहीँ घुम्नका लागि कताकता पुगेकी हुन्छु। बाटोमा हिडिँरहेको देख्दा लिएर आउन मन लाग्छ। तर, के गर्नु सम्भव नहुने।’
यस संस्थामा आजसम्म कुनै पनि निकायको ध्यान गएको छैन। जेजति चल्दै गएको छ, उनीहरुको व्यक्तिगत र आममानिसबाट आएको सहयोगले नै चलिरहेको छ। संस्थामा विशेष उपाचारका लागि भेटनरी डाक्टरसमेत छैनन्। बिरामी जनावरहरु बोकेर ल्याउन एम्बुलेन्स पनि छैन। सामान्य उपचारका लागि मात्र डाक्टर छन्। ठुलाे बिरामी हुँदा जनावरहरूलाई उनीहरु आफैंले बोकेर ट्यासीमा लिएर जाने गर्छन्। ‘हामी बजेट अभावकै कारण सुविधाहरुबाट बञ्चित छौँ,’ शान्ता भन्छिन्।
संस्थाले जग्गा पनि ५ वर्षको लागि लिजमा लिएको थियाे। अहिले ३ वर्ष भएको छ। त्याे ठाँउमा बिगतमा बस्ती थिएनन्। तर, आज बस्तीले ढाक्दै गएको छ। बस्ती बढ्दा खुसी भएका थिए, उनीहरु तर अहिले त्यहीँका बासिन्दाहरुले उनीहरुलाई ‘डिस्टर्ब भयो सेल्टर तीन महिनाभित्र खाली गर्नु नत्र हामी आफैंले ताला लगाउछौँ’ भनेका छन्। उनीहरुले तीन महिनामै खाली गर्न नसक्ने बताएका छन्। वडाले पनि बाधा त पुर्यायाे होला तर यति छिटो खाली गर्न भन्न नमिल्ने उनीहरूकाे भनाइ छ। नगरपालीकाले नै यसकाे व्यवस्थापन गरिदिनेमा उनी आशावादी छिन्।
यसरी जनावरको हेरचाह गर्न सजिलो छैन। कहिले समाजको गाली कहिले त आफ्नाको अपहेलना। कतिले त डलरको लागि कुकुर च्यापेर बसेका छन्, भनेरसमेत भन्छन्। ‘दु:ख लाग्छ त्यस्तो सुन्दा। कुनै जनावर पाल्न मन लाग्छ भने आफ्नो भित्रि मनले ल्याएर पाल्नु हाेइन भने अरुको देखासिखिमा पाल्ने अनि बुढो लङ्गगडो हुँदा बाटामा ल्याएर मिल्काउने ? यस्ताे चाही नगर्नु। यस्ता जनावरहरुको जिम्मेवार त सरकारको पनि त हाे नि, हाम्राे मात्र त हाेइन नी अलिकति यता ध्यान केन्द्रित हाेस् र कुकुर पाल्न मन भएकाहरु सबैले नेपाली नै पाले हुन्थ्यो,’ शान्ताले भनिन्।