अस्ट्रेलियाः विदेशी विद्यार्थी र कामदारले भिसा शुल्क फिर्ता पाउने

बिएल संवाददाता

अस्ट्रेलिया

कोरोना महामारीका कारण कामदारकाे चरम अभाव भएपछि विदेशी विद्यार्थी र कामदारको भिसा शुल्कमा छुट दिने अस्ट्रेलिया सरकारले बताएकाे छ।

विद्यार्थी वा कामदारको आवागमनलाई प्रोत्साहन गर्न अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्थायी नीति सार्वजनिक गरेका हुन्। मरिसनका अनुसार आगामी ८ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भिसाका लागि तिरेको शुल्क फिर्ता पाउनेछन्।

विद्यार्थी भिसाका लागि हाल ६ सय ३० अस्ट्रेलियाली डलर शुल्क तिर्नुपर्छ। अस्ट्रेलियाको भिसा लिएर बसेका करिब १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरूको अध्ययन सुरु हुनुअघि नै ल्याउन चाहेको प्रधानमन्त्री मरिसन बताएका छन्।

भिसा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सकभर चाँडो अस्ट्रेलिया आउनसमेत उनले आग्रह गरेका छन्।

‘हामी चाहन्छौं तपाईंहरूं अस्ट्रेलिया आउनुहोस् र छुट्टीको आनन्द लिनुहोस्। घुमघाम गरी रमाइलो गर्नुस् र कामदार कमी भएका क्षेत्रमा योगदान पनि पुर्‍याउनुहोस्,’ मरिसनले भने।

सरकारको पछिल्लो निर्णयले विद्यार्थी भिसावाहकलाई सकभर चाँडो अस्ट्रेलिया आउन प्रेरित गरेको र केही हदसम्म कामदारको अभाव कम हुने अपेक्षा गरिएको छ।

त्यस्तै, वर्किङ होलिडे भिसाअन्तर्गत अस्ट्रेलिया आउनेले आगामी १२ सातासम्म भिसा शुल्क मिनाह पाउने मरिसनले बताए । मरिसनका अनुसार वर्किङ होलिडे भिसामा आउने तयारीमा रहेकाको संख्या २३ हजार ५ सय छ। ती विद्यार्थी तथा वर्किङ होलिडे भिसावाहकलाई तत्काल देश भित्र्याउन सके तत्काल देखिएको कामदारको संकट सुल्झने सरकारको भनाइ छ।

प्रकाशित मिति: : 2022-01-20 08:29:00

प्रतिकृया दिनुहोस्