भारतको पछिल्लो निर्वाचन परिणामबाट हामीले के सिक्ने?

Photo: Agency
Photo: Agency

भारतको उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, मणिपुर, गोवा गरी पाँच राज्यको निर्वाचन परिणाम धमाधम आइरहेको छ। निर्वाचन परिणामको रुझान अनुसार उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा विजेपी र पञ्जावमा आम आदमी पार्टीको सरकार बन्ने लगभग तय भएको छ। उत्तर प्रदेशमा योगी आदित्यनाथको नेतृत्वमा विजेपीले बुल्डोजर चलाएको छ। भने, पञ्जावमा आम आदमी पार्टीले झाडु चलाएको छ। यी पाँच ओटै राज्यमा काँग्रेस आई पत्तासाफ भएको छ। उत्तर प्रदेशमा कांग्रेस आईले लामो समय शासन गरेको थियो। काँग्रेस आईका दिग्गज नेताहरु जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजिव गान्धी, संजय गान्धीले उत्तर प्रदेशबाटै निर्वाचन जितेर नेतृत्वमा पुग्थे। अहिले सोनिया गान्धी र राहुल गान्धिको निर्वाचन क्षेत्र समेत उत्तर प्रदेशमा हो। तर, अहिले उत्तर प्रदेशमा काँग्रेस आईले अन्तिम श्वास लिइरहेको छ। अर्को चुनावसम्ममा यो श्वास रहने सम्भावना छैन।

कुनै दिन भारतीय लोकसभामा भाजपाका सिर्फ दुई जना सांसद थिए। काँग्रेसको दुई तिहाईभन्दा बढी सांसद हुन्थे। भाजपाका दुई जना सांसद देखेर काँग्रेसका सांसदहरु गलल्ल हाँस्दै खिल्ली उडाउँथे। विभिन्न चुट्किला सुनाएर व्यंग्य हान्थे। छेडखानी गर्थे। भाजपाका दुई जना सांसदमध्ये एक जना थिए, अटल बिहारी बाजपेयी। एकदिन बाजपेयी लोकसभामा सम्बोधनको लागि उठदा काँग्रेसका सांसदहरु हाँसेको देखेर बाजपेयीले भनेका थिए,‘आज तिमीहरु हामीलाई हेरेर हाँस्दैछौ, हेर्दै जाऊ एकदिन तिमिहरुलाई हेरेर पुरै संसार हाँस्नेछ।’

अटल बिहारी वाजपेयीको यो सन्त वाणी आज सत्य साबित भएको छ। र, पुरै दुनियाँ काँग्रेसलाई हेरेर हाँस्दैछ। म पनि हाँस्दैछु। काँग्रेसको हालत यतिसम्म गिरेको छ कि निर्वाचन परिणाममा आफ्नो दल शून्यमा झरेर नाँगेझार भए पनि भाजपालाई कुनै अन्य दलले निर्वाचन हरायो भने उसले खुशियाली मनाउँछ।

गत वर्ष पश्चिम बंगालमा यही भयो। लामो समय पश्चिम बंगालमा शासन गरेको काँग्रेस आई शून्य सिटमा झरेर नाँगियो, २ सिट रहेको भाजपाले ८० सिट जित्यो र पनि काँग्रेसले खुशियाली मनायो। 

भारतमा काँग्रेसको कूकर्मको कारण काँग्रेस नागिंएको हो। काँग्रेस क्रमश अझै खिया लाग्दैछ जसको उदाहरण पञ्जावको निर्वाचन परिणाम हो।

सन्दर्भ नेपालको

नेपालमा चाहिँ प्रमुख दलहरु भ्रष्ट्राचार, अनियमितता, दुराचार र वैदेशिक दलालीमा चुर्लुम्म डुब्दा समेत बारम्बार यिनैले चुनाव जित्छन। यी दलहरु सुध्रने कुनै छाँटकाँट पनि छैन र यिनले निर्वाचन हार्ने छाँटकाँट पनि छैन। त्यसैले जति नै भ्रष्टाचारजन्य कूकर्म गरे पनि यी दल अनि दलका नेता निर्धक्क देखिन्छन। यिनको लागि यिनको कूकर्मविरूद्ध बोल्नु भनेको सडकमा कुकुरझैं भुक्नु हो। र, यी चाहिँ हात्ती हुन, यिनको बेलाबेलाको अभिव्यक्तिले यही भन्छ। धेरैको मनमा यो खुल्दुली जागिरहेको छ कि यत्रो कूकर्म र घिनलाग्दो हर्कतको बाबजुद देशमा बारम्बार यिनको पक्षमा भोट खनिन्छ ? यिनका पछि यत्रो जनमत किन छ ?

नेपालको राज्यसत्ताको चरित्र र प्रवृत्तिबारे म औसत नागरिकभन्दा बढी नै जानकारी राख्छु। ४६ सालदेखि ६६ साल सम्मको अवधिमा यिनले अनेक कूकर्म गरे पनि शासन सत्ता चलाउन यिनको अनुभवहिनता, प्रजातान्त्रिक अभ्यासमा अपरिपक्वताको कारण ती यावत कमजोरी भएको र अभ्यासमा निखारता सँगै ती कमजोरी हटदै जाला भनेर हामीले तिनलाई साथ दियौं, झोला बोक्यौं तर आज के कुरा सिद्ध भएको देखियो भने यी त महाको ठग, दलाल रहेछन। नागरिकलाई जोकर बनाएर पूराका पूरा वाह्य शक्तिको मोहरा बनेर सबै काम कुरा गर्दा रहेछन। आधिकांश नागरिकलाई यी सब कथित नेताहरु ठग, दलाल, भ्रष्ट्र हुन भन्ने आभास भएको पनि छ र पनि यिनको झोला बोकेर यिनकै पछि किन लाग्दैछन त ?

विगत सात वर्षमा मैले यिनको विरूद्ध कटुशब्दमा तिखो आलोचना गर्दै आएको छु। मुलधारको दलहरुमा रहेका हजारौं कार्यकर्ताहरुलाई म चिन्छु। यी दलहरुमा राम्रो हैसियत बनाएकाहरुसँग मेरो भेटघाट संवाद पनि हुन्छ। मैले यिनका दिग्गज भनिएका नेताहरुको कडा शब्दमा तिखो आलोचना गरिरहेको पनि हुन्छु। दलका कार्यकर्ताहरुले ती सब पढेका पनि हुन्छन तर प्रत्यक्ष भेटघाटमा तपाईंले गलत र झूठ कुरा लेख्नुभयो भनेर कसैले भन्दैनन बरु तपाईंले सही र यथार्थ लेख्नुभयो भन्छन अर्थात् तपाईंले हाम्रो नेतालाई चोर, डाँका, भ्रष्ट्र भन्नुहुन्छ। त्यो एकदम सही हो भन्ने स्वीकार्छन अनि खुरुखुरु दलको झोला बोकेर हिँडछन।

यी नेताको झोला बोकेर हाजिर मात्र गरेर तलब पचाउने दशौं हजार लफंगा कार्तकर्ता छन। यिनको भ्रष्ट्र गतिविधिमा विचौलियागिरी गरेर रहलपहल पैसा कुम्लाउने सयौं हल्लुडहरु छन। यिनको झोला जोकेर लाभ लिनेहरु पनि दशौं हजार छन। त्यसैले यस्ता हल्लुडहरु कमेन्टमा छादेर कुलेलम ठोक्छन तर आजसम्म तर्क सम्मत विमती राखेको उदाहरण छैन। यसको अर्थ दलका कार्यकर्ताहरुलाई आफ्ना नेताहरु मैले भने झैं ठग, दलाल, भ्रष्ट्र हुन भन्ने पूरापुर थाहा छ। र, पनि दल र नेताको झोला बोकिरहेका छन।

खासमा यी नेताहरुले सारा शक्ति मुठ्ठिमा राखेका छन। पुँजी यिनको मुठ्ठिमा छ। यिनको कृपा बिना अरु त कुरै छोडिदिउँ पिउनको जागिर पनि पाउन गाह्राे छ। गाउँको वन वा स्कुलको उपभोक्ता समितिको सदस्य हुन समेत दलको कृपा चाहिन्छ। विश्वविद्यालयको डिन, उपकुलपति, संवैधानिक प्रमुखको पदको त कुरै छोडिउँ। त्यसैले यहाँ दिग्गज बुद्धिजीवी भनिएकाहरु समेत दलका झोले छन। यहाँ लोभीहरुको भीड छ, त्यसैले ठगहरुको रजाइँ छ। चाणक्यले त्याे बेलै भनेका थिए– जुन देशका जनता लोभी हुन्छन्, त्यो देशमा सिर्फ ठगहरुले शासन गर्छन।

यो देशमा लोभी जनताको जमात र ठग नेताको लस्कर छ र देश उत्तानो परेको छ। वास्तबमा : देशमा जे भइरहेको छ, दल अनि कथित नेताहरुले जे जस्तो हर्कत र कूकर्म गरिरहेका छन। यी दल र दलका यी नेताको यस्तै हर्कत र प्रवृत्ति रहेकै अवस्थामा कुनै पनि विवेकशिल मनुष्यले यिनको झोला बोक्न पुरै असम्भव छ। यसको अर्थ के हो भने यी दल र यी दलको पछि लाग्ने भीड लोभी र स्वार्थिहरुको जमात हो। यो लोभी-स्वार्थिहरुको जमातले आफ्नो वृत्ति परिवर्तन नगरी नेपालका दल र धतुरे नेताहरु परिवर्तन हुन असम्भव छ। र, ठगी र फट्याइँ अनि लूटपाटको श्रुंखला अझ घनिभूत रुपले चलिरहन्छ। अनि अर्को विडम्बना भनेको यी दलको विकल्पमा अर्को विश्वसनिय दल पनि छैन। विकल्पको रुपमा थोरै आश गरिएका भुरेटाकुरे दल र अभियन्ताहरु पनि उही ड्याङ्गका मुला देखिए।

(श्रेष्ठ स्वतन्त्र लेखक तथा विचारक हुन्)

प्रकाशित मिति: : 2022-03-11 20:36:00

प्रतिकृया दिनुहोस्