ललितपुरका गणेशबहादुरकाे पुनर्जन्म!

शनि शाक्य

ललितपुर

पुरातात्विक शहर पाटनका ९९ वर्षीय गणेशबहादुर शाक्यले शनिबार नेवारी परम्परामा अति दुर्लभ मानिने महादेव रथाराेहण (चाैथाे ज्याःजंक्वं) गरे। जतिबेला उनमा हर्षकाे सीमा थिएन।

न्याखाचुकस्थित मध्यमवर्गीय परिवारमा जन्मिएका शाक्यले आइतबार ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेको अवसरमा आफ्ना नाति नातिनी र पनाती, टोलवासी, शुभेच्छुक आफन्त गरी सयौँका माझ दुर्लभ महारथारोहण गर्न पाउँदा खुशीले गदगद भएका थिए।

नेवारी परम्परामा मानिस ७७ वर्ष ७ महिना र सात दिन सात पला  पुगेको देवरथारोहण (पहिलो ज्याःजंक्वं), ८३ वर्षमा अर्थात् १ हजार पटक चन्द्रमाको दर्शन गरिसकेको मानेर सहश्रचन्द्ररथारोहण (दोस्रो ज्याःजंक्वं) र  ८८ वर्ष ८ महिना ८ दिनमा देवरथारोहण (तेस्रो ज्याःजंक्वं) गरिन्छ। यी तीन वटै रथारोहण गरी सकेका शाक्यको चौथौ जंक्व गरिएको थियो।

चौथो जंक्वलाई नेवारी परम्परामा मान्छेको एक जुनीको चक्र पूरा भई नयाँ जन्म भएको मानिन्छ। शाक्यलाई पुनर्जन्म भएकोे प्रतीक स्वरुप ठूलो घ्याम्पोबाट निकालेर धार्मिक विधिपूर्वक पूजा गरिएको थियो। शाक्यलाई घ्याम्पोबाट निकालेर मान्छे जन्मेदेखि विवाहसम्म गरिने दश कर्म संस्कार गरिएको थियो। घ्याम्पोलाई आमाको कोखको रुपमा लिई आमाले पुनः जन्म दिएको मानेर ध्याम्पोबाट निकालेर पूजा गरिएको बज्राचार्य गुरुजु राजवीर बज्रचायले जानकारी दिए। 

राणाकालमा श्री ३ महाराज जुद्ध शमशेर, चन्द्र शम्शेर ललितपुर घुम्न आएको प्रसंङ्ग आफनो मनमष्तिस्कमा अझै ताजा रहेको बताउने वृद्ध शाक्य उमेर सय वर्ष भए पनि निकै जोशीलो र फूर्तिलो देखिन्थ्यो। स्वास्थ्य अवस्था सामान्य रहेका वृद्ध शाक्य दैनिक दाल भात खाने गरेका छन्। अझै हिडडुल गरिरहन्छन्।

महारथारोहण वा दिव्यरथारोहण गर्ने व्यक्तिको दर्शन गर्न पाउँनु ठूलो भाग्य हो भनि आईतबार विभिन्न स्थानबाट वृद्ध शाक्यको दर्शन गर्न आउनेहरुको निकै घुइँचो लागेको थियो। उनीहरुले मानिस भएर लामो आयुसम्म बाँच्नु निकै दुर्लभ हो। खाद्य सामग्री र मसलाहरुमा मिसावट पाइने अहिलेको अवस्थामा बाँच्नु झनै कठिन हो। त्यस्तो समयमा पनि चौथौ जंक्व गर्नु भाग्यमानी हो भन्दै वृद्ध शाक्यबाट ढोग गरी आर्शीवाद थापेका थिए।

पिता बेखामान शाक्य र लक्ष्यमाया शाक्यको कोखबाट दुई जना दिदीपछि तेस्रो सन्तानको रुपमा वि.सं. १९७८ पुस दशमीको दिन उनकाे जन्म भएकाे थियाे। 

प्रकाशित मिति: : 2021-10-22 10:30:00

प्रतिकृया दिनुहोस्