इच्छालाई उमेरले र चाहनालाई चाउरीपनाले कहिल्यै रोक्न अनि छेक्न सक्दैन। आत्मा र शरिर दुई बेग्लै तत्व हो। आत्मा अदृश्य र अचेतन छ तर शक्तिशाली र सजिव पनि छ। तर शरीर त यो आत्मा बास गर्ने एउटा खोल हो, जसलाई सांसारिक सुन्दरता, लोभ, मोह, तृष्णा र लालचले खिचिरहेको हुन्छ। त्यसैले त यो नश्वर शरीर नाशवान छ तर आत्मा सदा अमर रहन्छ। आत्मा जवान त शरीर त्यसै जवान!
अध्यात्म र ब्रम्हज्ञानले मानिसलाई सधैँ ताजगी, निरोगी, शक्तिशाली तथा सजिव राख्ने गर्दछ भन्ने यथार्थलाई राम्रोसँग बुझेका इन्जिनियर महेन्द्र गुरुङको जीवनमा माथि उल्लेखित पंक्तिहरु ठ्याक्कै मेल खान्छ।
जीवन र संघर्षको अन्तरंग कुराकानीको क्रममा करिब दुई घण्टाको बसाइसँगै उनको जीवनदर्शन र मानवीय सिद्धान्तहरुलाई एक/एक गरी केलाउँदै जाँदा यो पंक्तिकारलाई पनि माथि उल्लेखित आध्यात्मिक अंशहरुले नछोएको भने पक्कै होइन।
सेतै फुलेको कपाल, आँखाको वरिपरि आएको चाउरीपना र सेतो फुलेकै जुँगा-दारीले पनि उनको शारीरिक बुढ्यौलीलाई प्रत्यक्ष संकेत गरिरहेको थियो तर उनको जीवनशैली, कार्यशैली, नम्रता, भद्रता र उर्जाशीलताले भने त्यो ६५ काटेर ७० को हाराहारीमा आइपुगेको कुनै छनक नै दिएको थिएन।
वि.स. २०११ साल असोज २१ गते बुवा एस.पी.केबी गुरुङ तथा आमा रमादेवी गुरुङको ममतामयी कोखबाट ओखलढुङ्गाकाे रुम्जाटारस्थित सिद्धिचरण नगरपालिका-४ मा जन्मिएका महेन्द्रले जीवनमा इन्जिनियर बन्ने सपना त कहिल्यै देखेनन्, तर परिवार पूर्णतया पुलिस तथा आर्मी पृष्ठभूमिको भएकोले पनि पुर्ख्याैली पेशा पो अपनाउनुपर्ने हो कि भन्ने खुल्दुली भने मनमा कतै थियो।
माइलो सन्तान संघर्षशील र सोझो प्रकृतिको हुन्छ भन्ने उक्ति शायद उनको जीवनमा पनि ठ्याक्कै मिल्न जान्छ। एक दाजु र एक भाइका साथ बाल्यकाल मध्यम र स्मरणयोग्य नै रह्यो। तर बुवाको परिवार अनि मामाघरतिरको परिवार पनि आर्मी पृष्ठभूमिकै भएतापनि शायद ईश्वरीय बरदान हुन सक्छ, उनलाई वंशजको छापले पनि खासै आकर्षण गरेन।
बाल्यकालमा उनमा त्यस्तो उच्श्रृंखलता, बालहठ र नचाहिँदो उटपट्याङ् चरित्र कहिल्यै आएन। तर उनको विद्यार्थीकालका कतिपय समय बरु गीत, कविता, नृत्य र प्रकृतिलाई नजिकबाट नियाल्ने जस्ता साहित्यिक तथा प्राकृतिक छटाहरुको रसास्वादनमा बित्ने गर्दथ्यो। रचना, आवाज र अभिनयको उत्कृष्ट त्रिवेणी भएकोले होला त्यतिबेला राजा, रानी तथा युवराजको जन्मदिनमा विद्यालयमा हुने कार्यक्रमहरुमा उनको कला अनि गलाको प्रस्तुति अनिवार्य जस्तै रहेतापनि प्रतिभासँगै पढाइलाई समेत उनले कहिल्यै दास्राे दर्जामा राखेनन्।
तत्कालीन श्री ५ को सरकारका एसपी बुवाको पोष्टिङ र सरुवा जहाँ हुन्थ्यो, त्यहीँ त्यो अबोध बालक पनि जानुपर्थ्याे। त्यसैले उनको बाल्यकालको पढाइ पहिले रुम्जाटार त कहिले धनगढीमा हुँदै कक्षा १० को एसएलसी वि.स २०२७ सालमा धनगढीकै पञ्चोदय माविबाट उत्तीर्ण गरे।
‘त्यतिबेला १४/१५ जनाले जाँच दिएकोमा म र अर्को एक जना साथी मात्र पास भएका थियौँ। एसएलसी पास हुनु ठुलो गर्वको विषय हुन्थ्यो त्यतिबेला। विज्ञान विषय पढने इच्छा भएकोले काठमाडाैँ त आइयो, तर काठमाडाैँमा यो विषयको पढाइ एक/दुई वटा क्याम्पसमा मात्र हुने गर्दथ्यो’, उनले भने, ‘मेरो उत्तीर्णाङ्ग प्रतिशत खासै राम्रो नभएकोले विज्ञान पढ्न पाउनु कठिन नै थियो, तर मेरो अंग्रेजी, गणित र विज्ञानको प्राप्तांक राम्रै भएकोले जसोतसो शंकरदेव क्याम्पसको (त्यतिबेला नेशनल कलेज) बिहानी सत्रमा भर्ना भएर आइएससी पढन थालेँ।’
‘ठमेलमा रहेको भारतीय छात्राबासमा बसी पुतलीसडकमा अवस्थित क्याम्पसमा आउँदा जाँदा लैनचौरको अमृत साइन्स क्याम्पसको हरेक बिहान र साँझको गतिविधि हेर्दै हिँडिरहँदा त्यहाँको विशाल भवन र वैभवले मलाई निकै आकर्षित गर्थ्याे र त्यहाँ पढने इच्छालाई अझ बढी उत्कट बिन्दुमा पुर्याइदिन्थ्यो। त्यहि समय अस्कल क्याम्पसले आइ.एस.सी.को प्रवेश परीक्षाको आवेदन खुला गरेको थाहा पाएर फाराम भरेँ, परीक्षा दिएँ। मेरो नाम पनि निस्क्यो। शंकरदेवमा करिब एक वर्षको आइएससीको पढाइ माया मारेर म फेरि अमृत साइन्स क्याम्पसमा आइएससी प्रथम वर्षमा भर्ना भइ पढन थालेँ’, आफ्नो विज्ञान पढ्ने उत्कट इच्छालाई स्मरण गर्दा निकै उत्साहित देखिन्थे गुरुङ।
अस्कलमा पनि उनले पढाइ सँगसँगै आफ्नो साहित्यिक पाटोलाई पनि उत्तिकै प्राथमिकतामा राखे र कैयन पटक नृत्य, गायन प्रतियोगितालगायत विभिन्न विधामा विजयी भइ थुप्रै पुरस्कारहरुको भागीदार भए। अतिरिक्त क्रियाकलापले पढाइ बिग्रन्छ भन्ने मानसिकतालाई नै चुनौती दिँदै उनले आइएससीको बोर्ड परीक्षामा त्रिविको टप सेभेन स्टुडेन्टभित्र पर्न सफल भइ त्यो पुरानो मानसिकतालाई त्यही पुरानै समयमा नै गलत सावित गरिदिए। ‘त्यसैले हामीले अरुलाई हाेइन, आफ्नै मानसिकता चाहिँ परिवर्तन गर्न जरुरी छ’, उनी शालिनताका साथ भन्छन्।
आइएससीको उत्कृष्ट नतिजापश्चात कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत स्नातक पढ्न भारतको आसाम इन्जिनियरिङ कलेजमा बिइ सिभिल इन्जिनियरिङको अध्ययन गरेका महेन्द्रले यस पछाडि भने कहिल्यै पछि फर्केर हेर्नु परेन। तत्पश्चात स्नातकोत्तर अध्ययन गर्न उनी अमेरिकाको कोलोराडो विश्वविद्यालयमा फुलब्राइट छात्रवृत्तिसहित भए।
आफ्नो बिइ सिभिल इन्जिनियरिङको पढाइ सकाएर उनी वि.स. २०३७ सालमा नेपाल फर्किए। अध्ययन सकिएपश्चात सोही समयमा नै केही महिना नेपालको सडक विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनमा ज्यालादारीको रुपमा काम गरे। मेहनती र परिश्रमी व्यक्तिलाई समय र भाग्यले पनि साथ दिन्छ भने झैँ उनले काम थालेकै साल सडक र सिँचाइ क्षेत्रको पदपूर्तिको निम्ति लोकसेवा आयोगमार्फत दरखास्त आह्वान गर्यो। आफ्नो सबै मापदण्डहरु पूरा हुने भएकोले महेन्द्रले पनि लोकसेवाको परीक्षा दिए र उत्तीर्ण पनि गरे। तत्पश्चात सिँचाइ विभागको सहायक इन्जिनियरको रुपमा स्थायी नियुक्ति पाए, गुरुङले।
वि.स. २०३६ सालको भुइँचालोले सुदूरपश्चिम क्षेत्रमा क्षतिग्रस्त बनाएको कुलो-कुलेसा, नदी कटान र पानीको श्रोतहरुको मर्मत सम्भार, त्यसको लागत, अनुसन्धान, अध्ययन र अनुमानित बजेटको अध्ययन तथा दक्ष कामदारहरुको समेत व्यवस्था गरी काम सुरु गरे। उनले अहिलेसम्म नेपालका ठूला-साना गरी थुप्रै सडक तथा सिँचाइ परियोजनाका कार्यहरु सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
पहिले पञ्चायत र निर्दलीय शासन पद्धति र अहिले संघीय गणतान्त्रिक प्रणालीमा रहेर काम गर्दा निकै नै भिन्नता र शैलीगत आधारहरुसमेत फरक भएको अनुभव संगालेका छन्, गुरुङले। प्रणाली वा पद्धति जतिसुकै आधुनिक भएतापनि शासकहरुको विचार र मानसिकतामा परिवर्तन नआउन्जेलसम्म परिवर्तनको कुनै असर देखा पर्न वा सर्वसाधाण जनमानसले त्यो परिवर्तनसहितको विकासकाे अनुभूति गर्नै नसक्ने गुरुङ बताउँछन्।
बागमती सिँचाइ परियोजना, भैरहवा-लुम्बिनी भूमिगत जलश्रोत आयोजना जस्ता ठूला आयोजनाहरु सम्पन्न गर्नमा उल्लेखनीय भूमिका खेलेका इन्जिनियर गुरुङले मुलुकको पश्चिमी क्षेत्रमा केन्द्रित रही काम गर्नुको एउटै कारण थियो कि यस क्षेत्रकाे सिँचाइ र सडक क्षेत्रको विकास तथा प्रवर्द्धन अन्य क्षेत्रको भन्दा श्रोतसाधनमा पछाडि परेकोले नै हो। यीबाहेक महाकाली एकीकृत ग्रामीण विकास परियोजना, डडेल्धुरा नौलाकोट सिँचाइ आयोजना जस्ता परियोजनाहरु पनि उनकै निर्देशन, निरीक्षण र कार्यान्वयनमा सफल भएका योजनाहरु हुन्।
यस्ता थुप्रै राष्ट्रिय आयोजनाहरुको निरीक्षण, निर्देशन र कार्यान्वयन गर्ने क्रममा नेपालका कतिपय जिल्लाहरुमा विशेष गरी तराईका जिल्लाहरुमा अझै पनि जमिन्दारी प्रथा र विकासका कार्यहरुका बाधक रहेको तितो अनुभव बाँड्छन्, उनी।
गुरुङ भन्छन्, ‘ती स्थानहरुमा अहिले पनि सिंहदरबार पुग्न सकेको छैन। साना किसानहरु यी सरकारी आयोजना र परियोजनाहरुमा सहजै सहभागी हुने गर्छन् तर सोही गाँउमा धेरै जमिनको स्वामित्व लिएका जमिन्दारहरु भने विरोध गर्ने, विकासका काममा सहभागी हुनुको साटो अवरोध गर्ने र सहभागी नहुने गर्दछन्, जसको कारण कतिपय सरकारी आयोजनाहरु अहिले पनि पछाडि परेको र कार्यान्वयन नभएको अवस्थामा छन्।’
‘विश्व बजारमा सिँचाइ प्रविधिले फड्को मारिसकेको अवस्थामा नेपालमा पनि त्यस्ता प्रविधिलाई प्राथमिकतामा राखी नदीको पानीलाई डाइभर्सन गरी त्यसको परिमाण वृद्धि गर्दै सिँचाइलाई सहजताका साथ हरेक किसानलाई सहज उपलब्धता गराउने हो भने अझै पनि आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताको अन्त हुने छ। यति मात्र होइन, वायुमण्डलीय प्रदुषणको कारण आकासबाट पर्ने प्रदुषित पानीको कारण जमिनको मलिलो माटो दुषित भइ उर्वराशक्तिमा नै ह्रास आइसकेको छ। जसको प्रत्यक्ष असर उत्पादनमा न्यूनीकरण हुनुका साथै खाद्यान्नमा परनिर्भरता जस्ता दीर्घकालीन समस्याहरु देखा परिसकेका छन्’, उनी आफ्नो कार्यगत अनुभव बताउँछन्।
यसरी विभिन्न आयोजना र परियोजनालगायत विकासका कार्यहरुको लामो समयदेखिको अनुभवलाई संगाल्दै वि.स. २०७४ सालको आम निर्वाचनपश्चात प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईका आर्थिक तथा प्राविधिक सल्लाहकारको रुपमा एक वर्षभन्दा बढी समय काम गर्ने मौका पाएका गुरुङले आफ्नो कार्यगत योग्यता, दक्षता र क्षमताको अब्बल छाप छोड्न त्यहाँ पनि सफल रहे।
‘राजनीतिज्ञसँगको उठबसमा मलाई पनि राजनीतिले नछोएको भने होइन। तर एउटा मर्यादित पेशा र जिम्मेवारी बहन गरिरहँदा त्यसको परिधि र मर्यादालाई राजनीतिबाट बिल्कुल टाढा राख्नुपर्छ भन्ने मान्यतालाई मैले सधैँ आत्मसात गरिरहेँ। यही प्रष्ट र उदारवादी अनि पेशाप्रतिको इमान्दारितालाई नै आफ्नो सफलताको कडी मान्दछु’, महेन्द्र भन्छन्।
महेन्द्रले वि.स. २०३७ सालमा नै गौरीदेवी गुरुङसँग आफ्नो जीवनको यात्रामा साथै हिँड्ने निर्णय गरे। आफ्नो पारिवारिक जिम्मेवारी, कार्य व्यस्तताको सन्तुलन र असल अभिभावकत्वलाई आजको दिनसम्म पनि उत्तिकै प्रेमिल, मायालु र सौहार्दपूर्ण वातावरणमा आफूलाई समाहित गराए। ‘जीवनको यो उत्तरार्धमा आइपुग्दा हरेक परिस्थिति र अवस्थाको रसास्वादन गर्दै अघि बढ्दै छु’, रोमाञ्चित मुद्रामा भन्छन् उनी।
जीवनमा आँटेको र सोचेको सबैजसो कुरा पुरा भइसकेको बताउने महेन्द्र दुई छोरा र एक छोरीका पिता र एक नातीका हजुरबुवासमेत हुन्।
‘जीवन एक कर्मशील यात्रा हो। जसले जस्तो कर्म गर्छ, उसले त्यस्तै फल भोग्नु पर्छ। जसलाई हामी सफलता वा असफलताको रुपमा लिने गर्दछौँ। त्यसैले एकपटक मात्र प्राप्त हुने यो मानव जीवनमा आफ्नो कारणले कसैलाई पनि पीडा, दुख, अशान्ति वा अप्ठ्यारो नहोस्। त्यही नै सफल जीवन हो। व्यक्ति, उमेर, अवस्था र परिस्थितिअनुसार प्रेमको परिभाषा पनि फरक हुने गर्दछ’, भावुकताका साथ जीवन र प्रेमको परिभाषा दिँदै गुरुङ भन्छन्, ‘त्यसैले प्रेम एउटा समझदारी हो, जुनबिना कुनै पनि व्यक्ति, उमेर, अवस्था वा परिस्थितिमा आइपरेका चुनौती तथा समस्याहरुको समाधान र सामना गर्न सक्दैनौँ। अनि त्यतिबेला प्रेम स्वतः सेलाएर जाने गर्दछ।’
आफ्नो पहिलो सन्तान जन्मिदा र स्नातकोत्तर अध्ययनको निम्ति अमेरिकाको कोलोराडो विश्वविद्यालयमा छात्रवृत्ति पाउँदाको क्षण जीवनकै सबैभन्दा खुशीको क्षण र भारतमा स्नातक पढन जाने समयमा तत्कालीन अञ्चलाधिशले नागरिकता लिन सिफारिस नदिएको क्षण जीवनकै दुखद क्षण भएको बताउँछन्।
जीवनको अन्तिम श्वास लिएको दिन मात्र सबै कामबाट रिटायर्ड हुनेछु। अन्यथा मेरो शक्ति र समझले भ्याएसम्म, सकेसम्म कहिल्यै कुनै कामबाट सन्यास वा विश्राम लिने छैन भन्ने दृढता र आत्मविश्वास व्यक्त गर्छन्, महेन्द्र। उनले राधे राधे (भक्तपुर) बाट प्रकाशित हुने अध्यात्म सन्देशका प्रधान सम्पादकको कार्यभार सम्हाल्नुका साथै नेपाल इन्जिनियरिङ एसोसियसनका पूर्व अध्यक्षलगायत आफ्नै स्वामित्वमा रहेको साहित्य प्रधान संस्था ‘रमा कृष्ण सृजना’ प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा सक्रिय रही अन्य थुप्रै संघसंस्थामा समेत आवद्ध छन्।