मालपोत जुम्लाद्वारा दुई करोड राजस्व सङ्कलन

File Photo
File Photo

मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८-७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ।सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए।

त्यसमध्ये आर्थिक वर्ष २०७८-७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ।पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ।  एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन्।
 
कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा रु २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ।यस्तै आर्थिक वर्ष २०७८-७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा रु एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताए।

यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी सात सय ५० तथा सहरी क्षेत्रका छ सय ४० गरी जम्मा एक हजार तीन सय ९० जनाको लिखत पास भएको कार्यालयले जनाएको छ।

मालपोत कार्यालयबाट सङ्कलन भएको जम्मा राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायामा जाने गरेको छ।  
 

प्रकाशित मिति: : 2022-07-29 14:36:00

प्रतिकृया दिनुहोस्